काठमाडौं । शहरी विकासमन्त्री मेटमणी चौधरीले काठमाडौं उपत्यकाभित्र देखिएका सुकुम्बासी समस्या समाधान गर्न सबै पक्षको सहयोग र सहमती आवश्यक रहेको बताएका छन् ।
मन्त्री चौधरीले काठमाडौं सहरको सौन्दर्यमा प्रतिकूल असर पार्ने फोहोरमैलाको व्यवस्थापन तथा नदीकिनारामा रहेका सुकुम्बासी बस्तीको व्यवस्थापन कार्य चूनौतिपूर्ण रहेको उल्लेख गर्दै त्यसको समाधानका लागि सबै पक्षको सहयोग र सहमती आवश्यक्ता रहेको बताए ।
२८ औं महानगर दिवसको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले काठमाडौंलाई व्यवस्थित, सफा र सुन्दर सहर निर्माण गर्नका लागि आवश्यक पूर्वाधारको विकास गर्न ठोस कार्यहरु संचालन गर्न ढिलाई गर्न नहुने पनि बताए ।
महानगरपालिकालाई बसोबास योग्य, प्रदुषणरहित वातावरणमैंत्री बनाई महानगरबासीहरुको आधारभूत आवश्यक्त परिपूर्ति गर्न काठमाडौं महानगरपालिकाले खेल्दै आएको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै मन्त्री चौधरीले यस काममा नेपाल सरकारले पनि सक्दो सहयोग गरिरहेको र त्यसलाई निरन्तर अघि बढाउने प्रतिवद्धता व्यक्त गरे ।