काठमाडौं । नेपालको बैंकिङ इतिहासमा पहिलो निजी बैंक हो नबिल । वि.सं. २०४१ सालमा निजी क्षेत्रका लगानीकर्ताहरुको लगानीमा स्थापना भएको नबिल बैंकले ३७ वर्षको इतिहासमा धेरै उतार चढाव र आरोह–अवरोहहरु पार गरेको छ । यो यात्रामा नबिलले व्यवसायिक र सेवाका आधारमा पनि एक सफल वाणिज्य बैंकका रुपमा आफुलाई चिनाएको छ ।
नेपाल अरब बैंकको रूपमा स्थापना भएको नबिल बैंकमा युएईका लगानीकर्ता बाहिरिएपछि उद्योगी विनोद चौधरीको परिवारको बैंकको बहुमत सेयर आफ्नो मातहतमा लियो । हाल यस बैंकमा चौधरी ग्रुपको नै मुख्य लगानी छ । हाल बैंकको अध्यक्षको रुपमा उपेन्द्र प्रसाद पौडेल र प्रमुख कार्यकारी अधिकृत (सीईओ)को रुपमा ज्ञानेन्द्र प्रसाद ढुंगानाले नेतृत्व गरिरहेका छन् ।
वि.स. २०६४ साल साउन ९ गते नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको बैंकको चुक्ता पूँजी २२ अर्ब ८३ करोड २९ लाख रुपैयाँ रहेको छ । नेप्सेमा सोमबार बैंकको सेयर मूल्य प्रतिकित्ता ८३५ रुपैयाँ रहेको छ । दोस्रो बजारमा वाणिज्य बैंकहरुमा नबिल बैंकको सेयर मूल्य सबैभन्दा बढी हो । दोस्रो बजारमा बैंकको सेयर मूल्य एक वर्षको अवधिमा अधिकतम प्रतिकित्ता १ हजार ७४० रुपैयाँ थियो भने न्यूनतम प्रतिकित्ता ७२६ रुपैयाँ थियो ।
बैंकमा संस्थापक समूहको ६० प्रतिशत अर्थात् ५ करोड ५३ लाख ३६ हजार १६३ कित्ता सेयर र सर्वसाधारण समूहको ४० प्रतिशत अर्थात् २८ करोड ३६ लाख ६५ हजार २५१ कित्ता सेयर स्वामित्व रहेको छ । दोस्रो बजारमा लगानी गर्ने लगानीकर्ताका लागि अबको सिजन भनेको लाभांश वितरणको हो । यतिबेला सेयरधनीहरुलाई नेप्सेमा सूचीकृत कम्पनीहरुले धमाधम लाभांश वितरण गर्ने प्रस्ताव गरिरहेका छन् । यही भीडमा लगानीकर्ताले पनि सबैभन्दा बढी रुचाएको बैंकमध्येमा नबिल अग्रणी स्थानमाा पर्छ ।
नेपालको बैंकिङ्ग क्षेत्रमा अब्बल मानिएको नबिल बैंकले सेयरधनीहरुलाई कति लाभांश देला भनेर सबैले चासोका रुपमा हेरिरहेका छन् । बैंकिङ्ग क्षेत्रमा आफूलाई एक नम्बरको दाबी गर्ने नबिल बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरलाई झण्डै ४० प्रतिशत लाभांश वितरण गर्ने क्षमता राखेको छ ।
कुल २२ अर्ब ८३ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार ९ अर्ब १२ करोड रुपैयाँ वितरणयोग्य नाफा छ । सोही आधारमा बैंकले गत आर्थिक वर्ष २०७८/२०७९ को नाफाबाट सेयरधनीहरुलाई ३९.९४ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राखेको हो । यसपटक पनि बैंकले सेयरधनीलाई राम्रो लाभांश वितरण गर्ने क्षमता राखेको भएपनि हालसम्म वितरण गर्ने निर्णय गरेको छैन । बैंकले कति लाभांश वितरण गर्छ भनेर भन्न सकिँदैन । सेयरधनीहरुलाई लाभांश वितरणका हिसाबले नबिल बैंकको इतिहास अब्बल देखिन्छ ।
नबिल बैंकको लाभांश इतिहास
नबिल बैंकले आर्थिक वर्ष २०६०/२०६१ मा ६५ प्रतिशत, आर्थिक वर्ष २०६१/०६२ मा ७० प्रतिशत, आर्थिक वर्ष २०६२/२०६३ मा ८५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०६७/२०६८ मा ३० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । उक्त आर्थिक वर्षमा बैंकले बोनस सेयर वितरण गरेको थिएन ।
यस्तै, बैंकले आर्थिक वर्ष २०६३/२०६४ मा ४० प्रतिशत बोनस सेयर र १ सय प्रतिशत नगद गरी कूल १४० प्रतिशत लाभांश वितरण गरेको थियो ।
यस्तै, आर्थिक वर्ष २०६४/२०६५ मा बैंकले सेयरधनीहरुलाई ४० प्रतिशत बोनस सेयर र ६० प्रतिशत नगद गरी कूल १ सय प्रतिशत लाभांश वितरण गरेको थियो ।
यस्तै, बैंकले आफ्ना सेयरधनीहरुलाई आर्थिक वर्ष २०६५/२०६६ मा ५० प्रतिशत बोनस सेयर र ३५ प्रतिशत नगद गरी कूल ८५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
यस्तै, आर्थिक वर्ष २०६६/२०६७ मा बैंकले आफ्ना सेयरधनीहरुलाई ४० प्रतिशत बोनस सेयर र ३० प्रतिशत नगद गरी कूल ७० प्रतिशत लाभांश वितरण गरेको थियो ।
यस्तै, बैंकले आर्थिक वर्ष २०६८/२०६९ मा सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर र ४० प्रतिशत नगद गरी कूल ६० प्रतिशत लाभांश वितरण गरेको थियो ।
यस्तै, बैंकले आर्थिक वर्ष २०६९/२०७० मा सेयरधनीहरुलाई २५ प्रतिशत बोनस सेयर र ४० प्रतिशत नगद गरी कूल ६५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
यस्तै, बैंकले आर्थिक वर्ष २०७०/२०७१ मा सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर र ४५ प्रतिशत नगद गरी कूल ६५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
यस्तै, बैंकले आर्थिक वर्ष २०७१/२०७२ मा सेयरधनीहरुलाई ३० प्रतिशत बोनस सेयर र ६.८४ प्रतिशत नगद गरी कूल ३६.८४ प्रतिशत लाभांश वितरण गरेको थियो ।
यस्तै, बैंकले आर्थिक वर्ष २०७२/२०७३ मा सेयरधनीहरुलाई ३० प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद गरी कूल ४५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
यस्तै, बैंकले आर्थिक वर्ष २०७३/२०७४ मा सेयरधनीहरुलाई ३० प्रतिशत बोनस सेयर र १८ प्रतिशत नगद गरी कूल ४८ प्रतिशत लाभांश वितरण गरेको थियो ।
यस्तै, बैंकले आर्थिक वर्ष २०७४/२०७५ मा सेयरधनीहरुलाई १२ प्रतिशत बोनस सेयर र २२ प्रतिशत नगद गरी कूल ३४ प्रतिशत लाभांश वितरण गरेको थियो ।
यस्तै, बैंकले आर्थिक वर्ष २०७५/२०७६ मा सेयरधनीहरुलाई १२ प्रतिशत बोनस सेयर र २२ प्रतिशत नगद गरी कूल ३४ प्रतिशत लाभांश वितरण गरेको थियो ।
यस्तै, बैंकले आर्थिक वर्ष २०७६/२०७७ मा सेयरधनीहरुलाई ३३.५ प्रतिशत बोनस सेयर र १.७६ प्रतिशत नगद गरी कूल ३५.२६ प्रतिशत लाभांश वितरण गरेको थियो ।
यस्तै, बैंकले आर्थिक वर्ष २०७७/२०७८ मा सेयरधनीहरुलाई ३३.६ प्रतिशत बोनस सेयर र ४.४४ प्रतिशत नगद गरी कूल ३८ प्रतिशत लाभांश वितरण गरेको थियो ।
तीन महिनामै राम्रो प्रगति
बैंकले चालू आर्थिक वर्षको तीन महिनामा पनि राम्रो प्रगति गरेको छ । यस बैंकले अन्य साना बैंक्ले वर्षभरी गर्ने बिजनेस तीन महिनामौ गरेर देखाएको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको खुद नाफा ४१.३० प्रतिशत बढेर १ अर्ब ५७ करोड १५ लाख ३७ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ११ करोड २२ लाख २३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
चालू आर्थिक वर्षको ३ महिनामा बैंकको खुद ब्याज आम्दानी ६४ प्रतिशत बढेर ३ अर्ब ६७ करोड ७१ लाख ७९ हजार रुपैयाँ आर्जन गरेको छ । बैंकको खुद शुल्क तथा कमिशन आम्दानी ४०.१६ प्रतिशत बढेर ६२ करोड ९४ लाख ६ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ५२.९९ प्रतिशत बढेर ४ अर्ब ४९ करोड ७३ लाख ३८ हजार रुपैयाँ र सञ्चालन मुनाफा ४०.३८ प्रतिशत बढेर २ अर्ब २३ करोड ४ लाख ४६ हजार रुपैयाँ रहेको छ । यस अवधिमा बैंकको वितरण योग्य नाफा २ अर्ब ९१ करोड ६१ लख ७४ हजार रुपैयाँ रहेको छ ।
समिक्षा अवधिमा बैंकको चुक्ता पूँजी २२ अर्ब ८३ करोड २९ लाख रुपैयाँ, जगेडा कोष २.२९ प्रतिशत बढेर ३० अर्ब ४३ करोड ६ लाख ७ हजार रुपैयाँ, निक्षेप २.४१ प्रतिशत बढेर ३ खर्ब ३४ अर्ब ९ करोड ५२ लाख ४० हजार रुपैयाँ र कर्जा १.५४ प्रतिशत बढेर ३ खर्ब ५ अर्ब ६९ करोड ६७ लाख ३९ हजार रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी २७.५३ रुपैयाँ छ । बैंकको मूल्य आम्दानी अनुपात २९.३९ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २३३.२८ रुपैयाँ रहेको छ । बैंकको बेस रेट ९.४५ प्रतिशत, सीडी रेसियो ९०.३७ प्रतिशत र खराब कर्जा २.३३ प्रतिशत रहेको छ ।
मर्जरमा जोड
नबिल बैंकले पनि २ वटा संस्थालाई गाभिसकेको छ । बैंकले नेपाल बङ्गलादेश बैंकसँग २०७९ असार २७ गते र यूनाइटेड फाइनान्ससँग २०७८ असार २७ गते एकीकृत कारोबार गरेको थियो । भविष्यमा पनि बैंकको अन्य उपयुक्त देखिएका बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर तथा प्राप्तिका प्रक्रियामा जाने योजना रहेको नबिल बैंकका डेपुटी सीईओ मनोज ज्ञवाली बताउँछन् । मर्जर तथा एक्विजिशन गर्न सोचे जस्तो सहज नरहेको उनको अनुभव छ ।
‘मर्जर तथा एक्विजिशनका लागि बैंक खुला छ तर सबै कुराहरु मिल्नु पर्याे, मर्जर तथा एक्विजिशन भनेको सजिलो कुरा होइन, एमओयू गरेका संस्थाहरु बीचमा गएर टुटेका छन्, मर्जर एक्विजिशन त्यति सजिलो काम नभएपनि बैंकले मर्जर तथा एक्विजिशनलाई बन्द गरेको छैन, तत्काल त्यसमा हाम्रो प्रोग्रेस भएको वा विशेष जोड दिएको छैन,’ उनले भने ।
सबैको रोजाइ बन्ने रणनीति
नेपाल बङ्गलादेश बैंकलाई एक्वायर गरेको हुनाले त्यसलाई व्यवस्थापन गरिरहेको छ । एक्विजिशनपछि बैंकलाई सिनर्जीमा रुपान्तरण गरिरहेको डीसीईओ ज्ञावलीले बताए । ‘एक्विजिशन पछि बैंकलाई कसरी उत्कृष्ट बनाउने भनेर काम गरिरहेका छौं, त्यो सिनर्जी ल्याउनमा हामीले जोड दिइरहेका छौं,’ उनले भने ।
धेरै संस्थालाई जोडेर ठूलो संस्था बन्ने भन्दा पनि आफैमा स्तरीय बन्ने योजना रहेको उनको भनाइ छ । बैंकले प्रतिस्पर्धा गर्नेभन्दा पनि राम्रो पफर्मेन्स गर्ने रहेको उनले बताए । बैंकलाई दीगो र स्तरीया बनाउने गरी काम गरिरहेको उनको भनाइ छ ।
‘बैंकले प्रतिस्पर्धा गर्नेभन्दा पनि पर्फम गर्ने हो, संस्था जोडेर मात्रै ठूलो हुने भन्दा पनि स्तरीय हुनुपर्छ, संस्थाको सस्टेनेबल ग्रोथ, सस्टेनल डिभिडेण्ड, सस्टेनबेल सब्स्च्युट गर्नका लागि बैंकले काम गरिरहेको छ,’ उनले भने, ‘पहिलो प्राथमिकतामा स्मोथ ट्रान्जेक्सन र स्मोथ कन्सिडेसन हो, दुई वटा बैंक एउटा हुँदा दुई वटा सिस्टम, दुइ प्रकारको पोर्टफोलियोलाई सँगै अगाडि लिएर जाँदा स्मुथ ट्रान्जेक्सन गर्न तीन महिना लाग्यो, अब यसलाई स्मोथ बनाएर यसबाट एक्विजिशनमा सिनर्जी इम्प्याक्ट ल्याएर ओभरल बेटर गरेर जाने भनेर बढी जोड दिएको छ ।’
डीसीईओ ज्ञवाली नबिल बैंक आफैंमा एक नम्बरको बैंक भएको दाबी गर्छन् । बैंकका स्टेक होल्डर, ग्राहक, नियामकको नजरमा पहिलो नजरमा नबिल बैंक पर्ने गरेको उनको भनाइ छ । नबिललाई नम्बर वान बनाउने भन्दा पनि अहिले कायम रहेको पोजिशन कायम राख्ने ठूलो चुनौती रहेको उनले बताए ।
‘सेयरधनीहरुको रोजाइमा नम्बर वान नबिल बैंक नै छ, बैंकिङ इन्ड्रस्टीमा काम गर्न चाहनेहरुको पनि पहिलो रोजाइ नबिल बैंक नै छ, नियामकको पनि पहिलो नजरमा नबिल बैंक, प्रतिफल धेरै दिनेमा नबिल बैंक, स्टेकहोल्डरमा कन्फिडेन्स र ट्रस्ट बढी भएको बैंकमा नबिल हो,’ उनले भने, ‘बाँकी अन्य सूचकहरु तलमाथि भइरहन्छन्, नम्बरको पछाडि भन्दा पनि स्टेकहोल्डरको कन्फिडेन्सको हिसावले अब्बल संस्था बनाउन बैंकले जोड दिएको छ, २०/२५ वटा संस्था आपसमा जोडेर ठूलो हुनु भन्दा पनि क्वालिटिको एउटा संस्था बनाउने हाम्रो जोड हो ।’
प्रतिस्पर्धी कुन बैंक ?
बजारमा आफूलाई ठूलो बैंक दाबी गर्नका लागि अस्वस्थ प्रतिस्पर्धा भइरहेको डीसीईओ ज्ञवालीले बताए । कुनै समयमा नम्बर वान भनिएका बैंक अहिले कमजोर अवस्थामा रहेकाले प्रतिस्पर्धाका नाममा अस्वस्थ बैंकिङ्ग भइरहेको उनले बताए ।
‘प्रतिस्पर्धा गर्नलाई यो कुनै रमजनीतिक दल होइन, एउटाले गोल्ड मेडल र अर्काेले सिल्भर मेडल लिन,स्ट्याण्डर्ड चार्टर्ड बैंक कसको प्रतिस्पर्धी ? कुनै बेलामा त्यत्रो पोर्टफोलियो भएको बैंक आज १२/१३ वटा शाखामा चलिरहेको छ, प्रतिस्पर्धा भन्ने कुरा नै गलत हो, प्रतिस्पर्धी भनेर धेरै कुराहरु बिगारेको छ, ग्राहक तानेको छ, एउटाको निक्षेप अर्काेले तानेको छ, अर्काले कर्जा तानेको छ, अर्काले कर्मचारी तानेको छ,’ उनले भने, ‘यसरी हामी सिस्टममा कहिल्यै पनि भ्याल्युएड गर्दैनौं, हामी सबै सिस्टमको खेलाडी हो, मार्केटमा भएपछि फेयर कम्पिटिसन हुन्छ नै ।’
‘नबिल बैंकको प्रतिस्पर्धी नबिल बैंकको आफ्नै सिस्टम, आफ्नै प्रगति हो, नबिल बैंक हिजो भन्दा आज बेटर, आज भन्दा भोलि बेटर हुने हो, आज जुन इमेज छ, त्यो इमेजलाई कायम राख्ने हो, सगरमाथाको चुचुरोमा पुग्न सजिलो छ तर त्यहाँ बसिराख्न गाह्रो छ, हामी अहिल्यै नै सबै सूचकमा टप छौं, त्यो पोजिसन मेन्टेन गर्नका लागि कति गाह्रो हुन्छ भन्ने थाहा छ, आजका दिनमा हामीलाई चुनौती भनेको जुन पोजिशनमा छौं त्यो मेन्टेन गरिराख्ने हो, अरु कुनै बैंक कहाँ पुग्यो भन्ने कुरा खासै हेर्दैनौं,’ उनले भने ।