
काठमाडौं । काठमाडौं महानगरपालिकाको चेतवानी पछि विशाल बजार कम्पनीले भवन परिसर सरसफाइ गर्ने भएको छ । महानगरपालिकाको चेतावनी पछि विशाल बजार कम्पनीले भवन परिसर तथा ट्वाइलेटहरुको सरसफाइ गर्न बोलपत्र आह्वान गरेको हो ।
गत मंसिर २१ गते काठमाडौं महानगरपालिकाले सार्वजनिक तथा निजी कार्यालय परिसर सरसफाइ गर्न निर्देशन दिएको थियो । काठमाडौं महानगरपालिकाले महानगरको क्षेत्रभित्र रहेका सार्वजनिक तथा निजी संस्थाको परिसरमा रहेको फोहोर व्यवस्थापन नभएको देखिएमा कारवाही गर्ने चेतवानी दिएको थियो ।
३५ दिनभित्र आफैं व्यवस्थापन गर्नुपर्ने र नियमित सरसफाइ नगरे कानून बमोजिम दण्ड जरिवाना गरिने र फोहोर मैला व्यवस्थापन गर्न लागेको खर्च समेत सम्बन्धित कार्यालयबाटै असुल गरी त्यस्ता कार्यालयको नाम समेत सार्वजनिक गर्ने महानगरपालिकाले जनाएको थियो ।
सोही बमोजिम विशाल बजार कम्पनीले भवन परिसर तथा ट्वाइलेटहरुको सरसफाई कार्य २ वर्षको लागि ठेक्कामा दिने भएको हो । इच्छुक अनुभवी व्यक्ति र रजिष्टर्ड फर्म वा कम्पनीहरुले १५ दिन मासिक दररेट सहित बोलपत्र पेश गर्न आग्रह गरेको हो ।
विशाल बजारको मोटर पार्किङ्ग, ट्वाइलेटहरु, जमीन, पहिलो, दोश्रो, तेश्रो तल्ला र सम्पूर्ण झ्याल, झ्यालका सिसाहरु, छत, कार्यालय, बजारमा भएको इलहरू, रेलिंगहरु लगाएत सम्पूर्ण कम्पनी परिसर स्थानहरुमा सरसफाई गर्नुपर्ने कम्पनीले जनाएको छ ।
कम्पनीले मासिक पारिश्रमिक १ लाख ३० हजार रुपैयाँ (कर समेत) नबढ्ने गरी बोलपत्र पेश गर्नुपर्ने बताएको छ । कुनै संघ र संस्थार कम्प्लेक्समा कम्तीमा १० वर्ष सरसफाई सम्बन्धि कार्य गरेको रजिष्टर्ड फर्म कम्पनीलाई विशेष प्राथमिकता दिइने कम्पनीले जनाएको छ ।