काठमाडौं । नेपाल राष्ट्र बैंकले लक्ष्मी बैंक र सनराइज बैंकलाई चाँडै अन्तिम स्वीकृति दिने बताएको छ । राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले असार मसान्तभित्रै एकीकृत कारोबार सम्पन्न गर्ने गरी दुवै बैंकलाई अन्तिम स्वीकृति दिने तयारी भइरहेको बताए ।
उनका अनुसार लक्ष्मी सनराइज बैंकलाई एक/दुई दिन भित्र अन्तिम स्वीकृति दिने तयारी भइरहेको छ । उनले अन्तिम स्वीकृति रोक्नुको कुनै कारण नभएको समेत बताए । दुवै बैंकको असार मसान्तभित्र एकीकृत कारोबार गर्ने योजना सफल हुने उनकाे भनाइ छ ।
‘हालसम्म लक्ष्मी र सनराइज बैंकलाई मर्जरमा जान अन्तिम स्वीकृति दिइएको छैन, त्यो प्रक्रियामा छ, अन्तिम स्वीकृति रोक्नुको कुनै कारण छैन, उहाँहरुका डकुमेन्ट आएका छन्, हामीहरुले अध्ययन गर्दैछाैं,’ उनले भने, ‘उनीहरुको असार मसान्तभित्र एकीकृत कारोबार गर्ने योजना हो, त्योभित्र सायद भ्याउँछन् होला, उनीहरुले आफ्नो योजना बनाइरहेका छन्, चाँडै स्वीकृति पाउँछन, अबको एक/दुई दिनभित्र अन्तिम स्वीकृति पाउँछन् ।’
असार २४ गतेभित्र एकीकृत कारोबार गर्नका लागि भने तयारी नपुगेको उनको भनाइ छ । अन्तिम स्वीकृति दिँदा सञ्चालकमाथि सोधखोज हुनु सामान्य विषय रहेको उनले बताए । ‘उनीहरुले अस्ति मात्रै कागजात पेश गरेका हुन्, सञ्चालकमाथि सोधखोज हुनु त सामान्य विषय हो, अन्तिम स्वीकृति दिन सम्भवतः ढिला हुँदैन,’ उनले भने ।
दुवै बैंकको गत असार ३ गते सम्पन्न साधारणसभाले असार २४ गते एकीकृत कारोबार गर्ने गरी मिति तय गरेका थिए । तर, राष्ट्र बैंकले अन्तिम स्वीकृति दिन ढिला गरेपछि एकीकृत कारोबार मिति सर्ने हाेकि भन्ने शंसय पैदा भएकाे छ ।
मर्जरपश्चात् लक्ष्मी सनराइज बैंकको नामबाट एकीकृत कारोबार हुनेछ । मर्जरपछि बन्ने बैंकको सञ्चालक समितिको टुंगो लागिसकेको छ । मर्जरपश्चात् पहिलो साधारणसभासम्मको लागि लक्ष्मीबाट ४ जना र सनराइजबाट तर्फबाट ३ जना गरी ७ सदस्यीय सञ्चालक समिति बन्नेछ । लक्ष्मी बैंकबाट हालका अध्यक्ष रमण नेपाल, सञ्चालकहरु डा. मनीष थापा, स्वाती रुङ्गटा र विद्या बस्नेत सञ्चालक बन्ने छन् । यस्तै, सनराइज बैंकबाट हालका अध्यक्ष मोतीलाल दुगड, इन्जिनियर बच्छराज तातेड र मालचन्द दुगड सञ्चालक बन्ने छन् ।
मर्जपश्चात् सञ्चालक समितिको पहिलो बैठकले बैंकको अध्यक्ष नियुक्त गर्नेछ । पहिलो साधारण सभा सम्पन्नपछि बन्ने सञ्चालक समिति ५ सदस्यीय हुने बैंकले जनाएको छ । जसमा २ जना संस्थापक, २ जना सर्वसाधाण र १ जना स्वतन्त्र सञ्चालक रहने लक्ष्मी बैंकले बताएको छ । साथै, लक्ष्मी बैंकका सीईओ अजय बहादुर शाह मर्जरपश्चात् बन्ने बैंकको सीईओ नियुक्त हुनेछन् ।
दुवै बैंक समान हैसियतमा मर्जरमा जान लागेका हुन् । दुवै बैंकबीच मर्जरमा जानका लागि गत जेठ ७ गते अन्तिम सम्झौता भएको थियो । लक्ष्मी बैंकका अध्यक्ष रमण नेपाल र सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगडले गत पुस २५ गते मर्जरका लागि प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेका थिए ।
मर्जर प्रक्रियामा झण्डै २ करोड रुपैयाँ खर्च हुने बैंकले जनाएको छ । मर्जरपश्चात् बैंकको चुुक्ता पूँजी २१ अर्ब ६७ करोड रुपैयाँ बढी हुनेछ । लक्ष्मी बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड १३ लाख र सनराइज बैंकको १० अर्ब ११ करोड ८८ लाख रुपैयाँ रहेको छ । यस्तै, बैंकको जगेडा कोष १२ अर्ब ८२ करोड रुपैयाँ पुग्नेछ ।
मर्जरपछि लक्ष्मी सनराइज बैंकको निक्षेप २ खर्ब ८१ अर्ब रुपैयाँ र कर्जा प्रवाह २ खर्ब ५० अर्ब रुपैयाँ पुग्नेछ । साथै, बैंकको शाखा सञ्जाल २७२ वटा पुग्ने छन् भने कर्मचारी संख्या ३ हजार १७० जना पुग्नेछन् ।