साउन १ पछि १५८ अर्ब ऋणपत्रले सिर्जना गर्ने तरङ्ग

<p>काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले अझै लामो सयम तरलता अभाव खेप्नु पर्ने देखिएको छ । बैंकहरुले जारी गरेको १५८ अर्ब ऋणपत्र साउनदेखि पूँजी र निक्षेप मध्ये एउटा मात्र शीर्षकमा गणना गर्नुपर्नेछ । साथै, बैंकहरुमा साउन १ गतेदेखि काउन्टर साइक्लिङ्ग बफर पनि लागू हुँदैछ । यसले बैंकिङ क्षेत्रमा ठूलो मात्रामा लगानीयोग्य पुँजी घटाउने जानकारहरुले बताएका [&hellip;]</p>

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले अझै लामो सयम तरलता अभाव खेप्नु पर्ने देखिएको छ । बैंकहरुले जारी गरेको १५८ अर्ब ऋणपत्र साउनदेखि पूँजी र निक्षेप मध्ये एउटा मात्र शीर्षकमा गणना गर्नुपर्नेछ । साथै, बैंकहरुमा साउन १ गतेदेखि काउन्टर साइक्लिङ्ग बफर पनि लागू हुँदैछ । यसले बैंकिङ क्षेत्रमा ठूलो मात्रामा लगानीयोग्य पुँजी घटाउने जानकारहरुले बताएका छन् ।

राष्ट्र बैंकको सो व्यवस्थाले असार मसान्तपछि बैंकबाट डेढ खर्ब भन्दा बढी लगानी योग्य रकम घट्ने देखिन्छ । अहिले बैंकहरुले प्राथमिक पूँजीकोष ८.५ प्रतिशत र पूँजी पर्याप्तता अनुपात ११ प्रतिशत कायम गर्नुपर्छ । तर, काउन्टर साइक्लिङ्ग बफर लागू भएपछि प्राथमिक पूँजी कोष २ प्रतिशतसम्म घट्ने देखिने माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कोइराला बताउँछन् ।

तथ्याङ्क अनुसार बैंक तथा वित्तीय संस्थाहरुले १ खर्ब ५८ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गरेका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को तथ्याङ्क अनुसार कृषि विकास बैंकले सबैभन्दा धेरै ऋणपत्र जारी गरेको छ । यस बैंकले हालसम्म १७ अर्ब ९२ करोड रुपैयाँका ४ वटा ऋणपत्र तथा बण्ड सञ्चालनमा छन् ।

यस्तै, ग्लोबल आइएमई बैंकले १३ अर्ब २० करोड रुपैयाँको ऋणपत्र बिक्री गरेको छ । जसमा साविक बैंक अफ काठमाण्डूको पनि ऋणपत्र समावेश गरिएको छ । त्यस्तै, एनआईसी एशिया बैंकले १२ अर्ब १७ करोड रुपैयाँ, सिद्धार्थ बैंकले ११ अर्ब ६६ करोड रुपैयाँ, प्राइम कमर्सियल बैंकले १० अर्ब २४ करोड रुपैयाँ, सानिमा बैकले ९ अर्ब ४० करोड रुपैयाँ र प्रभु बैंकले ९ अर्ब २० करोड रुपैयाँ ऋणपत्र तथा बण्ड जारी गरेका छन् ।

यस्तै, कुमारी बैंकले ९ अर्ब रुपैयाँ, एनएमबि बैंकले ७ अर्ब ९१ करोड रुपैयाँ, नबिल बैंकले ६ अर्ब २० करोड रुपैयाँ, माछापुच्छ्रे बैंकले ६ अर्ब रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ६ अर्ब रुपैयाँ, हिमालयन बैंकले ५ अर्ब ८१ करोड रुपैयाँ, नेपाल एसबिआई बैंकले ४ अर्ब ४३ करोड रुपैयाँ, लक्ष्मी बैंक र सनराइज बैंकले ४/४ अर्ब रुपैयाँ, एभरेष्ट बैंकले ३ अर्ब ६० करोड रुपैयाँ, नेपाल बैंकले ३ अर्ब ५० करोड रुपैयाँ, सिटिजन्स बैंकले २ अर्ब ५० करोड रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र तथा बण्ड जारी गरेका छन् ।

साथै, नेपाल पुर्वाधार विकास बैंकले २ २८ करोड रुपैयाँ, ज्योति विकास बैंकले १ अर्ब ५० करोड रुपैयाँ, मुक्तिनाथ विकास बैंकले १ अर्ब २५ करोड रुपैयाँ, गरिमा विकास बैंकले १ अर्ब रुपैयाँ, कामना सेवा विकास बैंकले अर्ब रुपैयाँ, सांग्रीला डेभलपमेन्ट बैंकले ७५ करोड रुपैयाँ, मञ्जुश्री फाइनान्सले ५० करोड रुपैयाँ, गुडविल फाइनान्सले २५ करोड रुपैयाँ र आइसीएफसी फाइनान्सले २० करोड रुपैयाँको ऋणपत्र जारी गरेका छन् ।

बैंक तथा वित्तीय संस्थाहरुले हाल ऋणपत्रलाई निक्षेप र पूँजीमा गणना गर्दै आएका छन् । साउन १ गतेदेखि कि निक्षेप कि पूँजीमा मात्रै गणना गर्नुपर्ने हुन्छ । ऋणपत्रलाई पूँजीमा मात्रै गणना गर्दा सीडी रेसियो टाइट हुनेछ भने निक्षेपमा गणना गर्दा क्यापिटल एडुकेसी टाइट हुनेछ । सीडी रेसियो टाइट भएपछि कर्जा विस्तार गर्न सक्ने छैनन् भने क्यापिटल एडुकेसी टाइट भएपछि सेयरधनीहरुलाई लाभांश वितरण गर्न पाउने छैनन् ।

त्यसैले कृषि विकास बैंक, ग्लोबल आइएमई बैंक, एनआइसी एशिया बैंक, सिद्धार्थ बैंक, प्राइम बैंक, सानिमा बैंक, प्रभु बैंक, कुमारी बैंक, एनएमबि बैंक, नबिल बैंक र माछापुच्छ्रे बैंकलाई कर्जा विस्तारमा सकस पर्ने देखिन्छ । किनभने यी बैंकहरुले क्यापिटल एडुकेसी टाइटलाई सहज बनाएर कर्जा विस्तार कम गर्ने देखिन्छन् ।

राष्ट्र बैंकको व्यवस्था बमोजिम प्राथमिक पूँजी कोष अनुपात ८ प्रतिशत कायम राख्न नसकेपछि एनआईसी एशिया बैंकलाई राष्ट्र बैंकले विगत २ वर्षदेखि लाभांश वितरणमा रोक लगाउँदै आएको छ । यसपटक माछापुच्छ्रे बैंक, लक्ष्मी बैंक र सनराइज बैंकले पनि गत वर्षको नाफा वितरण गर्न पाएनन् ।

बैकहरुले अहिलेदेखि नै तोकिएको भन्दा २ प्रतिशतसम्मको पूँजी पर्याप्तता अनुपात कायम गरेर राख्ने तयारी गरिरहेको उनले बताए । उनका अनुसार राष्ट्र बैंकको सो व्यवस्थाले झण्डै १० वटा बैंकहरु थप कर्जा प्रदान गर्न सक्ने अवस्थामा छैनन् ।

‘८.५ प्रतिशत कायम गर्नुपर्ने क्यापिटल एडुकेसी १० वटा बैंकको ९.५ प्रतिशतको हाराहारीमा छ, क्यापिटल एडुकेसी ८.५ प्रतिशतभन्दा तल झर्ने बित्तीकै लाभांश वितरण गर्न दिँदैन, जसकारण गत वर्ष माछापुच्छ्रे बैंक, लक्ष्मी बैंक, एनआईसी एशिया बैंक, सनराइज बैंकले लाभांश वितरण गर्न पाएनन्,’ सीईओ कोइरालाले भने, ‘ऋणपत्रलाई साउन १ गतेदेखि पूँजीमा गणना नगर्दा एडुकेसी तल झर्छ, निक्षेपमा गणना गर्दा सीडी रेसियो टाइट हुन्छ ।’ सीडी रेसियो टाइट गर्दा पेनाल्टी लाग्छ तर क्यापिटल डाउन गर्दा लाभांश वितरण गर्न पाउँदैनन् । तसर्थ बैंकहरुले साउन १ गतेदेखि ऋणपत्रलाई क्यापिटलमा गणना गर्ने सम्भावना बढी रहेकोले सीडी रेसियो टाइट हुने उनको भनाई छ ।

वासेल ३ मा गणना गर्दा २ प्रतिशत काउण्टर साक्लिक बफर लाग्ने देखिन्छ । साढे ९ प्रतिशत भएका बैंकलाई २ प्रतिशत काउण्टर साइक्लिङ्ग बफर लगाउँदा क्यापिटल एडुकेसी साढे ७ प्रतिशतमा झर्छ । त्यसैले अहिले बैंकहरु खुम्चिएर बस्ने तर कर्जा विस्तार नगर्ने साविक सिभिल बैंकका सञ्चालक अम्बिर बोगटी बताउँछन् । साउन १ गतेदेखि लागू गर्नुपर्ने काउण्टर साइक्लिङ्ग बफर केही समयका लागि धकेल्नु पर्ने उनी बताउँछन् ।

काउण्टर साइक्लिङ्ग बफरमा बैंकरहरुको बिमती नभएपनि समय खराब रहेको उनी बताउँछन् । तरलता अभाव, वर्किङ्ग क्यापिटल निर्देशन, सडक आन्दोलन, ऋणपत्र गणना गर्न नपाउने लगायत सबै व्यवस्था एकैचोटी कार्यान्वयन गर्दा बैंकहरुलाई गाह्रो हुने बैंकरहरुको भनाइ छ । बैंकहरुले बलपूर्वक निक्षेपको व्याज घटाउन काम गरेकाले निक्षेप वृद्धि पनि रोकिने सम्भावना रहेको छ ।

Share News