काठमाडौं । मंसिर ४ गते सम्पन्न भएको निर्वाचनका बेला खर्च भएको रकम बैंकिङ्ग प्रणालीमा भित्रिन थालेको छ । निर्वाचन सम्पन्न भएपछि बैंकिङ्ग प्रणालीमाम १२ अर्ब रुपैयाँ भित्रिएको नेपाल बैंकर्स संघले जनाएको छ । चुनावको अवधिमा खर्च भएको रकम बैंकमा आउन थालेपछि तरलता सहज हुने बैंकरहरुले अपेक्षा राखेका छन् ।
कात्तिक मसन्तसम्म ४५ खर्ब ६३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका वाणिज्य बैंकहरुले २० दिनको अवधिमा १२ अर्ब रुपैयाँ बढएर मंसिर १६ गतेसम्म ४५ खर्ब ७३ अर्ब रुपैयाँ पुर्याएका हुन् । एक साताको अवधिमा भने १० अर्ब रुपैयाँ निक्षेप बढेको संघको तथ्याङ्कमा उल्लेख छ ।
यसअघि गत मंसिर ९ गतेसम्म बैंकहरुले ४५ खर्ब ६२ अर्ब रुपैयाँ निक्षेप भित्र्याएका थिए । बैंकहरुले कर्जा लगानी भने ठप्प पारेका छन् । २० दिनको अवधिमा बैंकहरुले १ अर्ब रुपैयाँ मात्रै कर्जा लगानी बढाएर ४२ खर्ब २३ अर्ब रुपैयाँ पुर्याएका छन् । यसअघि कात्तिक मसान्तसम्ममा बैंकहरुले ४२ खर्ब २२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
बैंकर्स संघका अनुसार कर्जा–निक्षेप अनुपात ८६.७६ प्रतिशत रहेको छ ।