
काठमाडौं । नेपाली कांगेसका नेता तथा प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले पशुपतिमा रहेको सुनको जलहरीको विषय छानबिनका लागि संसदीय समिति बनाउन माग गरेका छन् । आज प्रतिनिधिसभाको बैठकको सुन्य समयमा बोल्दै सांसाद पौडेलले जलहरी प्रकरणको विषयमा छानविनका लागि सदनले समिति बनाउनुपर्ने माग गरेका हुन् ।
उनले केही दिन अगाडि एकजना माओवादी सांसदले सो विषयमा कुरा उठाउँदा त्यसलाई संसदको रेकर्डबाट हटाउँदा नराम्रो सन्देश गएको समेत बताएका छन् । ‘केही दिन अगाडी यही सदनमा एकजना माननीयज्यूले पशुपतिनाथको मन्दिरमा राखिएको जलहरी सम्बन्धमा कुरा उठाउँदा त्यसलाई रेकर्डबाट हटाइयो । मेरो बिचारमा यसबाट संसदले त्यस विषयलाई ढाकछोप गर्न खोजेको सन्देश गएको छ’, उनले भने ।
उनले जलहरी प्रकरणले थुप्रै प्रश्नहरु उठाएको र व्यापक रुपमा टिकाटिप्पणी भएकाले सो विषयमा छानविन गर्न सदनमा समिति बनाउनुपर्ने बताएका हुन् । ‘उजुर परेको दुई वर्षपछि बल्ल अख्तियारले छानबिन गरेको छ, महालेखाको प्रतिवेदनमा प्रष्ट आएको विषयलाई अख्तियारले यति ढिलो गरी छानविन किन गर्यो ? यसको निर्णय प्रक्रिया र कार्यान्वयनको सन्दर्भमा थुप्रै विषयहरु जोडिएका छन् र ति व्यापक रुपमा टिकाटिप्पणीका विषय बनेका छन्, यो गम्भिर विषय छानविनका निम्ति सदनले एउटा समिति बनाओस्, यसको पूर्ण र निष्पक्ष छानविन हुने स्थिति निर्माण होस्’, उनले भने ।
उनले उजुरी परेको दुई वर्षपछि अख्तियारले छानबिन गरेको भन्दै अख्तियारको कार्यशैलीप्रति पनि प्रश्न उठाए ।