बैंकले घटाए कर्जाको ब्याज, ऋण लिँदा कुन बैंकमा सस्तो ?

<p>काठमाडौं । अधिक तरलता हुँदा बैंकहरूले निक्षेपको ब्याजदर घटाएपछि कर्जाको लागत पनि घट्न थालेको छ । निजी क्षेत्रले बैंकको ब्याजदर उच्च भएको भन्दै विरोध भएपछि बैंकहरूले ब्याज घटाउन थालेका छन् । बैंकहरूले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार कर्जाको औषत आधारदर १०.१५ प्रतिशत छ । आधारदर बढ्दा कर्जाको लागत बढ्छ भने कम हुँदा घट्छ । पछिल्ला दिनमा [&hellip;]</p>

काठमाडौं । अधिक तरलता हुँदा बैंकहरूले निक्षेपको ब्याजदर घटाएपछि कर्जाको लागत पनि घट्न थालेको छ ।
निजी क्षेत्रले बैंकको ब्याजदर उच्च भएको भन्दै विरोध भएपछि बैंकहरूले ब्याज घटाउन थालेका छन् ।

बैंकहरूले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार कर्जाको औषत आधारदर १०.१५ प्रतिशत छ । आधारदर बढ्दा कर्जाको लागत बढ्छ भने कम हुँदा घट्छ ।

पछिल्ला दिनमा आधार दर घट्न थालेपछि कर्जाको लागत पनि घटेको देखिन्छ । केही बैंकको आधार दर एकल अंकमा झरिसकेको छ भने केही बैंकको आधार दर अझै दोहोरो अंकमा छ ।

कृषि विकास बैंकको आधारदर ०.०५ प्रतिशत घटेर १०.१६ प्रतिशत, सिटिजन्स इन्टरनेसनल बैंकको ०.१० प्रतिशत घटेर १०.८१ प्रतिशत, एभरेष्ट बैंकको ०.८० प्रतिशत घटेर १०.११ प्रतिशत कायम भएको छ ।

त्यसैगरी, ग्लोबल आइएमई बैंकको आधार दर ०.८९ प्रतिशत घटेर १०.२२ प्रतिशत, कुमारी बैंकको ०.१४ प्रतिशत घटेर १०.७८ प्रतिशत र लक्ष्मी बैंकको ०.१९ प्रतिशत घटेर १०.८ प्रतिशतमा झरेको छ ।

यस्तै, माछापुच्छ्रे बैंकको ०.१६ प्रतिशतले घटेर १०.७१ प्रतिशत, नबिल बैंकको ०.१८ प्रतिशत घटेर ९.६५ प्रतिशत, नेपाल बैंकको ०.८० प्रतिशत घटेर ९.४४ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ०.४२ प्रतिशत घटेर ९.८४ प्रतिशत आधार दर तय भएको छ ।

नेपाल एसबिआई बैंकको ०.१८ प्रतिशत घटेर १०.७२ प्रतिशत, एनएमबी बैंकको ०.०१ प्रतिशत घटेर १०.४२ प्रतिशत, सानिमा बैंकको ०.३८ प्रतिशत घटेर १०.१५ प्रतिशत, सिद्धार्थ बैंकको ०.०२९ प्रतिशत घटेर १०.०८ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ९.१२ प्रतिशत, एनआईसी एशिया बैंकको ०.४० प्रतिशत घटेर १०.२६ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकको ०.२१ प्रतिशत घटेर ८.०२ प्रतिशतमा झरेको छ ।

तर, केही बैंकको आधार दर भने बढेको छ । हिमालयन बैंकको ०.०१ प्रतिशत बढेर १०.८४ प्रतिशत, प्रभु बैंकको ०.२० बढेर १०.११ प्रतिशत र प्राइम बैंकको ०.२ प्रतिशत बढेर १०.८४ प्रतिशत आधार दर पुगेको छ ।

बैंकहरुले आफ्नो बेस रेटमा निश्चित प्रतिशत प्रिमियम जोडेर ब्याजदर निर्धारण गर्छन् । बैंकहरुको आधारदर बढेपछि कर्जाको ब्याजदर पनि स्वतः बढ्छ । बेस रेट घट्दा बैंकिङ कर्जाको ब्याजदर पनि घट्छ ।

राष्ट्रिय वाणिज्य बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, नेपाल बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको आधार दर एकल अंकमा आएकोले यी बैंकबाट कर्जा लिँदा सस्तो पर्ने देखिन्छ । हिमालयन बैंकको आधार दर धेरै भएकोले उक्त बैंकबाट कर्जा लिँदा ब्याजदर पनि महङ्गो पर्छ ।
बैंकहरुले आधारदरसँगै प्रिमियम पनि घटाउन थालेका छन् । अहिले बैंकहरुले कर्जाको प्रकृति अनुसार १.५ प्रतिशतदेखि ५ प्रतिशतसम्म प्रिमियम लिने गरेका छन् ।

Share News