
काठमाडौं । गोर्खा आयुर्वेद कम्पनी र भास्कर हार्वस्यूटिक्लस कम्पनीले उत्पादन गरेको औषधिहरु प्रयोग नगर्न औषधि व्यवस्था विभागले आग्रह गरेको छ । औषधि व्यवस्था विभागले गोर्खा आयुर्वेद कम्पनी र भास्कर हार्वस्यूटिक्लस कम्पनीले उत्पादन गरेको औषधि प्रयोग नगर्न र बजारमा बिक्री वितरण नगर्न निर्देशन दिएको हो ।
विभागले बजार अनुगमन गर्दा गुणस्तर न्यून रहेकाले फिर्ता गर्न निर्देशन दिएको हो । गोर्खा आयुर्वेद कम्पनीको १ सय एमजि भएको २४ नम्बर ब्याचको अविपतिकार चुर्ना औषधि र भास्कर हार्वस्यूटिक्लस कम्पनीको १ सय एमजि एनआरपीए ९००१ ब्याच नम्बर भएको निर्मल औषधि प्रयोग नगर्न विभागले आग्रह गरेको हो ।
अनुगमनको क्रममा संकलन गरिएका आयुर्वेदिक औषधिहरूका नमुना परिक्षणमा भारतको आयुर्वेदिक फार्माकोपिया २०१६ को माइक्रोबियल सीमा पालना नगरेको भेटिएको विभागले जनाएको छ ।
आयुर्वेदिक औषधि न्यून गुणस्तर भएको पाइएकोले औषधि ऐन २०३५ को दफा १४ बमोजिम बिक्री रोक्का गरि बजारबाट तुरुन्त फिर्ता गरी सोको विवरण विभागमा पेश गर्न निर्देशन दिएको हो । साथै उक्त आयुर्वेदिक औषधिहरूको सिफारिस, बिक्री वितरण तथा प्रयोग नगर्न विभागले आग्रह गरेको छ ।
गोर्खा आयुर्वेद कम्पनी गोर्खा छ भने भास्कर हार्वस्यूटिक्लस कम्पनी चोर्नी वीरगन्ज पर्सामा रहेको छ ।