सेनाको व्यापारिक भवनमा विवाद, ४० करोड धरौटी जफत

<p>काठमाडौं । नेपाली सेना र व्यापारी खगेन्द्र बुढामगरबीचको द्वन्द्वका कारण सयौं व्यापारीको विचल्ली भएको छ । काठमाण्डौको नयाँ सडक (महांकाल) स्थित सैनिक कल्याणकारी कोषको लगानीमा निर्मित कल्याणकारी भवनको भाडा विवाद अहिले उत्कर्षमा पुगेको छ । त्रिचन्द्र मिलिटरी अस्पतालसँगै सेनाले  बनाएको व्यवसायिक भवनमा श्रीजयन्ती निर्माण सेवा कम्पनीले वार्षिक ४९ करोड ३३ लाख ३३ हजार ३३२ रुपैयाँमा [&hellip;]</p>

काठमाडौं । नेपाली सेना र व्यापारी खगेन्द्र बुढामगरबीचको द्वन्द्वका कारण सयौं व्यापारीको विचल्ली भएको छ । काठमाण्डौको नयाँ सडक (महांकाल) स्थित सैनिक कल्याणकारी कोषको लगानीमा निर्मित कल्याणकारी भवनको भाडा विवाद अहिले उत्कर्षमा पुगेको छ ।

त्रिचन्द्र मिलिटरी अस्पतालसँगै सेनाले  बनाएको व्यवसायिक भवनमा श्रीजयन्ती निर्माण सेवा कम्पनीले वार्षिक ४९ करोड ३३ लाख ३३ हजार ३३२ रुपैयाँमा भाडामा लिएको थियो ।

दुई लाख ८५ हजार वर्गफिट क्षेत्रफल प्रयोग गरेवापत कम्पनीले मासिक चार करोड एघार लाख एघार हजार एकसय एघार रुपैयाँ भाडा बुझाउने सम्झौता भएको थियो ।

सेना र श्रीजयन्ती निर्माण सेवाबीच २०७६ माघ १६ गतेदेखि लागू हुने गरी १५ वर्षको लागि बहाल करार सम्झौता भएको थियो ।

श्रीजयन्ती निर्माण सेवाले सेनालाई नियमित भाडा नबुझाएको भन्दै गत असोज ५ गते बहाल करार सम्झौता अन्त्य गरिएको नेपाली सेनाले जनाएको छ । श्रीजयन्ती निर्माण सेवाको मालिक खगेन्द्र बुढामगर हुन् ।

करार सम्झौता अन्त्य हुनु पूर्व २०७९ साल असोज ५ गतेसम्मको बहाल रकम करिव ४६ करोड सैनिक कल्याणकारी कोषलाई भुक्तानी गर्न बाँकी रहेको नेपाली सेनाका सूचना अधिकारी तथा सहायक रथी नारायण सिलवालले जानकारी दिए ।

करार सम्झौता गर्नुपूर्व कम्पनीले राखेको बैंक ग्यारेन्टबाट उक्त रकम जफत गरिएको सेनाले जनाएको छ । कम्पनीले प्राइम कमर्शियल बैंक, कालिमाटी शाखाबाट ४० करोड रुपैयाँको बैंक ग्यारेन्टी राखेको थियो ।

‘कानुन बमोजिम निजले पेश गरेको कार्य सम्पादन जमानत दावी गरी उक्त रकम मिति २०७९ कार्तिक ३ गते जमानत जारी गर्ने बैंकबाट कोषलाई भुक्तानी गरी सकेको छौ,’ सूचना अधिकारी सिलवालले जानकारी दिए ।

भवन पुरै खाली गर्न सेनाले निर्देशन दिएको छ । सेनाको निर्देशनको खारेजी माग गर्दै श्रीजयन्त्री निर्माण सेवाले उच्च अदालतमा मुद्दा हालेको थियो । तर अदालतले पनि सेनाको पक्षमा फैसला गरेको सहायक रथी सिलवालले बताए । अदालतको निर्णयपछि बैंक ग्यारेन्टी जफत गरिएको उनले बताए ।

विवादै विवाद

त्रिचन्द्र मिलिटरी अस्पताल एक ऐतिहासिक भवन हो । वि.सं. १९८० साल बैशाखमा तत्कालीन श्री ३ चन्द्र शम्शेरबाट प्रदान भएको रु. २६ लाख ८८ हजारको सैनिक समर्थ चन्द्रोदय संस्थाबाट सञ्चालन भएको त्रिचन्द्र मिलिटरीको लामो इतिहास छ ।

वि.सं. २०३२ सालमा सैनिक कल्याणकारी कोष स्थापना भएपश्चात समेत सैनिक कल्याणकारी कोषबाट आफ्ना हिताधिकारीहरुलाई औषधोपचार सुविधा प्रदान गर्दै आएको छ ।

कूल क्षेत्रफल मध्ये ऐतिहासिक त्रिचन्द्र मिलिटरी अस्पतालले ओगटेको ३० हजार वर्ग फिट क्षेत्रफलमा बनेको हेरिटेज भवनमा त्रिचन्द्र मिलिटरी अस्पतालको निरन्तरता कायमै छ ।

विगतमा अस्पतालले चर्चेको क्षेत्रफल बाहेक थप निर्माण भएको २ लाख ८५ हजार वर्ग फिट क्षेत्रफल भाडामा लगाउने र त्यसबाट उठेको रकम सैनिक कल्याणकारी कोषमा जम्मा गर्ने र त्यसले करिव १० लाख भन्दा बढी हिताधिकारीहरुलाई निशुल्क औषधी उपचार सुविधा प्रदान गर्ने लक्ष्य थियो ।

सेनाले यस्तो व्यवसायिक भवन सवै प्रदेशहरुमा निर्माण र सञ्चालन गर्ने लक्ष्य पनि राखेको थियो । तर पहिलो भवन नै विवादमा परेको छ ।

काठमाडौं महानगरबाट नक्सा पास नै नगराईकन ९ तले व्यवसायिक भवनको निर्माण गरेका भन्दै सेनाको शुरु देखि आलोचना भएको थियो । यो भवन भाडामा लगाउने बेलामा पनि ठूलो विवाद भएको जानकारहरु बताउँछन् । २०७४ सालदेखि करिव २ वर्षसम्म भाडा लगाउने विषयमा विवाद रहेको उनीहरु बताउँछन् । सेनाले औसतमा प्रतिवर्गफूट १४४ रुपैयाँमा भवन भाडामा दिएको थियो । जबकी उक्त क्षेत्रका निजी भवनहरुको भाडा प्रतिवर्गफूट २०० रुपैयाँभन्दा माथि रहेको जानकारहरु बताउँछन् ।

तर सेवाले सार्वजनिक टेण्डर मार्फत भाडामा लगाएको त्यसमा कुनै विवाद नभएको सैनिक अधिकारीहरुको दावी छ ।

भवन पुरै भाडामा लगाउन नसेककोले सेनालाई भाडा तिर्न नसकेको जयन्ती निर्माण सेवा प्रालिका कार्यकारी अधिकृत गौतम डंगोल बताए । कोरोना महामारीका कारण भाडामा बसेका व्यवसायीले पनि नियमित भाडा तिर्न नसकेको उनको भनाई छ ।

तर उक्त भवनमा भाडामा बस्ने व्यवसायीहरुले पनि श्री जयन्त्ती निर्माण सेवाले ग्यारेन्टी र अग्रिम भाडा भनेर धेरै रकम अगाडि नै उठाएको बताएका छन् ।

Share News