
काठमाडौं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले भैसीपाटीको सडक एक महिनामा पिच हुने बताएका छन् । शुक्रबार काठमाडौं उपत्यकाका सडकहरु अनुगमन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
‘भैसेपाटी सडकको समस्या अब धेरै रहदैन, पाइप बिछाउने कार्य पूरा भएको छ, अब एक महिना सडक पिच हुनेछ,’ उनले भने ।
गुणस्तरीय सरकारमा हिँड्न पाउने नागरिकको अधिकार भएको बताउँदै उपप्रधानमन्त्री श्रेष्ठले रुग्ण आयोजनाहरू सम्पन्न गर्न निर्माण व्यवसायीहरूलाई निर्देशन दिएको बताए । आफू निर्देशन दिएर मात्रै नबस्ने उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले आयोजनाहरूको प्रगतिका बारेमा पनि अनुगमन गरिरहने बताए ।
‘निर्माण व्यवसायीहरूलाई बोलाएर देशभरिको रुग्ण आयोजना सम्पन्न गर्न निर्देशन दिएको छु, निश्चित समयभित्र गुणस्तरीय काम सम्पन्न गर्न निर्देशन दिइएको छ,’ श्रेष्ठले भने, ‘त्योअनुसार अनुगमन पनि भएको छ, काममा केही प्रगति पनि भएका छन् । तर, अझै पनि पूरै सन्तुष्ट हुन सक्ने स्थिति छैन ।’
उपत्यकाका कतिपय क्षेत्रमा भत्किएका सडकहरू बनाउने काममा केही प्रगति भएको उनले बताए । ‘कतिपय सडक निर्माणमा खानेपानी, विद्युत्लगायत अन्य कार्यालयहरूको कारण ढिलाई भइरहेको छ, त्यसलाई छिटो सम्पन्न गर्न म प्रयत्नशील रहेको छु,’ उनले भने ।
कतिपय अदालतको आदेशका कारण पनि काम रोकिएको भन्दै श्रेष्ठले अदालतको आदेशलाई हस्तक्षेप गर्न नसक्ने भए पनि त्यसमा अनुरोध गरेर अगाडि बढ्ने बताए ।