काठमाडौं । अर्थतन्त्रमा सुधारको संकेत देखिएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको तीन महिनामा अर्थतन्त्रका केही महत्वपूर्ण सूचकहरु सकारात्मक देखिँदा अर्थतन्त्रमा पनि सुधारको संकेत देखिएको हो । अघिल्लो आर्थिक वर्षमा अर्थतन्त्र ऋणात्मक अवस्था थियो । तर, पछिल्ला केही महिनामा भने त्यो अवस्था संकुचित हुँदै गएको देखिएको छ ।
नेपाल राष्ट्र बैंकले बुधबार सार्वजिक गरेको तथ्यांकका अनुसार अर्थतन्त्र सुधारको गतिमा देखिएको हो । गत वर्षको सुरुवातीमा बाह्य क्षेत्रमा ठूलो दबाब देखिएको थियो । विदेशी मुद्राको सञ्चितिमा ठूलो संकुचन थियो भने रेमिट्यान्समा पनि कमि आएको थियो । शोधान्तर स्थिति पनि ठूलो घाटामा थियो । तर, त्यो अवस्था अहिले कम हुँदै गएको छ ।
तर, मूल्यवृद्धिमा भने निकै वृद्धि भएको छ । २०७९ असोज महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.५० प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०७८ असोज मसान्तमा ४.२४ प्रतिशत रहेको मुद्रास्फीति २०७९ असोजसम्म ८.५० प्रतिशत पुगेको हो ।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८.०५ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.८५ प्रतिशत रहेको छ । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत रेष्टुरेण्ट तथा होटल उपसमूहको वार्षिक बिन्दुगत मुद्रास्फीति १५.९१ प्रतिशत, फलफूलको १२.०६ प्रतिशत, मदिराजन्य पेय पदाथको १०.२४ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको ९.४५ प्रतिशत र सुर्तीजन्य पदार्थको ८.४४ प्रतिशत रहेको छ । २०७९ असोज महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति १३.७३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.८३ प्रतिशत रहेको थियो ।
सोधान्तर स्थिति बचतमा
समीक्षा अवधिमा शोधनान्तर स्थिति १२ अर्ब ४३ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ८७ अर्ब ७१ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ७४ करोड १२ लाखले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ९ करोड १८ लाखले बचतमा रहेको छ । आयातमा केही कमि र रेमिट्यान्स बढ्दा शोधान्तर स्थिति बचतमा देखिएको हो ।
व्यापार घाटामा पनि संकुचन
आर्थिक वर्ष २०७९/८० को तीन महिनामा कुल वस्तु व्यापार घाटा १३.१ प्रतिशतले कमी आई ३५९ अर्ब १८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ५८.३ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १०.४ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १३.६ प्रतिशत रहेको थियो । ज्ञघ। समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी रु.३४ अर्ब ५९ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु.५४ अर्ब १७ करोड बराबरको भएको थियो ।
विदेशी मुद्राको सञ्चिती बढ्यो
चालु आर्थिक वर्षको तीन महिनामा विदेशी मुद्राको सञ्चिति बढेको छ । विदेशी मुद्राको सञ्चिती २.५ प्रतिशतले वृद्धि भई २०७९ असोज मसान्तमा १२ खर्ब ४६ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति थियो ।
अमेरिकी डलरमा भने यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०७९ असोज मसान्तमा ०.६ प्रतिशतले कमी आई ९ अर्ब ४८ करोड कायम भएको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा रु.१०५६ अर्ब ३९ करोड रहेकोमा २०७९ असोज मसान्तमा ४.३ प्रतिशतले वृद्धि भई ११ खर्ब १ अर्ब ६० करोड रुपैयाँ पुगेको छ ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा १ खर्ब ५९ अर्ब ४१ करोड रहेकोमा २०७९ असोज मसान्तमा ९.३ प्रतिशतले कमी आई १ खर्ब ४४ अर्ब ६२ करोड रुपैयाँ रहेको छ । २०७९ असोज मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.८ प्रतिशत रहेको छ ।
रेमिट्यान्समा सुधार
समीक्षा अवधिमा रेमिट्यान्समा पनि सुधार देखिएको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह १६.८ प्रतिशतले वृद्धि भई २ खर्ब ८१ अर्ब ५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७.१ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.९ प्रतिशतले वृद्धि भई २ अर्ब १९ करोड पुगेको छ ।
अघिल्लोवर्ष यस्तो आप्रवाह ७.१ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १२३.१ प्रतिशतले वृद्धि भई १ लाख ४७ हजार ९३२ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६६.२ प्रतिशतले वृद्धि भई ५७ हजार ८६१ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २१९.७ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर १७.१ प्रतिशतले वृद्धि भई ३ खर्ब १० अर्ब ४३ करोड रुपैयाँ प्राप्त भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ७.६ प्रतिशतले घटेको थियो ।
निर्यात घट्यो
अन्य सूचकहरुमा सुधार भएको भएपनि निर्यात भने घटेको छ । आर्थिक वर्ष २०७९/८० को तीन महिनामा कुल वस्तु निर्यात ३५.७ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तीन महिनाको तथ्यांक अनुसार निर्यात ३५.७ प्रतिशतले घटेर ४१ अर्ब ८२ करोड रुपैयाँ कायम भएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १०९.५ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत र चीनतर्फ भएको निर्यात क्रमशः ४५.० प्रतिशत र ३५.० प्रतिशतले कमी आएको छ भने अन्य मुलुकतर्फको निर्यात ५.० प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोर्ड, ऊनी गलंैचा, तयारी पोशाक, चिया लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, पाम तेल, पिना, जुटका सामान, सुन चाँदीका सामान तथा गरगहना लगायतका वस्तुको निर्यात घटेको छ ।
यस्तै, आर्थिक वर्ष २०७९/८० को तीन महिनामा कुल वस्तु आयात १६.२ प्रतिशतले कमी आई ४ खर्ब १ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ६३.७ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १४.८ प्रतिशत, १६.७ प्रतिशत र १९.२ प्रतिशतले कमी आएको छ ।
राष्ट्र बैंकको कारणले सुधार आयो : गभर्नर
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको नीतिका कारण अर्थतन्त्रमा सुधारको संकेत देखिएको बताएका छन् । उनले नेपाल राष्ट्र बैंकको निर्णयकै कारण अर्थतन्त्रमा सुधारको संकेत देखिएको बताएका हुन् ।
‘धेरैले राष्ट्र बैंकको नीतिको विरोध गरे, राष्ट्र बैंकको नीतिलाई अप्रिय नीतिका रुपमा लिए, राष्ट्र बैंकको त्यही अप्रिय निर्णयले नै अहिले अर्थतन्त्रमा सुधार देखिएको छ, चालू आर्थिक वर्षको तीन महिनाको तथ्यांकले सुधार भएको सन्देश दिएको छ,’ उनले भने ।
उनले नेपाल राष्ट्र बैंकले कडाइ नगरेको भए अर्थतन्त्रमा सुधार नआउने दावी गरे । उनले नेपाल राष्ट्र बैंकले ल्याएको नीति अवलम्बन गर्न कतिपय बैंकहरु चुकेको बताउँदै कतिपयले अझै पनि कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) को नीति लागू गरेको भन्दै गाली पनि गरिरहेको धारणा राखे ।