९७ करोडको वैदेशिक रोजगार बचतपत्र बिक्री गर्दै राष्ट्र बैंक

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारदेखि ९७ करोड ७५ लाख रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्रको बिक्री खुला गरेको छ । एक सूचना जारी गर्दै राष्ट्र बैंकले पाँच वर्षमा परिपक्व हुने गरी वैदेशिक रोजगार बचतपत्र २०८५ को बिक्री खुला गरेको जनाएको हो । राष्ट्र बैंककाे अनुसार वार्षिक ११ प्रतिशतको दरमा ६/६ महिनामा ब्याजदर भुक्तानी हुने उक्त बचतपत्र [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारदेखि ९७ करोड ७५ लाख रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्रको बिक्री खुला गरेको छ । एक सूचना जारी गर्दै राष्ट्र बैंकले पाँच वर्षमा परिपक्व हुने गरी वैदेशिक रोजगार बचतपत्र २०८५ को बिक्री खुला गरेको जनाएको हो ।

राष्ट्र बैंककाे अनुसार वार्षिक ११ प्रतिशतको दरमा ६/६ महिनामा ब्याजदर भुक्तानी हुने उक्त बचतपत्र खरिदका लागि आउँदो वैशाख १७ गतेदेखि जेठ १७ गतेसम्म आवेदन दिन सकिने छ । निष्कासन मिति २०८० जेठ २४ तोकिएको बचतपत्रको सावाँ भुक्तानी २०८० जेठ २४ गते  तोकिएको छ ।

राष्ट्र बैंकको सूचनामा बचतपत्र मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको ६ महिना नपुगेका नेपाली नागरिक वा गैरआवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्य (बुबा, आमा, श्रीमान श्रीमती, छोरा, छोरी मात्र)को नाममा खरिद गर्न सक्नेछन् ।

घटीमा १० हजार रुपैयाँ र बढीमा १० हजारले भाग गर्दा निःशेष भाग जाने गरी आह्वान गरिएको रकमसम्म खरिद गर्न सकिने उक्त ऋणपत्र धितो राखेर बैंक तथा फाइनान्स कम्पनीहरूसँग कर्जासमेत निकाल्न सकिने राष्ट्र बैंकले जानकारी दिएको छ ।

ऋणपत्र खरिदका लागि सिटिजन्स बैंक इन्टरनेसनल, नबिल बैंक, माछापुच्छ्रे बैंक, प्रभु बैंक, सनराइज बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक, प्रभु मनी ट्रान्सफर, सिटी एक्सप्रेस मनी ट्रान्सफर, आईएमई लिमिटेड, एनएमबि बैंक, ग्लोबल आइएमई बैंक, नेपाल बैंक, इसेवा मनी ट्रान्सफर र नेपाल रेमिट इन्टरनेशनलका केद्रीय कार्यालय तथा शाखा कार्यालयमा सम्पर्क गर्नुपर्ने राष्ट्र बैंकले जानकारी दिएको छ ।

Share News