दूर सञ्चार ऐनका कारण नेपाललाई ५० औं अर्ब नोक्शान हुँदैछ : नेता कोईराला

<p>काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले सरकारले ड्राफ्ट गरिरहेको दूर सञ्चार ऐनका कारण नेपाललाई ५० औं अर्ब रुपैयाँ नोक्शान हुने दाबी गरेका छन् । शुक्रबार काठमाडौंमा नेपाल सार्वजनिक सेवा कर्मचारी संघको सातौं राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् । उनले एनसीएल २५ वर्षपछि सरकारको स्वामित्वमा आउनुपर्ने भएपनि भित्र [&hellip;]</p>

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले सरकारले ड्राफ्ट गरिरहेको दूर सञ्चार ऐनका कारण नेपाललाई ५० औं अर्ब रुपैयाँ नोक्शान हुने दाबी गरेका छन् ।

शुक्रबार काठमाडौंमा नेपाल सार्वजनिक सेवा कर्मचारी संघको सातौं राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् । उनले एनसीएल २५ वर्षपछि सरकारको स्वामित्वमा आउनुपर्ने भएपनि भित्र भित्रै विभिन्न चलखेल गरी सरकारको स्वामित्वमा नआउने काम भइरहेको बताए ।

उनले देशको अर्थतन्त्र धराशायी रहेपनि नेपाललाई श्रीलंका र पाकिस्तान बन्न नदिने प्रतिबद्धता जनाए । उनले नेपालसँग अहिले १० महिनासम्मका लागि पुग्ने सञ्चिति रकम रहेको बताए । नेता कोईरालाले पछिल्लो समय राजश्व उठ्न नसक्दा कर्मचारीहरुलाई ऋण खोजेर तलब खुवाउने काम भइरहेको बताए ।

उनले भने, ‘मैले अहिले सकेको छैन, संविधानमा नै श्रम आयोग बनाउनको लागि मैले लडिरहने हो, नेपाली काँग्रेसको विधानमा श्रमीकहरुलाई केन्द्रिय समितिमा ल्याउने र सँगै संसदमा श्रमीकहरुको पनि हामीले व्यवस्था गर्ने हो । हामी भन्नसक्ने अवस्थामा छैनौँ तर हामी पक्कै पनि पाकिस्तान र श्रीलंका हुन दिँदैनौँ, हुँदैन । हामीसँग १० महिनाको लागि आवश्यक सञ्चिति रकम छ । एनसीएलले २५ वर्षपछि छोड्नुपर्ने, एनसीएलले दिनुपर्ने पैसा के छ ? उसले के बदमासी गरेर मिलाउँदैछ ? यस्ता कुरा भन्नुपर्छ तपाईहरुले ।’

नेता कोईरालाले संविधानमा नै श्रम आयोग बनाउनको लागि आफू लडिरहने प्रतिबद्धता जनाए । उनले नेपाली काँग्रेसको विधानमा श्रमीकहरुलाई केन्द्रिय समितिमा ल्याउने र संसदमा श्रमीकहरुको पनि व्यवस्था गर्नसके आफ्नो एउटा सपना पूरा हुने र त्यसका लागि आफू लडिरहेको बताए ।

Share News