काठमाडौं । नेपाल उद्योग परिसंघ प्रदेश १ ले विराटनगरमा १० दिने ‘सिएनआई एक्स्पो २०२३’ आयोजना गर्ने भएको छ ।
नेपाल उद्योग परिसंघ प्रदेश १ ले बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै माघ १९ गतेदेखि २८ गतेसम्म हाइड्रो, पर्यटन, स्वास्थ्य, शिक्षा र कृषिसँग सम्बन्धित व्यापार मेला सिएनआई एक्स्पो २०२३ आयोजना गर्न लागेको जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै प्रदेश १ परिसंघका सदस्य गिरिजा सार्दले अन्य एक्स्पो भन्दा सिएनआई एक्स्पो २०२३ फरक ढङ्गले गर्न खोजेको बताए । उनले एक्स्पो कुनै एउटा क्षेत्र मात्रै नभएर धेरै क्षेत्रलाई समेटेर प्रदेश नम्बर समग्रमा ठूलो एक्स्पो आयोजना गर्न लागेको बताए ।
एक्स्पोमार्फत उद्योग परिसंघमा एउटा क्षेत्र मात्र नभई सबै क्षेत्रको सहभागिता रहेको देखाउन खोजिएको उनले जानकारी गराए । उनले एक्स्पोमा भारतीयहरुलाई समेत बोलाउने प्रयास भइरहेको बताए । मेलामा करिब ४ हजार मानिसहरुलाई सहभागिता गराउने उद्देश्य रहेको बताउँदै उनले मेलामा ५० करोड भन्दा बढीको व्यापार हुने अपेक्षा रहेको जानकारी गराए ।
१० दिनसम्म हुने उक्त एक्स्पोमा ३५० वटा स्टलहरु राखिने छ । स्टलहरुमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने आयोजकले जनाएको छ ।