ऋण उठाउन ग्राहकलाई छुट दिएर फकाउँदै बैंक, करोड ऋण हुनेले कति तिर्नुपर्छ ?

<p>काठमाडौं । चालू आर्थिक वर्ष अन्त्य लागेसँगै बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरु कर्जा असुली (रिकभरी)मा जुटेका छन् । ऋण असुलीलाई जोड दिइरहेका बेला बैंकहरुले ऋणीलाई सहज हुने गरी अफर पनि सार्वजनिक गरिरहेका छन् । ब्याज भुक्तानीमा छुट दिँदा ऋणीहरुलाई सहज हुने भएकाले असारमा ब्याज भुक्तानी गर्ने ऋणीलाई बैंकहरुले छुटको स्कीम ल्याउन थालेका हुन् । [&hellip;]</p>

काठमाडौं । चालू आर्थिक वर्ष अन्त्य लागेसँगै बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरु कर्जा असुली (रिकभरी)मा जुटेका छन् । ऋण असुलीलाई जोड दिइरहेका बेला बैंकहरुले ऋणीलाई सहज हुने गरी अफर पनि सार्वजनिक गरिरहेका छन् । ब्याज भुक्तानीमा छुट दिँदा ऋणीहरुलाई सहज हुने भएकाले असारमा ब्याज भुक्तानी गर्ने ऋणीलाई बैंकहरुले छुटको स्कीम ल्याउन थालेका हुन् ।

बैंकहरुले निक्षेप संकलन गर्दा विभिन्न अफर तथा स्कीम ल्याए जस्तै कर्जा भुक्तानी गर्दा पनि आन्तरिक तथा बाह्य रुपमा नै घोषणा गरेर अफर ल्याइरहेका हुन् । विगतमा बैंकिङ्ग क्षेत्रमा खासै उत्साहजनक नभएपनि असार लागेसँगै बैंकरहरु स्कीम देखाउँदै धमाधम ऋण असुली गरिरहेको बैंकरहरु बताउँछन् ।

राष्ट्रिय वाणिज्य बैंकले एक सूचना जारी गर्दै असारभित्र ब्याज भुक्तानी गर्दा ५ प्रतिशत छुट दिने घोषणा गरेको छ । बैंकले राष्ट्रको व्यवसायिक क्षेत्रमा भएको असहज परिस्थितिलाई मध्यनजर गर्दै असार १ गतेदेखि ३१ गतेसम्म सबै प्रकारको कर्जाको ब्याज भुक्तानी गर्दा भुक्तानी गरिएको रकमको ५ प्रतिशत रकम छुट दिने राष्ट्रिय वाणिज्य बैंकका उपकार्यकारी निर्देशक (डीईओ) देवेश प्रसाद लोहनी बताउँछन् ।

उनका अनुसार जुनसुकै प्रकारको कर्जाको वर्गीकरण (असल, सुक्ष्म निगरानी, कमशल, शंकास्पद, खराब), जतिसुकै अवधिको ओभरडिउ, नर्मल तथा पेनाल ब्याजको आंशिक वा पुरा भुक्तानीमा समेत छुट प्रदान गरिनेछ ।

‘ब्याज छुट रकम सम्बन्धित ऋणीको खातामा जम्मा गरिनेछ, जस्तो १ सय रुपैयाँ भुक्तानी गर्दा ५ रुपैयाँ छुट पाउने छन्, ग्राहकहरुलाई सहज होस् भन्ने हिसावले यो अफर ल्याएका हौं, अर्थतन्त्र समस्याग्रस्त भएको स्थितिमा यसले ऋणीलाई सहज हुनेछ,’ उनले भने, ‘किनभने यो अफर सबै ग्राहकहरुका लागि ल्याइएको हो, एकदुई जनाका लागि मात्रै होइन ।’

लोहनीका अनुसार यसले रिकभरीमा सहज भएको छ । नेपालीको बानी वर्षको अन्त्यतिर मात्रै ब्याज तिर्ने भएकाले सुधार हुने उनको भनाइ छ । साथै, अहिलेको यो अफरले आगामी दिनमा ग्राहकहरुलाई आकर्षित गर्न पनि रहेको उनले बताए ।

‘यो एक प्रकारको राहत जस्तै हो, सबै बैंकले नै ब्यहोर्छ, अहिले शुल्क तिर्ने समय भएकाले सुधार हुने अपेक्षा छ,’ उनले भने, ‘ग्राहकहलाई भोलिका दिनमा पनि छुट पाइने रहेछ भन्ने हिसावले आकर्षित गर्न खोजिएको हो ।’

कृषि विकास बैंकका नायव महाप्रबन्धक (डीजीएम) यज्ञप्रकाश न्यौपानेले गत चैत मसान्तसम्म कर्जा लिएका ग्राहकहरुले असार मसान्तसम्म ब्याज भुक्तानी गरेमा ७ प्रतिशत छुट दिने बताए । उनका अनुसार बैशाख र जेठमा कर्जा लिएका ऋणीहरुलाई भने छुट दिइएको छैन । बैंकहरुले ब्याज भुक्तानीमा छुट दिँदा ऋणीहरुलाई कर्जा चुक्ता गर्न प्रेरित हुने उनको भनाइ छ ।

चैतसम्म कर्जा लिएका ग्राहकहरुले असारमा पाकेको ब्याज चुक्ता गरेमा ७ प्रतिशत छुट दिने छौं, भर्खरै बैशाख र जेठमा कर्जा लिएका ऋणीहरुले भने छुट पाउँने छैनन्,’ उनले भने, ‘असहज परिस्थितीमा छुट दियो भने ग्राहकहरुलाई कर्जा तिर्न प्रेरित गर्नेछ, सय रुपैयाँ ब्याज भुक्तानी गर्दा उहाँहरुले ७ रुपैयाँ छुट पाउनु हुन्छ ।’

बैंकको यो अफरले नाफामा असर गर्ने उनले बताए । आन्तरिक रणनीति अनुसार बैंकले यस्ता अफर ल्याउने गरेको उनको भनाइ छ । यो छुटसँगै सावाँ ब्याजसहित एक करोड रुपैयाँ भुक्तानी गर्नुपर्ने ग्राहकले ७ प्रतिशत छुट भएमा ९३ लाख रुपैयाँ मात्रै तिर्नुपर्ने हुन्छ भने ५ प्रतिशत छुट भएमा ९५ लाख रुपैयाँ तिर्नु पर्छ ।

‘बैंकको नाफाबाट छुट दिएको हो, हिजो १ सय रुपैयाँ नाफा आउँथ्यो भने अब ९३ रुपैयाँ मात्रै नाफा पाइने भयो,’ उनले भने, ‘बैंकहरुको आ-आफ्नो रणनीति हुन्छ, कसरी मार्केटिङ गर्ने भन्ने हुन्छ, यसले आगामी दिनमा ग्राहकहरुलाई आकर्षित गर्छ ।’

पूर्वबैंकर अनलराज भट्टराई उठ्दै नउठ्ने कर्जामा ब्याज छुट दिएर ऋण चुक्ता गर्नु उपयुक्त हुने बताउँछन् । सरकारी बैंकमा आन्तरिक रुपमा ब्याज छुट दिँदा आरोप लाग्न सक्ने भएकाले घोषणा गरेर सबैलाई समान व्यवहार हुने गरी छुट दिने गरेको उनको भनाइ छ । तर, निजी बैंकहरुले भने ग्राहकहरुसँग छलफल गरेर ब्याज छुट दिने गरेको उनले बताए ।

‘उठ्दै नउठ्ने ब्याज उठाउन यो अफरले उठ्ने सम्भावना हुन्छ, विभिन्न दबाब आइरहेका बेलामा ब्याजमा सहुलियत दिँदा कर्जा असुली हुन्छ, सरकारी बैंकले कसैलाई बढी र कसैलाई कम छुट दिँदा अनेक आरोप लाग्न सक्छ,’ उनले भने ।

उनका अनुसार बैंकहरुले पेनाल ब्याज, ब्याजको ब्याज र साधारण ब्याज लिने गरेका छन् । ब्याजको ब्याज र पेनाल ब्याजमा अधिकांश बैंकहरुले मिनाहा गर्ने गरेका छन् । किनभने सावाँ र ब्याज मात्रै उठेपनि बैंकलाई धेरै फाइदा हुने गरेको उनको भनाइ छ । ब्याज छुट दिँदा रिकभरी सहित अर्थतन्त्र पनि सुधार हुने र बैंकसँग ऋण दिने क्षमता पनि बढाउने उनले बताए ।

‘कुनै केशमा साधारण ब्याज पनि छुट दिएको हुन्छ, ग्राहकको सम्पत्ति लिलाम गरेर बेगर बनाएर जानु भन्दा तिर्न सक्ने पैसालाई उठाउन सकिन्छ, यसले रिकभरीमा पनि सहयोग गर्नेछ, यदि कर्जा नउठ्ने हो भने बैंक र ऋणी दुवैलाई बोझ हुन्छ,’ उनले भने, ‘उठ्न नसकेको कर्जा खराब कर्जामा परिणत हुँदा बैंकलाई पनि समस्या हुन्छ, आम्दानी नगर्ने कर्जालाई झिकेर आम्दानी गर्ने क्षेत्रमा लगानी गर्न सकिन्छ, अर्काे ऋणीले लगेर व्यापार व्यवसाय चलायमान गर्छ, डुबेको उद्योगबाट ऋण झिकेर राम्रो उद्योगमा लगानी गर्याे भने व्यापार व्यवसाय पनि फष्टाउँछ ।’

उनका अनुसार यदि ऋण असुल हुन नसकेमा क्यापिटल एडुकेसी टाइट हुँदै जान्छ । किनभने खराब कर्जा बढ्दा ठूलो रकम प्राभिजिनिङमा राख्नु पर्ने हुन्छ । त्यसैले पुरानो कर्जा उठ्दा अर्थतन्त्रमा पैसा थपिने र पूँजी चलायमान हुने उनकाे भनाइ छ । कुनै केशमा लामो समयमसम्म कर्जा नतिर्ने ऋणीलाई सावाँ मात्रै असुल गरेर पुरै ब्याज छुट दिने गरिएको उनको भनाइ छ ।

Share News