काठमाडौं । अर्बमा ठगी, करोडमा दान । पत्याउन कठिन हुन्छ सत्य त्यही हुन्छ । ठूला व्यवसायी कसरी गलत काम गरेर अर्बौंको सम्पत्ति जोड्छन् र करोडको दान गरेर प्रचार प्रसार गर्छन् भन्ने उदाहरणको पात्र बनेका छन् दुर्गा प्रसाईं ।
विवादास्पद व्यवसायी दुर्गा प्रसाईंले झापामा मनमाया स्कूल बनाएर हस्तान्तरण गरेका छन् । मनमाया पञ्चायतकालिन मन्त्री भूपालमान सिंह कार्कीकी आमा हुन् । भूपालमानले आमाको नाममा स्थापना गरेको स्कूललाई थप जग्गा पनि दिए । त्यही जग्गामा प्रसाईंले १२ कोठे स्कूल भवन बनाए ।
‘मैले यो स्कूलमा करिब ५ करोड रुपैयाँ खर्च गरेको छु, ४ ठाउँमा मन्दिर बनाई सकेँ, यस्ता धर्मकर्ममा मलाई रुची छ,’ प्रसाईंले आफूलाई बढी दानी रुपमा चित्रण गर्दै भने ।
प्रसाईंले ५ करोड रुपैयाँ दान दिएर बनाएको त्यो स्कूल शुक्रबार उद्घाटन गरे । त्यसको प्रचार प्रसार गर्न उनले राजधानीबाट विमान चार्टर गरेर दर्जनौं पत्रकार पनि लगेका छन् ।
अर्बको ठगी र करोडको पुण्य काम त्यतिबेला हुँदैछ जतिबेला ८ वटा बैंकले दुर्गा प्रसाईसँग साढे ५ अर्ब रुपैयाँ उठाउन ताकेता गर्दैछन् ।
बैंक तथा वित्तीय संस्थाको नजरमा दुर्गा प्रसाईं ‘फ्रड बिजनेस म्यान’ हुन् । जसले बैंकबाट अर्बौ रुपैयाँ कर्जा लिएका छन् र सार्वजनिक रुपमा नै तिर्दिन भन्दै हिँडेका छन् । त्यतिमात्र होइन, अरु बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएका सर्वसाधारणलाई पनि पैसा नतिर्न अपिल गर्दै आएका छन् । सडक आन्दोलनको नेतृत्व गर्दै आएका छन् र कर्जा फाँटमा काम गर्ने बैंकका कर्मचारीमाथि आक्रमण गर्ने अभियान चलाएका छन् ।
ठूला परियोजना असफल हुँदै
प्रसाईंले बैंकबाट साढे ५ अर्ब ऋण लिएर बिएण्ड सी मेडिकल कलेज, पूर्वाञ्चल क्यान्सर अस्पताल, होटल, रियलस्टेट, चिया बगानमा लगानी गरेका छन् ।
प्रसाईंले बनाएका बी एण्ड सी मेडिकल कलेज, पूर्वाञ्चल क्यान्सर अस्पताल, पाँच तारे ‘होटल एट्रियम’ असफल बन्दैछन् । प्रसाईंका अनुसार सरकारले अनुमति नदिँदा मेडिकल कलेज सञ्चालनमा आउन सकेको छैन । होटल निर्माणको ६० प्रतिशत मात्र काम भएको छ । तर, बैंकले थप कर्जा दिन नमानेपछि निर्माण कार्य रोकिएको छ । बैंकले पहिलो चरणमा १२५ करोड र दोस्रो चरणमा ७४ करोड रुपैयाँ कर्जा बैंकबाट स्वीकृत गराएको थियाे । तर, पुरै पैसा नपाएपछि होटल निर्माण रोकिएको प्रसाईंले बताए ।
‘पहिलो कोभिडका कारण होटल निर्माण काम ढिला भयो, अहिले बैंकले कर्जा दिन नमानेपछि काम रोकिएको छ,’ निराश बन्दै उनले भने । विर्तामोडस्थित ४ विगाहा जमिनमा क्यासिनोसहितको ५ चारे होटल निर्माणको लागि करिव ३ अर्ब हुने प्रसाईंको अनुमान छ ।
यस्तै, उनले बि एण्ड सी मेडिकल कलेज सञ्चालनका लागि पनि बैंकबाट ठूलो परिणामको ऋण लिएका थिए । मेडिकल कलेज सञ्चालनमा आएपछि ऋण तिर्ने सहमति बैंकसँग भएको थियो । तर, सरकारले मेडिकल कलेज सञ्चालनका लागि अनुमति नदिएपछि उनी दोहोरो समस्यामा परेका छन् । बैंकले ऋण नै दिन छोडेर दिएको ऋण पनि असुल गर्न खोजिरहेका छन् भने सरकारबाट अनुमति पाउन उनी कहिले प्रचण्ड निकट, कहिले केपी ओली निकट त कहिले पूर्वराजा निकट भएर शक्ति अभ्यास गर्दै आएका छन् ।
कुन बैंकमा कति कर्जा ?
प्रसाईंले ग्लोबल आइएमई, कुमारी र प्रभु बैंकबाट एक/एक अर्ब रुपैयाँ ऋण लिएका छन् भने नबिलबाट ७६ करोड, राष्ट्रिय वाणिज्यबाट ७० करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबाट ६५ करोड, लुम्बिनी विकास बैंकबाट १५ करोड र गुडविल फाइनान्सबाट १० करोड रुपैयाँ ऋण लिएको खुलेको छ । तर, यी सबै बैंकले उनको किस्ता रोकिरहेका छन् भने लिएको ऋण पनि तिर्न ताकेता गरिरहेका छन् ।
कुमारी बैंकले प्रसाईंको बी एण्ड सी मेडिकल कलेजको नाममा रहेको ७० करोड र पूर्वाञ्चल क्यान्सर अस्पतालका नाममा रहेको ३० करोड गरी कुल १ अर्ब रुपैयाँ ऋण तिर्न ताकेता गरेपछि उनी उच्च अदालत विराटनगर पनि पुगे । प्रसाईंले माग गरे बमोजिम अन्तरिम आदेश दिन अदालतले अस्वीकार गरेको छ ।
सर्वसाधारणलाई उस्काएर बैंकको ऋण नतिर्ने र बैंकरलाई कालोमोसो दल्ने अभियान चलाइरहेका प्रसाईंले बैंकको अर्बौं रकम झ्वाम पार्ने रणनीति बुनेका छन् । बैंकबाट ऋण लिएर ठूला प्रोजेक्टहरुका मालिक बन्न खोजेका उनलाई बैंकले पत्याउन छोडेपछि अहिले उनी आत्तिएका छन् ।
प्रसाईंले सावाँ ब्याज नतिरेपछि धितो राखेको सम्पत्ति बैंकले लिलाम गर्न खोजिरहेका छन् । कतिपय बैंकहरुले लिलामीको लागि अन्तिम पत्र पनि पठाइसकेको बुझिएको छ । त्यसको त्रासमा उनी अदालत पुगेका हुन् । अब उनी कालोसूचीमा पर्ने सम्भावना उच्च रहेको स्रोतको भनाइ छ ।
बैंकर्स त्रसित
जब प्रसाईं बैंकबाट सक्दो कर्जा लिने तर नतिर्ने मिसनमा हिँडे तब बैंकहरु सचेत भए । समग्र वित्तीय क्षेत्रलाई बद्नाम गर्ने, सर्वसाधारणलाई समेत कर्जा नतिर्ने अभियानमा उतार्ने, बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि आक्रमण गर्ने जस्ता अराजक गतिविधिमा प्रसाईंले अगुवाई गरेपछि बैंकहरु झस्किए । त्यसपछि बैंकरले सामूहिक निर्णय गरेर नै उनलाई ऋण नदिने सहमति गरे । अहिले प्रसाईं आर्थिक संकटमा फेसेका छन् ।
प्रसाईंले आफू संकटमा परेको स्वीकार गरेका छन् । शुक्रबार झापामै पत्रकार सम्मेलनको आयोजना गर्दै उनले आफु अहिले समस्यामा परेको बताएका छन् । ‘बैंक तथा वित्तीय संस्थाहरु, सरकार र राजनीतिक दल मिलेर मलाई समस्यामा पार्न खोजिरहेका छन्, बैंकले यसअघि ऋण दिन्छु भनेपनि अहिले दिइरहेका छैनन्, उनीहरुले सम्झौता तोडे, बोली फेरे,’ उनले पत्रकार सम्मेलनमा भने ।
निकट भविष्यमा उनी बैंकको कालोसूचीमा पर्ने सम्भावना छ । उनले बैंकहरु विरुद्ध विभिन्न अदालतमा मुद्दा हालिरहेका छन् । बैंकहरुको कालोसूचीमा पर्नबाट जोखिम पनि उनले अदालतमा मुद्दाहरु दायर गरेको छ ।
‘मैले झापा जिल्ला अदालतमा पनि मुद्दा हालेको छु, विराटनगरको उच्च अदालतमा पनि मुद्दा हालेको छु, म अरु जस्तो बैंकले जे भन्यो त्यही मान्ने व्यापारी होइन,’ उनले विकासन्युजसँग भने ।
को हुन् प्रसाईं ?
झापामा एक सामान्य परिवारमा जन्मिएका उनले सुरुमा कृषि गर्थे । झापामा ठूलो चिया बगान चलाएर बसेको गिरी परिवारको छोरीसँग विवाह गरेपछि उनलाई व्यवसाय गर्ने चेत आएको उनी निकटहरु बताउँछन् । त्यसपछि उनी स-सानो व्यवसाय गर्न थाले । सुरुमा उनले कृषि विकास बैंकबाट ऋण लिएर भैंसी पालन गरे ।
उनको आर्थिक हैसियत विस्तारै उकासिँदै गयो । बैंकले पनि पत्याउन थाले । र, उनले ठूलो परियोजनामा हात हाल्न थाले । सुरुमा नेकपा माओवादी केन्द्र निकट भएर काम गरेका उनी पछि एमालेको शरणमा पुगे । राजनीतिक पृष्ठभूमि भएकै कारण उनलाई व्यवसायमा पनि सघाउ पुग्यो ।
अहिले तिनै बैंक तथा वित्तीय संस्था र राजनीतिक दलको खेदो खन्न थालेपछि उनी ठूलो अफ्ठ्यारोमा परेका हुन् । राजनीतिक दलको शक्तिमा बैंकलाई पनि बेला बखत पल्दै आएका उनलाई अहिले राजनीतिक दलले पनि साथ नदिएपछि एकपछि अर्को तनाव उनीमाथि थपिएको छ ।
कर छलिमा पनि तानिए
राजनीति शक्तिकै प्रयोग गरेर कर छलीबाट पनि बच्दै आएका उनी कर छलिमा पनि तानिँदै छन् । उनलाई आन्तरिक राजस्व कार्यालय भद्रपुरले आयकर नतिरेको भन्दै केही महिना अघि १५ दिने अल्टिमेटम पनि जारी गरेको छ ।

प्रसाईंले सञ्चालन गरेको बि एण्ड सी मेडिकल कलेजको आम्दानीको आयकर नतिरेको भन्दै आन्तरिक राजस्व कार्यालयले गत बैशाखमा आयकर तिर्न ताकेता गरेको छ । तर, उनले अहिलसम्म कर नतिरेको कार्यालयको भनाइ छ ।
त्यही मेडिकल कलेजबाट उनले सर्वसाधारणलाई ठग्ने गरेको प्रमाण पनि बेला-बेला सार्वजनिक भइरहन्छ । सर्वसाधारणको पक्षमा बोल्ने बताउने उनले तिनै सर्वसाधारणहरुको आफन्तको शब एकदिन राखेको २२ हजार ५ सय रुपैयाँ लिने गरेको तथ्य भेटिएको छ । जुन नेपाली अस्पतालमध्येकै महँगो हो ।