काठमाडौं । बैंकिङ्ग क्षेत्रमा कान्छो बैंकका रुपमा स्थापित सेञ्चुरी कमर्सियल बैंक प्रभु बैंकसँग मर्ज भएको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरी प्रभु र सेञ्चुरीबीच एकीकृत कारोबार सुरु भएको हो । बैंकको नाम सेञ्चुरी राखेर एक शताब्दी पुरा गर्ने लक्ष्य लिएको यो बैंक १२ वर्षको यात्रामै प्रभु बैंकमा समाहित हुन पुग्यो ।
सेञ्चुरी वि.सं. २०६७ माघ ९ गते ३१ औं वाणिज्य बैंकका रुपमा स्थापना भएको बैंक हो । बैंकिङ क्षेत्रमा सबैभन्दा कान्छो बैंक सेञ्चुरी हो । तर, आज प्रभु बैंकसँग गाभिएपछि सेञ्चुरी बैंकको इतिहास मेटिएको हो । सेञ्चुरीले आफ्नो १२ वर्षको इतिहासमा विभिन्न ५ वटा बैंक तथा वित्तीय संस्थालाई गाभेको छ । बैंकले अरनिको डेभलपमेन्ट बैंक र इन्नोभेटिभ डेभलपमेन्ट बैंकलाई वि.सं. २०७४ जेठ २८ गते गाभेको थियो । यस्तै, सगरमाथा फाइनान्सलाई प्राप्ति गरी वि.सं. २०७४ असार ३१ गतेर अल्पाईन डेभलपमेन्ट बैंक र सेती फाइनान्सलाई वि.सं. २०७४ मंसिर २४ गते गाभेको थियो ।
छोटो समयमा आधा दर्जन संस्थालाई आफूमा गाभेपछि अन्य बैंकलाई चुनौति दिने रणनीतिका साथ बैंकिङ बजारमा होमिएको सेञ्चुरीले एक शताब्दी अर्थात सय वर्ष आफ्नै नाम र आफ्नै ब्राण्डमा स्थापित हुने योजना बनाएको थियो । तर, १२ वर्षमै प्रभुसँग गाभिन बाध्य भयो ।
सेञ्चुरी बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठ सबैभन्दा कान्छो बैंकको हैसियत समाप्त भएपनि मर्जरपछि टप फाइभमा पुग्दा खुसी भएको बताउँछन् । तर, नाम नामेट हुँदा भने दुःख लागेको उनको भनाइ छ । 
बिदाई गर्नु जहिल्यै दुखद क्षण भएपनि त्यो विदाई सही कारणका लागि पनि हुने उनको धारणा छ । सेञ्चुरी बैंक सुरुमा ५६८ जना सेयरधनी मिलेर स्थापना भएको बैंक हो । अध्यक्ष श्रेष्ठले प्रभु र सेञ्चुरी बैंकको मर्जरले विकास निर्माणमा कोशेढुंगा सावित हुने बताए ।
‘यसअघि ठूलो आयोजना निर्माणका लागि धेरै बैंकको सहयोग खाँचो पथ्र्याे, अब मर्जर पश्चात् एउटै बैंकले मेगा प्रोजेक्ट गर्न सक्छ, दीगो अर्थतन्त्र र विकासका लागि कोसेढुंगा सावित हुनेछ,’ उनले भने ।
२०७० सालमै मर्जरको प्रस्ताव
प्रभु बैंक बन्नु अघि फाइनान्स कम्पनीका रुपमा कारोबार गथ्र्याे । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको संख्या घटाउन मर्जर नीति अघि सार्याे । प्रभु फाइनान्सले २०७० सालमा सेञ्चुरी बैंकलाई मर्जरका लागि प्रस्ताव गर्याे । तर, सेञ्चुरी बैंकले अस्वीकार गर्याे ।
प्रभु विकास बैंक, प्रभु फाइनान्स र वैभव फाइनान्स मर्ज भएर २०७० असार ३० गते एकीकृत कारोबार गरे । फाइनान्स कम्पनीबाट विकास बैंक बनेपछि वाणिज्य बैंक बन्ने इच्छा जाग्यो । तत्कालीन किस्ट बैंकका सञ्चालकले गैरकानुनी ढंगले बैंकको रकम हिनामिना गरेपछि बैंक डुब्यो । खारेजीको अवस्थामा रहेको किस्ट बैंकलाई प्रभु बैंकले गाभ्यो । प्रभुले किस्टसँगै जेनिथ फाइनान्स र गौरीशंकर डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेर २०७१ मंसिर ५ गतेदेखि वाणिज्य बैंकको रुपमा स्थापित भयो । बैंकले पुनः ग्राण्ड बैंक नेपालसँग मर्ज गरेर २०७३ माघ २ गते एकीकृत कारोबार गर्याे ।
प्रभु बैंकले मर्जर तथा गाभेका संस्थाहरु वित्तीय सूचकमा खासै बलिया थिएनन् । अन्य बैंक तथा वित्तीय संस्थाले मर्ज गर्न नमानेका संस्थालाई प्रभु बैंकले लिन थाल्यो । हाल सञ्चालमा रहेका बैंकहरुमा सेञ्चुरी बैंक पुच्छारमा रहेको बैंक थियो ।
कमजोर रहेका संस्थालाई गाभ्दै पाठ सिकेको प्रभुले सेञ्चुरीलाई गाभेपछि आगामी दिनमा थप शसक्त बैंकको रुपमा बजारमा उभिने प्रभु बैंकका पूर्व अध्यक्ष समेत रहेका प्रतिनिधि सभा सदस्य देवी प्रकाश भट्टचन बताउँछन् । सबल र सुदृढ बैंकका रुपमा सबै कर्मचारीलाई व्यवस्थापन गरे अघि बढ्नुपर्ने उनले बताए ।
‘प्रभु बैंक विभिन्न समयमा फाइनान्स कम्पनीलाई एकीकृत गर्दै अहिले ठूलो बनेको छ, उनले भने, ‘पूर्व गभर्नर चिरञ्जीवि नेपाल छिटो–छिटो लभ गर्नुहोस्, मर्जरमा जानुस् भन्नु हुन्थ्यो, वैवाहिक जीवनमा सम्बन्ध बिग्रँदा फेरी छुट्टिएर बस्न सकिन्छ तर मर्जरमा छुट्टिने छुट कसैलाई हुँदैन, सेयरधनीहरु अब एक भएर काम गर्नुपर्छ ।’
प्रभु बैंक र सेञ्चुरी बैंकबीचस्वाप रेसियो १ः१ अनुपातमा एकीकृत कारोबार भएका हुन् । अर्थात् मर्जर पश्चात्सेञ्चरी बैंकको १ सय कित्ता सेयर हुने सेयरधनीहरूले प्रभु बैंकको पनि १कित्ता नै सेयर पाएका छन् । अध्यक्ष लिला प्रकाश सिटौला बनेका छन् । सञ्चालकहरुमा रमेश सिंह खड्का, शंकर प्रसाद कालिकोटा, रामेश्वर सापकोटा, मन बहादुर राई, अभिषेक बज्राचार्य र गीता प्रधान छन् ।
मर्जरपश्चात् प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन र मनोज न्यौपाने वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) बनेका छन् । सीईओ शेरचनले प्रभु र सेन्चुरी बैंकबीचको मर्जर नेपालको बैंकिङ्ग क्षेत्रमा ऐतिहासिक भएको बताए ।
उनले आजदेखि ग्राहकलाई नयाँ स्वाद दिने बताए । राष्ट्र बैंकको नीतिलाई जहिले पनि बैंकले पालना गर्ने गरेको र मर्जर पश्चात् ग्राहकलाई फरकपन महशुस हुने गरी सेवा प्रदान गर्ने उनको भनाइ छ । सेयरधनी लगायत ग्राहकले कुनै गुनासो नगर्ने गरी सेवामा सुधार गर्ने उनले बताए ।
मर्जर पश्चात् बैंकको कूल सम्पत्ति ३ खर्ब ४० अर्ब रुपैयाँ पुगेको छ । प्रभु बैंकको चुक्ता पूँजी २३ अर्ब ५२ करोड रुपैयाँ पुग्नेछ ।बैंकको निक्षेप २ खर्ब ८४ अर्ब रुपैयाँ रकूल कर्जा २ खर्ब ५३ अर्बरुपैयाँ पुगेको छ ।
बैंकको शाखा सञ्जाल ३६५ वटा र ३०९ वटा एटिएम मेसिन पुग्नेछन् । यस्तै, बैंकको ग्राहक संख्या ३० लाख बढी रहेका छन् भने एक्सटेन्सन काउण्टर ७२ वटा पुगेका छन् । मर्जर पश्चात् ३ हजार ५५५ जना कर्मचारी संख्या पुगेका छन् । प्रभु बैंकका ३ लाख ४६ हजार ९४० सेयरधनी छन् । बैंकमा ६२ प्रतिशत पुरुष र ३८ प्रतिशत कर्मचारी महिला काम गरिरहेका छन् । बैंकको केन्द्रिय कार्यालय प्रभु बैंकको हालको केन्द्रिय कार्यालयलाई तोकिएको छ ।