सहकारी बन्द हुँदा शल्यक्रिया रोकियो

<p>दाङ । दाङ तुलसीपुरस्थित शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको शाखा कार्यालय बन्द हुँदा सेवाग्राही समस्यामा परेका छन् । एक महिनादेखि बन्द भएको सो सहकारीको शाखा कार्यालयमा रकम झिक्न दैनिक बचतकर्ता पुग्ने गरेका छन् । सोही सहकारीमा तुलसीपुरको बिपी चोकका फलफूल व्यवसायी तुलसी नेपालीको १ लाख २७ हजार बचत छ । उनले अब त्यो पैसा पाउने [&hellip;]</p>

दाङ । दाङ तुलसीपुरस्थित शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको शाखा कार्यालय बन्द हुँदा सेवाग्राही समस्यामा परेका छन् । एक महिनादेखि बन्द भएको सो सहकारीको शाखा कार्यालयमा रकम झिक्न दैनिक बचतकर्ता पुग्ने गरेका छन् ।

सोही सहकारीमा तुलसीपुरको बिपी चोकका फलफूल व्यवसायी तुलसी नेपालीको १ लाख २७ हजार बचत छ । उनले अब त्यो पैसा पाउने आशा मरिसकेको बताए ।

‘एक महिना भयो सहकारी बन्द भएको, फोन गर्छौ २/४ दिनमा खुल्छ भन्न लागेको धेरै भइसक्यो, साहुलाई पैसा तिर्नुपर्ने थियो, निकै गाह्रो भएको छ,’ उनले भने ।

शिव शिखरमै तुलसीपुर–५ जेसिजचोकमा फलफूल व्यवसाय गर्ने चन्द्रकली विकको ६० हजार बचत छ । त्यही बचत फिर्ता लैजानका लागि पटक–पटक कार्यालय पनि पुगे । तर कसैलाई पनि भेटाएका छैनन् । फोन गर्दा एक वर्ष पुगेपछि फिर्ता गर्छौँ भन्ने जवाफ आउने गरेको उनी बताउँछन् ।

‘अफिसमा गए कोही भेटिनुहुन्न, फोन गर्दा साउनमा दिन्छौँ, भन्नुहुन्छ,’ उनले भने । उनी बिरामी पनि छन् । त्यही पैसा आएपछि शल्यक्रिया गर्ने सोच बनाएको उनले बताए ।

तुलसीपुरका फेन्सी व्यवसायी अशोक भण्डारीले पनि ६ हजार सो सहकारीमा बचत गरेका छन् । त्यही रकम लैजानका लागि धेरै पटक कार्यालयमा धाएको उनको भनाइ छ ।

‘पसिना बगाएर कमाएर पैसा हो, दुःख गरेर बचत गरेको पैसा किन नपाइएको हो, हामीलाई निकै समस्या भयो,’ उनले भने । उक्त सहकारीको ‘मार्ट’ पनि सञ्चालनमा रहेकाले त्यही मार्टबाट आवश्यक सामग्री लिएर बचत रकम कटाउन खोजे पनि त्यो पनि नमान्ने गरेको उनको गुनासो छ ।

आर्थिक मन्दिका कारण बचतकर्ताको बचत फिर्ता गर्न नसकिएको जनाउँदै गएको माघ २७ गते उक्त सहकारीको तुलसीपुर शाखा केही समयका लागि बन्द गर्ने भनी सूचना प्रकाशित गरिएको थियो । अर्को सूचना प्रकाशनमा नआएसम्म बन्द रहने जानकारी गराइएको थियो । बन्द भएको एक महिनासम्म पनि सो सहकारीको सेवा पुनःसञ्चालन हुन सकेको छैन ।

Share News