काठमाडौं । पछिल्लो समय लघुबीमा व्यवसाय आक्रामक रुपमा विस्तार भइरहेको छ । निर्जीवन बीमा कम्पनीले सञ्चालन गर्दै आएका व्यवसायमध्ये लघुबीमा व्यवसायको वृद्धिदर तीव्ररुपमा बढ्दै गएको छ ।
चालु आर्थिक वर्षका ८ महिनामा मात्रै उक्त व्यवसाय रकमको आधारमा ५०४ गुणाले बढेको छ । गत साउनमा ६३ लाख रुपैयाँ बराबरको लघुबीमा व्यवसाय सञ्चालन गरेका कम्पनीहरुले चैत मसान्तसम्ममा ५ करोड ६७ लाख रुपैयाँ बराबरको बिजनेस गरेका छन् । जुन प्रतिशतको अधारमा ५०४८८ प्रतिशतले बढी हो ।
कम्पनीहरुले सात वटै प्रदेशबाट लघुबीमा व्यवसाय सञ्चालन गर्दै आएका छन् । जसमध्ये सबैभन्दा बढी व्यवसाय बागमती प्रदेशबाट भएको देखिन्छ । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार चैतसम्ममा बागमती प्रदेशबाट एक करोड ७२ लाख रुपैयाँ बराबरको लघुबीमाशुल्क संकलन भएको छ । जुन गत साउनको तुलनामा १५० गुणाले बढी हो ।
त्यस्तै, गण्डकी प्रदेशमा १४३ गुणाले, कोशीमा ८४ गुणाले, लुम्बिनीमा ६६ गुणाले, सुदुरपश्चिममा २९ गुणाले, कर्णालीमा १५ र मधेश प्रदेशमा ७.७० गुणाले लघुबीमा व्यवसाय वृद्धि भएको छ ।
रकमको आधारमा मात्रै नभई संख्याको आधारमा पनि लघुबीमा व्यवसाय क्रमिक रुपमा बढ्दो छ । समीक्षा अवधिमा संख्याको आधारमा ९.४० गुणाले लघुबीमा व्यवसाय बढेको छ । सबैभन्दा बढी संख्या बागमती प्रदेशबाटै रहेको छ । गुणाको अधारमा हेर्ने हो भने कर्णाली प्रदेशबाट सबैभन्दा बढी अर्थात २६.६९ गुणा बढी छ ।
नेपाल बीमा प्राधिकरणले गरिब अर्थात न्यून आय भएका वर्गलाई पनि बीमाको पहुँचमा ल्याउन सञ्चालनमा लघुबीमा व्यवसाय सञ्चालन गर्न बीमा कम्पनीहरुलाई स्वीकृति दिएको हो । तर कम्पनीहरु गाउँमा भन्दा सहरमा बढी केन्द्रीत भएको तथ्यांकले देखाउँछ ।
पछिल्लो समय नयाँ लघुबीमा कम्पनी प्रतिस्पर्धीको रुपमा आएसँगै पुराना कम्पनीहरुले लघुबीमा व्यवसाय बढाएका हुन् । बीमा प्राधिकरणले लघुबीमा व्यवसाय सञ्चालनको लागि छुट्टै ७ वटा कम्पनीलाई लाईसेन्स वितरण गरेको छ ।