काठमाडौं । गृह मन्त्रालयले सोमबार साँझ गोंगबु तथा नयाँ बसपार्क क्षेत्रमा लुटपाटमा संलग्नलाई कारवाही गर्न निर्देशन दिएको छ ।
मंगलबार गृह सचिव बिनोद सिंहले प्रहरीको भ्यानमा आगजनी गर्ने तथा लोत्से मलमा रहेका मोबाइल पसलको तोडफोेर्ड गरी मोबाइल चोरी गर्नेलाई तत्काल पक्राउ गर्न निर्देशन दिएका हुन ।
गृह सचिव सिंहले काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी दिवेश लोहनी लगायतलाई बोलाएर तत्काल कारबाही गर्ने निर्देशन दिएको मन्त्रालयले जनाएको छ ।
सोमबार साँझ नयाँ बसपार्कमा रहेका ल्होत्से मलमा लुटपाट हुँदा ८ करोड रुपैयाँ बढीको मोबाइल चोरी भएको नेपाल मोबाइल व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अध्यक्ष भरत भट्राईले दुई वटा मोबाइलको स्टोर रुम, पसल र सर्भिस सेन्टरबाट मोबाइल तथा तिनका पार्टपूर्जा लुटपाट भएको बताए ।
सवारीसाधन कारबाही गरेबापत ट्राफिक प्रहरीले लिने शुल्क बढाएको भन्दै आक्रोशित यातायात मजदुरले सोमबार साँझ काठमाडौँको नयाँ बसपार्कमा सञ्चालित लोत्से मलमा तोडफोड गरेका थिए ।

सवारी जरिवानाबापत ट्राफिक प्रहरीले लिँदै आएको चर्को शुल्क खारेज गर्नुपर्ने, निलम्बित लाइसेन्स फुकुवा गर्नुपर्ने, भौतिक पूर्वाधार पार्किङ पिक एन्ड ड्रपको व्यवस्था गर्नुपर्नेलगायतका माग राखेर आन्दोलन गरेका मजदुरले लोत्से मलमा तोडफोड गरेका थिए ।
