काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले ९ वटा बैंक तथा वित्तीय संस्था नोक्सानीमा रहेको देखाएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको बैशाखसम्म पाँच वटा विकास बैंक र चार वटा वित्तीय संस्था नोक्सानीमा देखिएका हुन् ।
अन्य बैंक तथा वित्तीय संस्थाहरुले चालू आर्थिक वर्षमा राम्रो नाफा गरेर सेयरधनीलाई प्रतिफल वितरण गर्ने तयारी गरिरहेपनि ९ वटा बैंक तथा वित्तीय संस्थाहरु भने नोक्सानीमा देखिएका हुन् । नोक्सानमा हुँदा ती बैंक तथा वित्तीय संस्थाका सेयरधनीले प्रतिफल पाउने स्थिति पनि देखिँदैन ।
राष्ट्र बैंकले सार्वजिनक गरेको तथ्यांक अनुसार नारायणी विकास बैंक ३ करोड ६० लाख रुपैयाँ नोक्सानीमा देखिएको छ भने यो बैंकले १ करोड ३० लाख प्रोभिजनिङ गरेको छ । एक्सेल डेभलपमेन्ट बैंक पनि ६ करोड ४० लाख रुपैयाँ नोक्सानीमा छ भने यो बैंकले ३८ करोड ९० लाख प्रोभिजनिङमा राखेको छ ।
यस्तै, सिन्धु विकास बैंक पनि २ करोड २० लाख र सालपमा विकास बैंक १ करोड ४० लाख रुपैयाँ घाटामा छ । यी दुई बैंकले क्रमशः ५ करोड ८० लाख र ३ करोड ७० लाख रुपैयाँ प्रोभिजनिङमा राखेका छन् । सप्तकोशी विकास बैंक पनि २८ करोड ४० लाख रुपैयाँ नोक्सानीमा छ । यो बैंकले ५० करोड ९० लाख प्रोभिजनिङका लागि छुट्याएको छ ।
यस्तै, चार वटा वित्तीय कम्पनी पनि नोक्सानीमा रहेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । प्रोग्रेसिभ फाइनान्स १० करोड ५० लाख, सम्वृद्धि फाइनान्स १९ करोड ८० लाख, गुह्यश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स ५ करोड ६० लाख र रिलायन्स फाइनान्स ५० लाख रुपैयाँ नोक्सानीमा छ ।
यी चार वटै वित्तीय कम्पनीहरुले क्रमशः ९ करोड ७० लाख, १९ करोड, १२ करोड ४० लाख र ५ करोड रुपैयाँ प्रोभिजनिङका लागि छुट्याएका छन् । यी बैंक तथा वित्तीय संस्थाको ठूलो कर्जा खराब कर्जामा परिणत भएकोले नोक्सानीमा गएकाे बुझिएको छ । अहिले यी बैंक तथा वित्तीय संस्थाहरु कर्जा असुलीमा केन्द्रित छन् । निक्षेप कम आउने र कर्जा लगानी पनि राम्रो नहुने गर्दा बैंक घाटामा गएका हुन् ।