
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरु कमिशनको खेलमा मात्रै लाग्ने गरेको पाइएको बताएका छन् । शनिबार बिहान पशुपतिनाथ क्षेत्रको सरसफाईमा सहभागी भएलगत्तै नेपाल पर्यटन बोर्डले आयोजना गरेको एक कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।
पशुपति क्षेत्र परिसरमा सफाई गर्ने क्रममा आफूलाई त्यहाँ रहेका मानिसहरुले पशुपति क्षेत्र विकास कोष जताबाट कमिशन आउँछ, त्यतै लाग्ने गरेको बताएको उनको भनाई थियो । मन्त्री किरातीले पशुपतिनाथ क्षेत्रको फोहोर देखेर आफू साह्रै लज्जित भएर फर्केको पनि बताए । त्यहाँ जाने दर्शनार्थीहरुले ट्वाईलेट आफूलाई सोधेको र आफू पनि टवाईलेट खोज्दै हिड्नुपर्ने अवस्था आएको पनि उनको गुनासो थियो ।
मन्त्री किरातीले पर्यटनको पहिलो आधार सरसफाई भएकाले आफू पनि पशुपतिनाथ क्षेत्रको सफाईमा गएको तर त्यहाँ धेरै फोहोर रहेको समेत बताए । उनले सो क्षेत्रमा बिहान मोर्निङ वाकमा आउनेहरुले समेत फोहोर फ्याँकेर जाने गरेकाले त्यहाँको सफाईका लागि सबै सुध्रनुपर्ने अवस्था रहेको बताए । मन्त्री किरातीले भने, ‘पशुपतिनाथ सरसफाई पनि पर्यटक बढाउनका लागि हो । यसको ठूलो उद्देश्य छ, आज म धेरै नै फोहोरमा पसेको छु, साथीहरुले डाँडाडाँडा सफा गरेर हिड्थ्यो । प्लाष्टिक मात्रै भेटिन्थ्यो, आज चाँही धेरै नै फोहोर देखेर म आफैं पनि साह्रै लज्जित भएर फर्केको छु ।’
मन्त्री किरातीले कर्मचारीहरुको प्रवृत्ति सिमित जागिर मात्रै खाने भन्ने रहेको र विकास कोषका पदाधिकारीहरु कमिसन कहाँबाट आउँछ भन्नेमा रहेको बताए । ‘हाम्रो प्रवृत्ति कस्तो भयो भने मन्त्री भईसकेपछि गाडीबाट तल नझर्ने, कर्मचारी सिमित जागिर मात्रै खाने हो भन्ने ठान्ने, विकास कोषका साथीहरु कहाँबाट कमिशन आउँछ, खाली त्यतै मात्रै लाग्ने’, मन्त्री किरातीले भने ।
मन्त्री किरातीले पर्यटनको आधार भनेको सरसफाइ भएको र अब सबै सुध्रिनुपर्ने समेत बताए । ‘आज त्यहाँको सबै जनताले भने नि त, त्यहाँको पसलदेखि लिएर बसको पैसा उठाएर फोहोर सफा नगर्नेदेखि लिएर अव संस्कृति जनतामा कस्तो भने कुकुर डोर्याउँदै जाने, मोर्निङ वाकमा जाँदाखेरी अर्को हातमा प्लाष्टिकमा होफोर फ्याँकेर हिँडने, हामी सबै सुध्रिनुपर्ने देखिन्छ, पर्यटनको पहिलो आधार भनेकै सरसफाई हो, जहाँ हामी सफाई नै गर्दैनौं, धेरै मानिसहरुले आज मलाई ट्वाईलेट कता भनेर सोध्यो पशुपतिनाथमा, म आफैं ट्वाईलेट खोजी हिँडदै थिए ।’
मन्त्री किरातीले पशुपतिनाथ क्षेत्रमा पैसा लिएर पनि त्यहाँ फोहोर नउठाउने गरेको आफूले पाएको बताए ।