काठमाडौं । नेपाल राष्ट्र बैंकले अर्थतन्त्रमा सुधार भएको बताएको छ । शुक्रबार चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा जारी गर्दै राष्ट्र बैंकले अर्थतन्त्र सुधार भएको बताएको छ । पछिल्लो समय आयातमा गरिएको कडाइका कारण अर्थतन्त्र सहज भइ सुधारोन्मुख रहेको राष्ट्र बैंकले जनाएको छ ।
वार्षिक बिन्दुगत आधारमा २०७९ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाले परिचालन गरेको कुल निक्षेप ९.४ प्रतिशत बढेर ५२ खर्ब ९७ अर्ब ९० करोड रुपैयाँ पुगेको छ । यस्तै, निजी क्षेत्रतर्फ प्रवाह गरेको कर्जा ४.० प्रतिशत बढेर ४७ खर्ब ५८ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ ।
२०७८ असारदेखि निक्षेपको तुलनामा कर्जाको वार्षिक बिन्दुगत वृद्धिदर उच्च रहेकोमा २०७९ असोजबाट निक्षेपको वृद्धिदर अधिक रहँदै आएको राष्ट्र बैंकले जनाएको छ ।
निक्षेपको तुलनामा कर्जाको वृद्धिदर न्यून रहेका कारण बाह्य क्षेत्रमा परेको चाप कम गर्न सहयोग पुगेको राष्ट्र बैंकको भनाइ छ । २०७८ जेठदेखि लगातार दबाबमा रहेको शोधनान्तर स्थिति २०७९ असोजबाट बचतमा रहन थालेको बताइएको छ ।
‘शोधनान्तर स्थितिमा सुधार आउन शुरु भएसँगै मौद्रिक तरलतामा विस्तार भएको छ, तरलतामा सुधार आएका कारण अल्पकालीन ब्याजदरहरु घट्न थालेका छन्, यसको असर निक्षेप तथा कर्जाको ब्याजदरमा समेत क्रमशः प्रतिविम्बित हुँदै जाने देखिएको छ,’ राष्ट्र बैंकको अर्धवार्षिक मौद्रिक सीमक्षामा उल्लेख छ ।
साथै, कर्जाको आकार कुल गार्हस्थ्य उत्पादनकै हाराहारीमा पुगिसकेको र बैंक तथा वित्तीय संस्थाको पुँजीको आधारसमेतलाई दृष्टिगत गर्दा कर्जा प्रवाह सन्तुलित रहन गई तरलता र ब्याजदरमा थप सुधार आउने राष्ट्र बैंकको विश्वास छ ।
‘आयातमा आधारित अर्थतन्त्र भएकाले सरकारी वित्त घाटा र कर्जा विस्तारसँगै आन्तरिक माग विस्तार हुँदा शोधनान्तर स्थिति पुनः दबाबमा पर्न सक्ने जोखिम छ, यसर्थ, तरलता र ब्याजदरमा देखिन लागेको सुधारलाई दिगो राख्ने कार्य भने चुनौतीपूर्ण रहेको छ,’ राष्ट्र बैंकले भनेको छ ।