
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभाको उपचुनावमा चितवन निर्वाचन क्षेत्र नम्बर २ मा पार्टीका अध्यक्ष रवी लामिछाने, तनहुँ १ मा स्वर्णिम वाग्ले र बारा निर्वाचन क्षेत्र नम्बर २ मा रमेश खरेललाई उम्मेदवार बनाउने भएको छ । आज राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै रास्वपाले आगामी उपनिर्वाचनमा हुने पार्टी उम्मेदवारको विषयमा जानकारी गराएको हो ।
रास्वपाका अध्यक्ष लामिछाने गत मंसिरमा भएको प्रतिनिधिसभाको निर्वाचनमा चितवन २ बाट निर्वाचित भएका थिए, पछि नागरिकताको विषयमा दोषी देखिएपछि उनको सांसद पद गुम्न पुगेको थियो ।
तनहुँ १ बाट उपचुनावमा उठ्न लागेका वाग्ले आर्थिक क्षेत्रका विज्ञ मानिन्छन्, तर उनको नेपालको राजनीतिमा संगठित निरन्तरताको भने लामो इतिहास छैन । नेपाली कांग्रेस निकट रहँदै आएका वाग्लेले केही दिन अगाडि मात्रै कांग्रेस परित्याग गरेको घोषणा गरेका थिए ।
त्यस्तै रास्वपाको तर्फबाट बारा २ बाट उम्मेदवारी घोषणा गरेका खरेल गत मंसिरमा भएको निर्वाचनमा काठमाडौं १ बाट पराजित भएका थिए ।