काठमाडौं । सरकारले पाँचखाल नगरपालिकामा रहेको औद्योगिक ग्रामलाई महिला उद्यमी विशेष औद्योगिक ग्राममा रुपान्तरण गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको अध्यक्षमा मदन भुजेललाई तोक्ने निर्णय भएको छ । भुजेले यसअघि समितिको सहसचिव थिए ।
यस्तै, बैठकले आवश्यक सेवा सञ्चाल ऐन २०१४ को दफा ३ को उपदफा ९१० बमोजिम आवश्यक सेवामा हड्ताल नगर्न निषेध गरी आदेश जारी गर्ने र सो को सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको छ ।
बैठकले माथिल्लो मैलङखोला जलविद्युतलाई आयोजनाको टावर र राइट अफ वे को लागि रसुवा र नुवाकोट जिल्लामा रहेको राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिन तथा सो वन क्षेत्रमा रहेका रुखहरु हटाउन स्वीकृति दिने पनि निर्णय गरेको छ ।
त्यस्तै, जेठ २९ देखि ३२ गतेसम्म बेल्जियमको ब्रसेल्समा आयोजना हुने मेट्रोपोलिस वर्ल्ड कंग्रेस तथा ब्रुसेल्स अर्बन समिट २०२३ विषयक कार्यक्रममा सहभागी हुन काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन्द्र साहको भ्रमण स्वीकृत गर्ने पनि बैठकको निर्णय छ । ।
यसका साथै बैठकले मन्त्रिपरिषद्, विधेयक समितिबाट पेश भएको विद्युतीय व्यापारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ ।