काठमाडौं । बैंकहरुले बचत खाताको ब्याजदर पनि घटाएका छन् । मुद्दति खाताको ब्याज घटाएसँगै बचत खाताको ब्याजदर पनि धमाधम घटाउन थालेका हुन् ।
नेपाल बैंकर्स संघले माघदेखि मुद्दति खाताको ब्याज घटाउने निर्णय गरेको थियो । सोही अनुसार बैंकहरुले पनि ब्याज घटाएर नयाँ ब्याजदर सार्वजनिक गरेका थिए ।
संघको बैठकले निक्षेपको ब्याज १.१३ प्रतिशत बिन्दुले घटाउने निर्णय गरेको थियो । संघको सो निर्णय सँगै वाणिज्य बैंकहरुले ११ प्रतिशत व्याजदर सार्वजनिक गरेका थिए । यसअघि १२.१३ प्रतिशत रहेको वाणिज्य बैंकको ब्याजदर अहिले ११ प्रतिशत छ ।
.बचतको ब्याजको विषयमा भने संघले कुनै निर्णय गरेको थिएन । तर, अहिले बैंकहरुले ग्राहकलाई जानकारी नै नगराई बचत खाताको ब्याज धमाधमा घटाइरहेका छन् । यसअघि अधिकांश वाणिज्य बैंकहरुले बचत खातामा ७.१३ प्रतिशत ब्याज दिन्थे तर अहिले घटाएर ६.४२ प्रतिशत कायम गरेका छन् ।

एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिृकतले अहिले अधिकांश बैंकहरुले बचतको ब्याज घटाएको बताए । उनका अनुसार बैंकहरुले मुद्दति खाताको ब्याज घटाएसँगै बचत खाताको पनि घटाउनु पर्ने बाध्यता रहेको सुनाए ।
उनका अनुसार अब नयाँ कर्जाको ब्याज पनि घट्न सक्छ । ‘मुद्दति निक्षेपको ब्याज घटेपछि बचतको पनि अवश्य नै घट्छ, कर्जाको ब्याजदर पनि विस्तारै घट्दै जान्छ, बैशाखसम्म बैंकको आधारदर पनि घट्न सक्छ,’ पुराना ऋणीको ब्याजदर भने पुरानै हुन सक्छ तर नयाँ कर्जामा ब्याजदर घट्न सक्छ,’ ती सीईओले भने ।
बैंकहरुले संस्थागत मुद्दती निक्षेपको व्याजदर भने ९ प्रतिशतमा झारेका छन् । त्यस्तै रेमिट्यान्स तर्फको मुद्दती निक्षेपको व्याजदर भने १२ प्रतिशत रहेको छ । नयाँ सरकार बनेसँगै अर्थमन्त्रीको दबाबमा राष्ट्र बैंकले पनि सल्लाह दिएपछि बैंकहरु ब्याज घटाउन बाध्य भएका हुन् ।
बैंकहरुले ब्याज घटे वा बढेमा ग्राहकलाई जानकारी गराउनु पर्ने प्रावधान छ । तर, अहिले बैंकहरुले ग्राहकलाई जानकारी नै नदिई धमाधम बचत खाताको ब्याज घटाइरहेका हुन् ।