
काठमाडौं । प्रोबायोटिक्सले उमेर बढ्दै जाँदा स्मरणशक्ति र सोच्ने क्षमतालाई कमजोर हुनबाट रोक्न सक्छ। नयाँ अनुसन्धानमा यस्तो खुलासा भएको हो । अनुसन्धानले प्रोबायोटिक आहार लिँदा अल्जाइमर र डिमेन्सिया जस्ता रोगको असरलाई पनि कम गर्न सकिने बताएको छ ।
राम्रो ब्याक्टेरियालाई प्रोबायोटिक्स भनिन्छ। ब्याक्टेरिया वा भाइरस सुन्दा यस्तो लाग्छ कि हामी रोगको बारेमा कुरा गर्दैछौं, तर हरेक ब्याक्टेरियाले हामीलाई हानि गर्दैन। कतिपय ब्याक्टेरिया हाम्रो स्वास्थ्यको लागि मित्र हुन् भने केहीले हानि पु¥याउँछन् । दुबै प्रकारका ब्याक्टेरियाहरूले हाम्रो श्वासप्रश्वास र पाचन प्रणालीमा चेक एन्ड ब्यालेन्सको काम गर्छन् । यदि तपाईंले कुनै रोगको कारण एन्टिबायोटिक चक्की धेरै खानुभएको छ भने प्रोबायोटिक्स यसको क्षति कम भूमिका खेल्छ। प्रोबायोटिक्सलाई खाना तथा पोषण पुरकको रुपमा लिन सकिन्छ ।
शोधकर्ताहरूले परिणाममा पुग्न ५२ देखि ७५ वर्ष उमेरका १६९ जना व्यक्तिहरुलाई तीन महिनाको प्रोबायोटिक ल्याक्टोब्यासिलस रम्नोसस जीजी (एलजीजी) उपचार दिएका थिए। जसका कारण सहभागीहरुमा संज्ञानात्मक कमजोरीका लक्षणहरु कम भएको देखिएको थियो। संज्ञानात्मक हानि हुँदा मानिसहरूमा सम्झने क्षमता कमजोर हुने र एकाग्रतामा समेत कमि हुन जान्छ ।
अनुसन्धानले पत्ता लगाएको छ कि संज्ञानात्मक कमजोरीका लक्षणहरू कम गर्ने प्रभाव माइक्रोबायोम अर्थात् पेटमा हुने ब्याक्टेरियामा पनि पर्न पुगेको देखिन्छ । पेटको माइक्रोबायोमले हाम्रो शरीरको रगतमा चिनी नियन्त्रण गर्ने, भिटामिन र अन्य हर्मोन उत्पादन गर्ने, कोलेस्ट्रोल सन्तुलन गर्ने र क्यालोरी नियन्त्रण गर्ने जस्ता कामहरु गर्छ । यसबाहेक बाह्य सूक्ष्मजीवहरू विरुद्ध लड्ने र हाम्रो स्नायु प्रणाली तथा मस्तिष्कलाई जानकारी दिनु पनि हो ।
प्रोबायोटिक खाना त्यो हो जसमा अत्याधिक मात्रामा जीवित ब्याक्टेरिया पाइन्छ । दही र अचारमा प्रोबायोटिक ब्याक्टेरिया अत्याधिक मात्रामा पाइन्छ । बजारमा पुरक आहारको रुपमा पनि प्रोबायोटिक खाना पाइन्छ । यस्ता आहारले पाचन प्रणाली, प्रतिरक्षा प्रणाली, हार्मोन सन्तुलन, सुगर नियन्त्रण र निद्राको लागि सहयोग पुर्याउँछ ।
एजेन्सीको सहयोगमा ।