करोडका सेयरधनीले बैंकका सीईओलाई जुत्ताले हिर्काउँछु भनेपछि…

<p>काठमाडौं । पछिल्लो समय बैंकविरुद्दका अभिव्यक्तिहरु बजारमा छ्याप्छ्याप्ती सुनिन्छन् । बैंकले चर्को ब्याज असुलेको आरोप लगाउँदै विभिन्न व्यक्तिहरुका अभिव्यक्तिहरु सामाजिक सञ्जालमा भाइरल छन् । केही दिनयता सामाजिक सञ्जालमा यस्तै एउटा अभिव्यक्ति भाइरल बनेको छ । यसअघि बैंकबाट ऋण लिएका व्यवसायीहरुले विरोध जनाइरहेको भएपनि यस पटक भने बैंककै ठुला सेयरधनीको अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल बनेको हो [&hellip;]</p>

काठमाडौं । पछिल्लो समय बैंकविरुद्दका अभिव्यक्तिहरु बजारमा छ्याप्छ्याप्ती सुनिन्छन् । बैंकले चर्को ब्याज असुलेको आरोप लगाउँदै विभिन्न व्यक्तिहरुका अभिव्यक्तिहरु सामाजिक सञ्जालमा भाइरल छन् । केही दिनयता सामाजिक सञ्जालमा यस्तै एउटा अभिव्यक्ति भाइरल बनेको छ । यसअघि बैंकबाट ऋण लिएका व्यवसायीहरुले विरोध जनाइरहेको भएपनि यस पटक भने बैंककै ठुला सेयरधनीको अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल बनेको हो ।

वाणिज्य बैंकका एक सेयधनीले बैंकको प्रमुख कार्यकारी अधिकारी सिओई)लाई जुत्ता फुकालेर हान्ने धम्की दिएका छन् । बैंक तथा वित्तीय संस्था विरोधी अभियानको एक कार्यक्रमा बोल्दै ती व्यक्तिले एक वाणिज्य बैंकको नाम लिँदै सो बैंकका सीईओलाई जुत्ताले हिर्काउनले अभिव्यक्ति दिएका हुन् ।

ती व्यक्ति अराजक अभिव्यक्ति दिने दुर्गा प्रसाईंका भतिजा अर्जुन प्रसाईं रहेको बुझिएको छ । तिनै प्रसाईंले अब आउने सो बैंकको वार्षिक साधारणसभामा जुत्ता फुकालेर कुटपिट गर्ने धम्की दिएका हुन् ।

उनका अनुसार सो वाणिज्य बैंकमा उनको १ करोड रुपैयाँ बराबरको सेयर लगानी छ । सो लगानी गरेवापत आफूले ६ लाख रुपैयाँ मात्रै प्रतिफल पाएको धारणा राखेका छन् ।

‘मेरो … बैंकमा झण्डै १ करोड रुपैयाँ लगानी छ, झण्डै २०/२५ वर्षदेखि बैंकको संस्थापक सेयरधनी हुँ, बैंकमा एक÷डेढ वर्ष सञ्चालक पनि भएँ, मैले एक करोड रुपैयाँ लगानी गरेर २०/२५ वर्षमा ६ लाख रुपैयाँ मात्रै नगद लाभांश पाएँ, पत्याउनु हुन्छ ? हामी जस्तो संस्थापकहरुलाई पनि फाइदा छैन, बैंक मालिक भए पनी मेरो लगानी राष्ट्रियकरण गरे खुसी–खुसी तपाईंहरुलाई १ करोड रुपैयाँ समर्थन गर्ने घोषणा गर्छुं, बैंकले गरेको नाफाको झण्डै ५० प्रतिशतभन्दा बढी सरकारले लैजान्छ, सीईओले वर्षमा दुई अढाइ करोड तलब खान्छन्, कर्जा दिँदा घुस खान्छन्, त्यो कर्जा कहाँ दिन्छ, हामी बाहिरको मान्छेलाई थाहा हुँदैन,’ उनले भीडीओमा भनेका छन् ।

बैंकको साधारण सभामा खामे प्रवृत्ति बढेको उनको भनाइ छ । उनका अनुसार साधारण सभा हुनु भन्दा ५ दिन अगाडि खाममा १०÷१२ हजार रपैयाँ राखेर १०÷१२ जनालाई बैंकका कम्पनी सचिवले बाँड्ने गरेका छन् । १० कित्ता सेयर भएका सेयरधनीहरुले साधारण सभामा ४५ मिनेट भाषण गर्दा दिक्क लाग्ने गरेको उनको भनाइ छ ।

‘साधारण सभामा १० कित्ता स्वामित्व भएका सेयरधनी बोल्दा दिक्क भएर बाहिर हिँड्नु पर्छ, त्यो सबै सुनियोजित रुपमा बोलेका हुन्छन्,’ उनले भनेका छन्, ‘बैंकमा लगानी गर्ने हामीहरु पनि पीडित छौं, अबको साधारणसभामा जुत्ता खोलेर सीईओलाई कुटेको देख्न र सुन्न पाइनेछ, पूर्व जन्ममा मेरा हजुरबाले त्यसका बाउको ऋण खाएको हुँदा त्यसलाई हामीले करोडौं रुपैयाँ तलब दिएर राखेको होइन ।’

उनले युवराज खतिवडा राष्ट्र बैंकको गभर्नर हुँदा आफूले बैंकको सञ्चालक पदबाट राजीनामा दिनु परेको बताए । आफू सञ्चालक भएको बैंकको सीईओलाई कारवाही गर्न प्रमाणसहित राष्ट्र बैंकमा फाइल पेश गर्दा पनि पूर्व गभर्नर खतिवडाले जोगाएको आरोप लगाएका छन् ।

‘युवराज खतिवडा सबैभन्दा इमानदार अर्थविद्ध भनेर चिनिन्छन्, इन्जिनियरिङ्ग पेशामा आवद्ध भएका व्यक्तिहरुको लगानीमा इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक सञ्चालन गरिएको थियो तर, बन्द हुने अवस्था आएपछि म डाइरेक्टर बनेँ, बैंकमा गएर फाइल हेर्न थालेपछि राष्ट्र बैंकले बैंकभित्रका कुनै पनि चिज हेर्न पाउँदैन, सीईओले जे ल्यायो त्यसमा हस्ताक्षर गर्नु पर्छ भन्यो,’ उनले भने, ‘सीईओलाई कारवाही गर्नु पर्ने प्रमाणसहित राष्ट्र बैंकमा फाइल पेश गर्दा पनि कारवाही नै गरेनन्, पूर्व गभर्नर खतिवडाले भ्रष्ट्राचारी सीईओलाई जोगाए, कारवाही नभएपछि बैंकका अध्यक्ष इन्जिनियर डा. जीवराज पोखरेल, डा. दुर्गा संग्रौला र म खतिवडाको घरमा गयौं, किन छोड्नु भयो भनेर सोध्दा एमालेको नेता केशव बडालको गाउँको मान्छे भएकाले कारवाही नगरेको भनेर जवाफ दिएका थिए ।’

उनका अनुसार सबै बैंक बिग्रिनुको मुख्य कारण राष्ट्र बैंक हो । उनले सबैभन्दा धेरै भ्रष्ट्राचार राष्ट्र बैंकमा हुने गरेको आरोप समेत लगाए । ‘भन्सारमा के भ्रष्ट्राचार हुन्छ ? यातायातमा के भ्रष्ट्राचार हुन्छ ? अन्यमा के भ्रष्ट्राचार हुन्छ ? भ्रष्ट्राचार हुन्छ राष्ट्र बैंकमा, सबैैभन्दा बढी भ्रष्ट्राचार हुने अड्डा भनेको राष्ट्र बैंक हो, राष्ट्र बैंकमा मैले ५० औं पटक बहस गरेको छु, म वाक्क दिक्क भएपछि राजीनामा दिएको हुँ,’ उनले भिडियोमा भनेका छन् ।

Share News