
काठमाडौं । लक्ष्मी बैंकसँग एकीकृत कारोबारको तयारीमा रहेको सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमन शर्मा बाहिरिने भएका छन् । सनराइज बैंक लक्ष्मी बैंकसँग मर्जरमा जाने भएपछि सीईओ शर्मा स्वेच्छिक अवकास सुविधा (भिआरएस)मा बाहिरिने भएका हुन् ।
यसअघि उनी लक्ष्मी बैंकको वरिष्ठ नायव प्रमुम कार्यकारी अधिकृत (डीसीईओ) बन्ने सहमति थियो । तर, पछि उनले वरिष्ठ डीसीईओमा जाने विकल्प त्यागेर भीआरएस राेजेका हुन् । मर्जरपछिको नयाँ बैंकमा अजय विक्रम शाह नै प्रमुख कार्यकारी अधिकृत बन्ने निश्चित भएपछि शर्मा डिसिओ बन्न तयार नभएका हुन् ।
बैंक स्रोतका अनुसार सीईओ शर्माले भीआरएस सुविधामा बाहिरिने निर्णय गरिसकेका छन् । सनराइज बैंकका उच्च तहका अन्य कर्मचारीले छाड्ने वा जिम्मेवारीमा रहनेबारे कुनै निर्णय गरिनसकेको बैकका एक अधिकारीले बताए।
‘सीईओले भीआरएस सुविधा लिएर बाहिरीने भनेर स्पष्ट भन्नुभएको छ । उहाँ सिनियर डेपुटी सीईओको रुपमा बस्न चाहनु भएन्,’ उनले भने, ‘डीसीईओ आरती राणा र अपच यादवजीले अहिलेसम्म निर्णय गर्नु भएको छैन । यदि उहाँहरुले मान्नु भयो भने जुन तहमा बस्नु भएको छ मर्जरपछि पनि त्यहि नै कायम हुन्छ ।’
केही दिनभित्रै भीआरएस सुविधा खुला गरिने बैंक स्रोतले बताएको छ । भीआरएसमा प्रचलनमा रहेकाे सुविधा नै लक्ष्मी र सनराइज बैंकमा पनि लागू गर्ने तयारी रहेकाे ती अधिकारीकाे भनाइ छ ।
‘भिआरएस प्याकेजमा पछिल्लो समय जे चलिरहेको छ त्यहि नै दिने हो । उहाँहरुको कति वर्ष बाँकी हुन्छ, बाँकी भएको तलबको ५० प्रतिशत दिन्छौं । जस्तो ५ वर्ष बाँकी छ भने साढे २ वर्षको तलब पाउनु हुन्छ । अन्य निर्णय पछि नै गर्छाैं,’ उनले भने ।
लक्ष्मी बैंकबाट अहिलेसम्म कसैले पनि भीआरएसमा बाहिरीने निर्णय गरेका छैनन् ।
तुहियो अध्यक्ष बन्ने दुगडको सपना
सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगडको मर्जरपश्चात् बन्ने बैंकको अध्यक्ष बन्ने तयारीमा थिए । तर, उनले लक्ष्मी बैंकबाट ठूलो मात्रामा कर्जा लिएका कारण मर्जरपश्चात् बन्ने बैंकको सञ्चालक वा अध्यक्ष बन्न नपाउने भएका छन् ।
कमजोर वित्तीय अवस्थाको सनराइज बैंकलाई लक्ष्मी बैंकसँग मर्जर गराएर अध्यक्ष बन्ने दुगडको सपना थियो । सोहीअनुसार अध्यक्ष दुगड मर्जरपश्चात् बन्ने बैंकको सञ्चालक पदमा समेत सिफारिस भइसकेका थिए । बैंकको वार्षिक साधारण सभाले समते पारित गरिसकेको थियो । तर, उनले लक्ष्मी बैंकबाट झण्डै ३ अर्ब रुपैयाँ बराबरको कर्जा लिएका छन् । कर्जा लिएको ब्यक्ति बैंकको सञ्चालक पदमा बस्न नपाउने व्यवस्थाका कारण हाललाई बैंकको अध्यक्ष बन्ने उनकाे सपना तुहिएको स्रोतको भनाइ छ ।
‘सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगडको लक्ष्मी बैंकमा ३ अर्ब रुपैयाँ बराबरको कर्जा छ । कर्जा लिएको बैंकबाट सञ्चालक बस्न बाफियाले दिँदैन,’ स्राेतले भन्याे, ‘असल कर्जा भएपनि बैंकको सञ्चालक वा अध्यक्ष बन्दा प्रभावित पार्न सक्नुहुन्छ । त्यसैले राष्ट्र बैंकले यसमा सचेत गराएको छ ।’
केही दिन अघि दुवै बैंकका सञ्चालकलाई राष्ट्र बैंकले बोलाएर सञ्चालक बन्नका लागि बाफिया हेर्नु सुझाएको थियो । राष्ट्र बैंकले दुगडलाई इंगित गरेर प्रोफेसनल मान्छेलाई सञ्चालक पदमा पठाउन निर्देशन दिएको स्रोतको भनाइ छ ।
‘राष्ट्र बैंकका अधिकारीहरुले सञ्चालक बन्नका लागि बाफिया पनि हेर्नुस् है भनेका थिए । कतिपय ब्यापारी हुनुहुन्छ । बरु ब्यापार नै गर्नुहोस् । सञ्चालकमा प्रोफेसनल मान्छे पठाउनुस्, भोलिपर्सी बाफियाकै कारण कुनै सञ्चालकलाई निकाल्नु पर्ने हुनसक्छ भनेर मोतिलाल दुगडलाई नै संकेत गरिएकाे थियाे’, स्राेतले भन्याे ।
अब दुगडको सट्टा अर्काे ब्यक्तिलाई सञ्चालक बनाएर पठाउनु पर्ने हुन्छ ।
सम्बन्धित सामाग्री
२८ गते एकीकृत कारोबार गर्दै लक्ष्मी र सनराइज बैंक, नाम भने लक्ष्मी नै रहने