काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले देश सरकारबिहीन भएको टिप्पणी गरेका छन् । राजनीतिक अस्थिरता, आथिर्क संकट र सञ्चारको दायित्व विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै बुधबार महासचिव चन्दले यस्तो टिप्पणी गरेका हुन् ।
उनले मंसिरमा भएको चुनावदेखि आजसम्म पनि सरकारले पूर्णता नपाउनु भनेको सरकार नहुनु सरह रहेको जिकिर गरे ।
‘प्रधानमन्त्रीले नै १६ वटासम्म मन्त्रालय हेर्ने स्थिति आउनु लज्जाको विषय हो, अहिले पनि सरकारको आयु तोकेरै भन्ने गरिएको छ, नयाँ नेताहरु नयाँ दौरा सुरवाल सिलाउन लागेका छन्, अहिलेको परिवेशले नेपालमा राजनीतिक अस्थिरता अझै बढेर जानेकुरा चित्रित गरेको छ,’ उनले भने ।
उनले देशमा संकट विद्यमान रहेकाले के हुन्छ भनिहाल्ने अवस्था नरहेको बताए । नेपालमा राजतन्त्र हुँदा समेत आर्थिक मन्दीको अहिलेको अवस्था भोग्नु नपरेको उनी बताउँछन् ।
महासचिव चन्दले नेपालको उत्पादनले तीन महिना पनि नधान्ने स्थिति रहेको भन्दै उत्पादनमा जोड नदिनेहरुबाट राज्य सञ्चालन हुनै नसक्ने बताएका छन् । ।