काठमाडौं । ‘तपाईं त सहायक सिडिओ भएर जानु न’, एक जना कर्मचारीले पदीय कुर्सीमा बसेका कर्मचारीलाई भने ।
‘हो क्यारे माओवादीले सरुवा गर्दैनन्, फेरि दार्चुलाको सहायक सिडिओ बनाएर पठाए भने बर्बाद भएन ?’, कुर्सीमा बसेका कर्मचारीले जवाफ दिए ।
‘अँ त नी’, अर्को कर्मचारीले थपे ।
प्रसंग बद्लियो ।
‘गृहमा चार्म भनेको त्यही सुराकी भत्ता थियो, खाइदिए काजीले’, कार्यकक्षमा रहेका अर्का कर्मचारीले प्रशंग निकाले ।
‘दिनको ५० हजार मन्त्रीले, २० हजार सचिवले चलाउन पाउँथे, तर, बन्द गरे’, अर्का कर्मचारीले भने ।
‘हैन त्यो पैसा सबै आफै चलाउन पाउने त होइन नी’, कुर्सीमा बसेका कर्मचारीले नजाने जस्तो पारामा जिज्ञासा राखे ।
‘त्यसको स्रोत नै नखोज्ने भन्ने छ नी त’, अर्का पाहुना कर्मचारीले भने ।
‘खातामा राखेको सम्पत्तिको स्रोत त देखाउन पर्ला नी’, कर्मचारीहरुबीच वहस चुलियो ।
‘त्यसोभए गृहको लेखालाई निकै झन्झट होला है ?’, सधैं चेक काट्न पर्ने’, अर्का कर्मचारीले प्रश्न गरे ।
‘होइन महिना–महिनामा सचिवले बुझ्थे अरे, एकैपटकमा ५/६ लाख’ एकजना कर्मचारीले थपे ।
आइतबार यस्तै अनवरत छलफल हुँदै थियो, सिंहदरबारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको एक जना उपसचिवको कार्यकक्षमा ।
त्यतिबेलासम्म पंक्तिकार मौन भएर सुनिरहेका थिए । पंक्तिकार पत्रकार हुन् भन्ने विषय ती कर्मचारीहरुलाई जानकारी थिएन । सायद, त्यतिबेलासम्म उनीहरुले पंक्तिकार पनि आफ्नै मन्त्रालय मातहतका कर्मचारी हुन् भन्ने भ्रम ती कर्मचारीहरुमा थियो । त्यसैले त खुलेर बहस गर्दै थिए, सुराकी भत्ताको ।
पछि पंक्तिकार अपरिचित व्यक्ति हुन् भन्ने ठाने क्यारे ! एक कर्मचारीले बाहिर निस्कन भने। सिंहदरबारमा धेरै कर्मचारीहरु छन् । थोरैले काम गर्छन् र धेरैले जागिरको नाममा समय बिताउँछन् भन्ने विषय सिंहदरबारका कार्यालयमा एक फन्को लगाउने सबैलाई राम्रोसँग थाहा हुन्छ ।
नवनियुक्त गृहमन्त्री नारायणकाजी श्रेष्ठले पदभार ग्रहण गरेको दिन गरेको महत्वपूर्ण निर्णयले सिंहदरबारभित्रका कर्मचारीमा एउटा तरंग नै ल्याएको छ । ३२ वर्षदेखि गृहमन्त्री हुने राजनीतिक व्यक्ति र गृहसचिव हुने कर्मचारीले बेहिसाब बुझेको करोडौं रकम अब बाँड्न बन्द गर्ने निर्णय मन्त्री श्रेष्ठले गरेपछि कर्मचारीमा त्यसले अन्य सुविधा पनि खोसिने हुन की भन्ने आशंका पैदा गरेको सिंहदरबारका ती कर्मचारीको मनोविज्ञानले बताउँछ ।
गृहमन्त्रीले राम्रो निर्णय गरे भन्न सक्ने हैसियत कर्मचारीमा छैन । किनकी त्यो भनेको मुलुकमा कानुनको पालना गराउने कार्यकारी निकायमा भएको एउटा ठूलो अपारदर्शी र खुलेआम स्रोत थियो । जसले गर्दा कर्मचारीहरुलाई अन्य स्रोतको बचाउ गर्न निकै सहज भइरहेको थियो ।
गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा २०५० साल जेठ १३ गतेको मन्त्रिपरिषद् बैठकले सुराकी खर्च वापत मन्त्रीले ५० हजार र सचिवले २० हजार दैनिक खर्च गर्न पाउने निर्णय गरेको थियो । सो रकमलाई २०७८ असोज १४ गतेको मन्त्रिपरिषदको बैठकले २५ हजार पुर्याउने निर्णय गरेको थियो । पछिल्लो आर्थिक वर्षमा गृहसचिव पाण्डेले सुराकी परिचालनका नाममा ९२ लाख ९७ हजार रुपैयाँ मन्त्रालयबाट बुझेका थिए ।
महालेखा परीक्षकको कार्यालयले सुत्र/सुराकी परिचालनको खर्च अपारदर्शी भएको भन्दै लामो समयदेखि आफ्नो प्रतिवेदनमा औंल्याउँदै आएको छ । ‘मन्त्रिपरिषद्को २०५०/२/१३ को निर्णयानुसार शान्तिसुरक्षा कायम राखे प्रयोजनका लागि एक पटकमा गृहमन्त्रीले ५० हजार रूपैयाँ र गृहसचिवले २० हजार रूपैयाँसम्म खर्च गर्न सक्ने व्यवस्था छ ।
उक्त निर्णयका आधारमा यो वर्ष गृहमन्त्रीबाट ६२ लाख ५० हजार रूपैयाँ र गृह सचिवबाट ७५ लाख ५५ हजार रूपैयाँ समेत गरी १ करोड ३८ लाख ५ हजार रुपैयाँ खर्च भएको छ ।
उल्लेखित निर्णयमा एक पटकको खर्चको सीमा तोकिए पनि साप्ताहिक, मासिक वा कुनै निश्चित अवधि किटान नगरेकोले स्पष्टतासहित अवधि किटान गरिनुपर्दछ’, महालेखाले आफ्नो ५९औँ प्रतिवेदनमा उल्लेख गरेको छ ।
पूर्व सचिव बास्कोटा भन्छन् : गृहसचिव र मन्त्रीलाई यस्तो खर्च चाहिन सक्छ
सचिवको भूमिकामा विभिन्न मन्त्रालयमा काम गरेर रिटायर्ड भएका कृष्णहरी बास्कोटा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गरेको निर्णयमा भने पूर्ण सहमत छैनन् । उनले शुत्र/सुराकी खर्च मन्त्री तथा सचिवले कुनैबेला खर्च पनि गर्नु पर्ने बताउँदै त्यसलाई राख्ने वा हटाउने भन्दा पनि नैतिकताले खर्च गर्नुपर्ने विषय भएको तर्क राख्छन् ।
‘यस्तो विषय भनेको नैतिकता इमान्दारिताको विषय हो, यो व्यवस्था भएपनि त्यहाँ सुराकी खर्च लिन पाइन्छ भनेपनि नैतिकवान मान्छेले नचाहिँदो बेलामा सुराकी वापतको खर्च लेख्ने र लिने खाने कुरा गर्नु हुँदैन, तर चाहिँदो बेलामा फेरि कहिलेकाहीँ काम गर्न पनि पर्ने हुन सक्छ, त्यसैले यस्ता कुरा भनेको उच्च नैतिकताको कसीभित्रबाट हुनपर्छ, त्यसैले यस्तो कुरा खारेज गर्नु ठिक कि रहिरहँदा ठिक भनेर ठ्याक्कै ब्ल्याक एन्ड ह्वाइटमा जवाफ दिन चाहिँ कठिन हुन्छ’, बास्कोटाले भने ।