काठमाडौं । पर्यटन उद्योगमा साढे ८ अर्ब बढीको स्वदेशी लगानी थपिएको छ । उद्योग विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिना (गत साउनदेखि असोज मसान्तसम्म) पर्यटन क्षेत्रका ८ उद्योगका लागि ८ अर्ब ६१ करोड ४७ लाख ७१ हजार ९७५ रुपैयाँ बराबरको लगानी प्रस्ताव (थपिएको) हो ।
विभागको तथ्यांक अनुसार सबैभन्दा धेरै लगानी बुढानिलकण्ठ हेरिटेज होटलका लागि थपिएको छ । तथ्यांक अनुसार उक्त होटलका लागि २ अर्ब ४० करोड बराबरको लगानी स्वीकृत भएको छ । काठमाडौं जिल्लाको बुढानिलकण्ठ नगरपालिका १ मा निर्माण उक्त होटलले १५०० किलोवाट क्षमताको विद्युत खपत गर्नेछ भने २२० जनालाई रोजगारी दिई उल्लेख गरेको छ ।
अहिले होटलको बाहिरी भौतिक संरचनाको निर्माण कार्य सकिसकेको छ । साढे ९ तलाको होटलको अहिले वाइरिङ लगायतको काम भइरहेको छ । होटलका प्रबन्ध निर्देशक बाबुकाजी कार्कीले अबको केही महिनामै होटललाई सञ्चालनमा ल्याउने तयारीका साथ काम भइरहेको बताए ।
‘यसअघि नै निर्माण कार्य सक्ने लक्ष्य हो तर, कोरोनाको कारण सिर्जित लकडाउनले काम रोकियो, अबको ६ महिनाभित्रै सञ्चालनमा ल्याउने हाम्रो तयारी छ, अहिले काम धमाधम भइरहेको छ,’ कार्कीले विकासन्युजसँग भने । प्रबन्ध निर्देशक कार्कीका अनुसार होटलमा १०२ कोठा हुनेछन् । १४ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको होटलमा ३ वटा भवन निर्माणाधीन अवस्थामा छन् ।
‘तीन वटा भवन निर्माण भइरहेका छन्, १०२ कोठाहरूमा दुई वटा प्रेसिडेन्सियल, तीन वटा डिलक्स र ९७ वटा इकोनोमी कोठा हुनेछन्, दुई वटा पार्टी भेन्यू हुनेछन्, होटलमा हेल्थ क्लब, स्वीमिङ पुल र चार वटा रेष्टुरेन्ट र तीन वटा क्यासिनो हुनेछन्,’ उनले भने ।
यस्तै, झापाको मेचिनगर १० मा निर्माण हुने होटल ईष्टर्न नेपाल प्रालिले एक अर्ब ६९ करोड ७७ लाख बराबरको होटल निर्माणको स्वीकृृति पाएको छ । उक्त होटलमा ५०० किलोवाट विद्युत प्रयोग गर्नेछ भने १७० जनालाई रोजगारी दिने उल्लेख छ । ९९ बेड क्षमताको होटलमा २५० सिट क्षमताको रेष्टुराँ समेत निर्माण हुनेछ ।
झापाकै मेचीनगरमा होटल आयुष्मानका लागि २ अर्ब ५१ करोड १० लाखको लगानी स्वीकृत भएको छ । ३०० जनालाई रोजगारी दिने उक्त होटलले एक हजार किलोवाट विद्युत प्रयोग गर्नेछ । इन्द्रप्रसाद सुवेदीको लगानी रहेकाे साे हाेटल ९५ बेड क्षमताको रहने र १९० जना क्षमताको रेष्टुराँ समेत हुनेछ । होटलमा ३ सय जनाले रोजगार पाउनेछन् ।
सुनसरीमा निर्माण गर्नेगरी ग्राण्ड सेन्ट्रल होटलका लागि ६० करोड बढीको लगानी स्वीकृत भएको छ । सुनसरीको ईटहरी उपमहानगरपालिकामा निर्माण हुने उक्त होटलले ५०० किलोवाट विद्युत खपत गर्नेछ भने ४० जनालाई रोजगारी दिने उल्लेख छ । एबी होल्डिङ्स नामक कम्पनीले इटहरीको वडा नं ९ मा ग्राण्ड सेन्ट्रल चार तारे होटल निर्माण सुरु गरेको हाे । पूर्वको व्यापारिक केन्द्र इटहरीमा एबी होल्डिङ्सले ६३ कोठा भएको चार तारे होटल निर्माण सुरु गरेको हो ।
५५ करोड लगानीमा कास्कीमा दोर्जेज् फार्म रिसोर्टले लगानीको स्वीकृत पाएको छ । ७० जनालाई रोजगारी र ५०० किलोवाट विद्युत प्रयोग गर्नेछ । यस्तैगरी, तनहुँको बन्दिपुरमा निर्माण हुने बन्दीपुर केवलकार एण्ड टुरीजम लिमिटेडले ८६ करोड ४० लाख बढीको लगानी स्वीकृत पाएको छ । एक हजार विद्युत खपत गर्ने उक्त होटलले १७२ जनालाई रोजगारी दिने उल्लेख गरिएको छ ।
तीन महिनामा ८८ अर्ब लगानी
विभागको तथ्यांक अनुसार तीन महिनाको अवधिमा स्वदेशी तथा विदेशी लगानीका ८८ अर्ब बराबरको लगानी स्वीकृत भएकोे छ । उक्त अवधिमा विभिन्न ८६ उद्योगका लागि ८७ अर्ब ८५ करोड बढीकोे लगानी स्वीकृत भएको हो ।
यस्तैगरी, उक्त अवधिमा १९ विदेशी लगानीका उद्योगमा २ अर्ब २४ करोड बराबरको लगानी प्रस्वात आएको छ । उक्त उद्योगमा १ हजार ४३ जनालाई रोजगारी दिईने प्रस्ताव पेश गरेको उद्योगले जनाएको छ ।
२ अर्ब ३५ करोडको औषधि उद्योग दर्ता
मोरङ र चितवनमा करिब साढे २ अर्ब बराबरको लगानीमा दुई औषधि उद्योग विभागमा दर्ता भएका छन् । विभागको तथ्यांक अनुसार मोरङको कटहरी गाउँपालिका ६ मा १ अर्ब ५० करोड बराबरको लगानीमा जानकी पोलिकेम प्रालि दर्ता भएको छ ।
उत साउनमा विभागमा दर्ता भएको उक्त उद्योगले १४० जनालाई रोजगारी दिनेछ भने एक हजार ६ सय मेटावाग विद्युत खपत गर्नेछ । यस्तैगरी चितवनकोे भरतपुर महानगरपालिका १७ मा उद्योग रहनेगरी जेनेरिका फर्मास्युटिकल्स दर्ता भएको छ । ८५ करोड ५३ लाख १८ हजार बराबरको लगानी रहने उक्त उद्योगले ९४ जनालाई रोजगारी दिनेछन् भने ६२५ किलोवाट विद्युत खपत गर्ने उल्लेख छ ।