काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले प्रदेशसभाबाट विजयको सुरुआती खाता खोलेको छ । काठमाडौं क्षेत्र नं २ १ मा राप्रपाका सुनिल केसी पाँच हजार पाँच सय ९८ मत ल्याएर विजयी भएका निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत यज्ञराज रेग्मीले जानकारी दिए । उनका प्रतिस्पर्धी सानुकुमार श्रेष्ठले पाँच हजार ७९ मत प्राप्त गरेका छन् । केसीले एक हजार पाँच सय १५ मत अन्तरले विजयी भएका हुन् । प्रदेशसभा ‘२’ को पनि मतगणना भइरहेको छ ।
प्रतिनिधिसभाको गणना जारी
प्रतिनिधिसभातर्फ काठमाडौँ क्षेत्र नं २ को मतगणना जारी छ । अपराह्न ३ बजेसम्म २५ हजार चार सय ४६ मतगना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सोविता गौतम सात हजार एक सय ८७ मतका साथ अग्रस्थानमा छन् । नेकपा एमालेका उम्मेदवार मणिराम फुँयालले पाँच हजार चार सय ९० मत ल्याएर दोस्रो स्थानमा छन् ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार कुन्तादेवी पोखरेलले पाँच हजार ५१ मत ल्याएर तेस्रो स्थानमा छन् । माओवादी केन्द्रका उम्मेदवार ओनसरी घर्तीले चार हजार नौ सय २९ मत प्राप्त गरेका सहायक निर्वाचन अधिकृत रेग्मीले जानकारी दिए । कूल ५२ हजार नौ सय ५७ मत खसेको थियो । सो क्षेत्रमा कूल ८१ हजार नौ सय ७० मतदाता रहेका छन् । रासस