काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन नेकपा एमालेले नजिते देशले दुर्भाग्य भोग्नुपर्ने बताएका छन् । बुधबार काठमाडौं–१ मा पार्टीका उम्मेदवार किरण पौडेलको प्रचार कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष ओलीले यसपटक नेकपा एमाले बाहेकको राष्ट्रिय शक्ति जनताले बनाउनु नहुने बताए । उनले आगामी निर्वाचनमा नेकपा एमालेलाई देशको राष्ट्रिय शक्ति नबनाए देशले दुर्भाग्य खेप्नुपर्ने उल्लेख गरे । अध्यक्ष ओलीले अहिलेको सत्ता गबठन्धनले नै पुनः देशको नेतृत्व गरेको खण्डमा देशको विकास सम्भव नरहेको जिकिर गरे ।
उनले गठबन्धन सरकार सर्वोच्च अदालतको परमादेशबाट बनेको भन्दै जालीकीर्ते गरेर बनाइएको सरकारले निरन्तरता पाउनु नहुने बताए । ‘सर्वोच्च अदालतले प्रधानमन्त्री बनाउने हो भने संसद र निर्वाचनको अर्थ के हो ?,’ उनले भने ।