काठमाडौं । पछिल्लो दुई महिनामा मूल्यवृद्धि अत्यधिक बढेको छ । एक वर्षको अवधिमा मुल्य वृद्धि बढेर ८.६४ प्रतिशत पुगेको हो । यसअघि गत वर्षको भदौ मसान्तससम्म ३.४९ प्रतिशत मुल्यवृद्धि रहेकोमा बढेर ८.६४ प्रतिशत पुगेको हो ।
राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को दुई महिनाको तथ्याङ्क अनुसार २०७९ भदौ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति (मुल्यवृद्धि) ८.६४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.४९ प्रतिशत रहेको थियो ।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८.१७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ९.०२ प्रतिशत रहेको छ । यस्तै, २०७८ भदौको तुलनामा २०७९ भदौमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत फलफूल १७.२९ प्रतिशत, घ्यू तथा तेल १४.५३ प्रतिशत, रेष्टुरेण्ट तथा होटल १२.३० प्रतिशत, मदिराजन्य पेय पदार्थ १०.२४ प्रतिशत र तरकारी उपसमूहको मूल्यवृद्धि ९.९४ प्रतिशत रहेको थियो ।
समीक्षा महिनामा गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात २३.४१ प्रतिशत, स्वास्थ्य १०.५४ प्रतिशत, फर्निसिङ्ग तथा घरायसी उपकरणहरु ९.२५ प्रतिशत, शिक्षा ८.११ प्रतिशत र घरायसी उपयोगका वस्तुहरु उपसमूहको मुद्रास्फीति ७.६९ प्रतिशत पुगेको छ ।
काठमाडौं उपत्यकामा ७.६२ प्रतिशत, तराईमा ९.३३ प्रतिशत, पहाडमा ८.८२ प्रतिशत र हिमालमा ६.६८ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७८ भदौ महिनामा उपत्यकामा ३.२३ प्रतिशत, तराईमा ३.६५ प्रतिशत, पहाडमा ३.९६ प्रतिशत र हिमालमा ३.५१ प्रतिशत मुद्रास्फीति रहेको थियो ।
२०७९ भदौमहिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति १४.०० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.११ प्रतिशत रहेको थियो । समीक्षा महिनामा उपभोग्य वस्तु १२.९१ प्रतिशत, मध्यवर्ती वस्तु १५.९३ प्रतिशत र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि ६.३६ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि १९.३६ प्रतिशत रहेको छ ।
२०७९ भदौमहिनामा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.६४ प्रतिशत रहेको छ । सन् २०२२ सेप्टेम्बर महिनामा भारतको यस्तो मुद्रास्फीति ७.४१ प्रतिशत रहेको छ ।