काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा बैंक तथा वित्तीय संस्थाहरुमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंककाे रुपमा नबिललाई आन्तरिक राजश्व विभागले सम्मानित गरेको छ ।
विभागले राष्ट्रिय कर दिवसको अवसर पारेर प्रदान गरेको सम्मान पत्र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले ग्रहण गरेका छन् । बैंकले उक्त आर्थिक वर्षमा दुई अर्ब ७९ करोड रुपैयाँ कर सरकारलाई तिरेको थियो ।
पछिल्लो १० वर्षमा नबिल बैंक वित्तीय संस्थामा उच्च कर भुक्तानी गरेर सम्मानित भएको यो साताैं पटक हो । नबिल हरेक तवरले अग्रणी स्थानमा रहेको बताउँदै सीईओ ढुंगानाले वित्तीय संस्थाहरुमध्ये सबैभन्दा बढी कर दाखिला गरी राज्यको वृद्धि विकासमा टेवा पुर्याउन पाउँदा खुसी लागेको बताए ।
नेपालको निजी क्षेत्रको अग्रणी बैंक नबिलले २०७७/७८ सम्म राज्यलाई १८ अर्ब ३८ करोड रुपैयाँ कर बुझाएको छ । यो भनेको बैंकको तत्कालीन कुल पूँजीको १ दशमलव ३२ गुणा रकम हो ।
नेपालको निजी क्षेत्रको पहिलो बैंक नबिलले आफ्ना लगानीकर्तालाई हालसम्म नगद लाभांश १४ अर्ब ४५ करोड रुपैया तथा १८ अर्ब ८ करोड बराबरको बोनश सेयर वितरण गरिसकेको छ ।