
काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले पिउने पानीको महशुल वृद्धि गर्ने तयारी गरेको छ । मेलम्ची आयोजना सञ्चालनमा आएसँगै लिमिटेडले पिउने पानीको महशुल वृद्धि गर्ने तयारी गरेको हो ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रवक्ता प्रकाश कुमार राईले पिउने पानी सम्बन्धी कानूनी व्यवस्था अनुरुप मूल्यको समायोजनको विषयमा वर्षेनी निर्णय गर्ने गरिएको र सोही अनुरुप चालु आर्थिक वर्षमा पनि नयाँ मूल्यको लागि प्रस्ताव अगाडि बढाइएको बताए ।
अहिले लिमिटेडले ०७० सालमा कायम गरेको महशुल कार्यान्वयन गर्दै आएको छ । ०७० सालमा कायम गरिएको महशुल अनुसार न्युनतम १ सय रुपैयाँ देखि मूल्य शुरु भएको छ । जसमा ढल जडान गरिएका क्षेत्रमा थप ५० प्रतिशत महशुल लाग्ने व्यवस्था गरिएको छ ।
‘खानेपानीको महशुल निर्धारण आयोग छुट्टै छ, हामीले महशुल निर्धारण आयोगमा प्रस्ताव पेश गर्छौं उनले भने, ‘आयोगले त्यसको औचित्यता हेरेर मात्रै महशुल वृद्धि गर्ने काम गर्छ ।’ तर, लिमिटेडले नयाँ व्यवस्था नहुनेबेलासम्म पुरानै महशुल दरमा उपभोक्तालाई पानी उपलब्ध गराउने उनले बताए ।
अहिलेसम्मको अवस्थामा लिमिटेडले दैनिक साढे ११ देखि १२ करोड सम्म पानी वितरण गरेको र केही दिनपछि सो मात्रा १७ करोड पुग्ने प्रवक्ता राइले विकासन्युजलाई बताए । उनका अनुसार १० वटा रिजर्भ ट्यांकी मध्ये ८ वटा सञ्चालनमा आइसकेको छ भने बाँसबारी र किर्तिपुरमा रहेका २ वटा ट्यांकी केही दिनमा सञ्चालनमा आउनेछन् ।
मेलम्चीको पानी थपिएपछि त्यसको सञ्चालनमा स्वभाविक रुपमा खर्च बढ्ने भएकाले मूल्य पनि बढ्ने गरी प्रस्ताव गरिएको प्रवक्ता राईले बताए । उनका अनुसार लिमिटेले पिउने पानीको नयाँ महशुलको प्रस्ताव खानेपानी व्यवस्थापन बोर्डमा पठाएको छ ।
०७० सालदेखि मूल्य समायोजन नभएको हुँदा अब स्वतः रुपमा मूल्य बढ्ने उनले बताए । ‘०७० सालदेखि मुल्यमा समायोजन भएको छैन, सञ्चालन खर्च, पानीको उपलब्धतापछि हुने खर्च, गुणस्तरको मापदण्ड कायम गर्ने खर्च र प्रशासनिक खर्चको कारणले मूल्य बढ्छ’, उनले बताए । मूल्य कतिसम्म बढ्न सक्ने सन्दर्भमा प्रवक्ता राईले प्रस्तावको विषयलाई सार्वजनिक गर्न नमिल्ने भन्दै दोब्बर सम्म हुनसक्ने संकेत गरे ।
खानेपानी व्यवस्थापन बोर्डसँग भएको लिज एग्रिमेन्टमा नै काठमाडौं उपत्यका खानेपानी लिमिटेडले वर्षेनी मूल्य समायोजन गरेर पेश गर्नुपर्ने व्यवस्था भएको प्रवक्ता राईले बताए । सोही अनुसार चालु आर्थिक वर्षमा लिमिटेडले बोर्डमा पेश गर्ने काम गरेको उनल बताए ।