काठमाडौं । आज (आइतबार) भएका प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा बैंकर्सले सक्रिय रुपमा सहभागिता जनाएका छन् । विभिन्न बैंक तथा वित्तिीय क्षेत्रमा काम गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा पूर्व सीईओहरुले चुनावमा सक्रिय रुपमा सहभागिता जनाएर मतदान गरेका छन् ।
आगामी ५ वर्षका लागि प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य छनोटमा आफ्नो अमूल्य मतदान गरेको बैंकरहरुले बताएका छन् । देशको शुसासन र विकासका लागि मतदान गरेको बैंकरहरुको धारणा दिएका छन् ।
यसपटकको निर्वाचनमा अघिल्लो पटकको निर्वाचनमा भन्दा मत खसाल्न सहज भएको उनीहरुको धारणा छ ।
बैंकर तथा नबिल बैंकका पूर्व सीईओ अनिल केशरी शाहले काठमाडौंबाट मतदान गरेका छन् । शाहले काठमाडौं महानगरपालिका वडा नं १ मा रहेको हिटी दरबार क्षेत्रबाट मतदान गरेका हुन् । उनले मतदान गर्दै भनेका छन्, ‘मैले भोट गरेँ, के तपाईंले गर्नुभयो ? तपाइँको भोट तपाइँको अधिकार मात्र होइन यो तपाइँको जिम्मेवारी पनि हो ।’
यस्तै, सिटिजन्स बैंकका सीईओ गणेशराज पोखरेलले पनि आफूले मतदान गरेको बताएका छन् । उनले ललितपुरको भैँसेपाटीमा रहेको जनोदय विद्यालयबाट मतदान गरेका हुन् । उनको क्षेत्रबाट गठबन्धनबाट माओवादी केन्द्रकी नेतृ पम्फा भुसाल, एमालेबाट अमृत खड्का र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. तोसिमा कार्की लगायतले उम्मेदवारी दिएकी छन् ।
विकासन्युसँग प्रतिक्रिया दिदै सीईओ पोखरेललेआफुले मतदानलाई एक किसिमको राष्ट्रिय पर्वका रुपमा लिएको बताउँलै सक्रिय सहभागी भएको बताए । ‘मतदान एक राष्ट्रिय पर्व हो, सबैले मतदान गर्नु पर्छ, उनले भने,‘ हामीले दिएका एक मत र सक्षम युवाले यो मुलुकको भविश्य कोर्ने हो ।’
यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकका सीईओ पृथ्वीबहादुर पाण्डेले पनि काठमाडौंबाट मतदान गरेका छन् ।
यस्तै, राष्ट्रिय वाणिज्य बैंकका सीईओ किरण कुमार श्रेष्ठले पनि मतदान गरेका छन् । उनले ललितपुरको धोबीघाटबाट आफूले निर्वाचनमा मतदान गरेका बताए । उनले देश विकास गर्ने ब्यक्तिलाई मतदान गरेको प्रतिक्रिया दिए । निर्वाचित भइसकेपछि आफ्नो जिम्मेवारी पूर्ण रुपमा निर्वाह गर्न सक्ने क्षमता भएको ब्यक्तिलाई आफूले भोट दिएको उनको धारणा छ ।
यस्तै, नेपाल वित्तीय संस्था संघका अध्यक्ष सरोजकाजी तुलाधरले पनि मतदान गरेको बताएका छन् । उनले काठमाडौंको ८ नम्बर निर्वाचन क्षेत्रको अरुणदोय माबीबाट मतदान गरेको बताए ।
उनले आफुले मतदान गरेको जानकारी सामाजिक सञ्जाल फेसबुकमार्फत् गराउँदै लेखेका छन्, ‘निर्वाचन आयोग भन्छ कुनैपनि परिचय खुल्ने कागज लिएर भोट हाल्न जानु तर निर्वाचन अधिकृतले भने प्यान कार्ड लाई मान्यता नदिएर झण्डै भोट हाल्न पाइएन, धन्न भोट त हालियो, त्यो पनि १२ किलो मीटर हिँडेर, आशा गरौं जनता को अभिमत को इज्जत राखिने छ, हाम्रो भोटको अपमान गरिने छैन, निर्वाचनमा खटिएका सबै कर्मचारीहरुलाई चुस्त व्यवस्थापनका लागी धन्यवाद ।’