
काठमाडौं । फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालले भृकुटीमण्डपमा औद्योगिक प्रदर्शनी आयोजना गर्ने भएको छ । फुटवेयरले अन्तर्राष्ट्रिय स्तरको औद्योगिक प्रदर्शनी गर्न लागेको हो ।
अन्तर्राष्ट्रिय स्तरको औद्योगिक प्रदर्शनी तीन दिनसम्म सञ्चालन हुने फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालका उपाध्यक्ष सुरज बञ्जाडेले बताए । प्रदर्शनी पुस २१, २२ र २३ गते हुनेछ ।
बञ्जाडेका अनुसार प्रदर्शनीमा विश्व भरि छरिएर रहेका उद्योगहरूबाट उत्पादन भएका जुत्ता चप्पल तथा छाला जन्य बस्तुहरू उपभोक्ताहरूले एउटै छानामुनि अवलोकन तथा छनौट गरी प्रतिस्पर्धी मूल्यमा खरिद गर्ने अवसर प्राप्त हुने छ ।
प्रदर्शनीमा विभिन्न १२ वटा देशका फुटवेयर उद्योगीहरूको सहभागिता हुने आयोजकले जानकारी दिएको छ । प्रदर्शनी विभिन्न ब्राण्डका छाला तथा अन्य चप्पल बनाउने कम्पनीहरूको सहभागितामा हुनेछ ।
प्रदर्शनीमा जुत्ता चप्पलका साथसाथै जुत्ता चप्पल बनाउने मेसिन तथा कच्चा पदार्थहरूको पनि प्रदर्शनी गरिने बताइएको छ । भारतबाट तीन दर्जन भन्दा बढी र चीनबाट करिब एक दर्जन उद्योगी तथा कच्चा पदार्थका उत्पादक कम्पनीहरूको सहभागी हुने बञ्जाडेले बताए ।
नेपालका पनि फुटवेयरसँग सम्बन्धित ठूलादेखि साना सयौं कम्पनीहरूको सहभागिता प्रदर्शनीमा हुनेछ । ‘हामीले पुसमा यो प्रदर्शनीको आयोजना गर्न लागेका हौं, भृकुटीमण्डपमै फुटवेयरको अन्तर्राष्ट्रिय स्तरको औद्योगिक प्रदर्शन हुन्छ, जुन नेपालको लागि फुटवेयरमा पहिलो हो,’ उनले भने ।
होलसेल तथा खुद्राका डिलरहरूलाई लक्षित गर्दै औद्योगिक प्रदर्शनी हुने भएको हो । औद्योगिक प्रदर्शनीमा ५ सय वटा स्टल हुने पनि बञ्जाडेले बताए । आयोजकका अनुसार अनुमानित एक सय ८० वटा फुटवेयरका कम्पनीहरूको उपस्थिति हुने छ ।
आयोजक टिमले ५० औं हजार व्यापारी, उद्योगी तथा फुटवेयरका डिलहरूलाई प्रदर्शनी आव्हान गरिएको छ । ‘यस प्रदर्शनीमा फुटवेयरसँग सम्बन्धी अन्तरक्रिया कार्यक्रम पनि गर्ने छौं, जसले गर्दा प्रविधिको साटासाट तथा फुटवेयरका सामान उत्पादन गर्नमा व्यापारी तथा उद्योगीलाई सहयोग पुग्ने विश्वास लिएका छौं,’ उनले भने । तीन दिने प्रदर्शनीमा लाखौं विदेशी तथा नेपाली नागरिक अवलोकन गर्ने अपेक्षा आयोजकले लिएको छ ।

उद्योगलाई आवश्यक पर्ने सहायक कच्चा पदार्थ उपलब्ध गराउने व्यक्ती र उद्योगी, व्यापारी, नीति नियम बनाउने सरकारी निकाय तथा राजनीतिज्ञ एकै साथ एकै ठाउँमा भेला भई एक अर्काका समस्या सुन्ने र सुनाउने अवसर प्रदान गर्ने साझा मञ्चको रूपमा स्थापित गराउन समेत साे औद्योगिक प्रदर्शनी गर्ने योजना बनाएको बञ्जाडेले बताए ।