काठमाडाैं । निर्वाचन आयोगले सरकार र मातहतका निकायले विभिन्न कामको अनुमतिका लागि दिएको तीन सयभन्दा बढि निवेदन रोकिदिएको छ । निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सरकारले निर्वाचन आचारसंहिता विपरित हुने खालका काममा अनुमति पाउँ भनि दिएको निवेदनहरु रोकिदिएको बताएका हुन् ।
बिहीबार अपरान्ह न्यूज एजेन्सी नेपालसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले कर्मचारी सरुवा, बढुवा, नयाँ नियुक्ती, नयाँ भवन शिलान्याश, उद्घाटन, अनावरणलगायतका विषयमा सरकार र मातहतका निकायले दिएको निवेदन निर्वाचन आचारसंहिता विपरित भएकाले त्यस्ता खालको काममा अनुमती नदिइएको बताए ।
तर आयोगले अत्यावश्यक सेवाका लागि परेको करिव १५३ वटा निवेदनमाथि अध्ययन गरी सो कार्य अघि बढाउन अनुमति दिइएको जनाएको छ ।
निर्वाचन आयुक्त भण्डारीले देशको प्रतिनिधित्व गरेर बाहिर मुलुकमा जानुपर्ने विषय, अत्यावश्यक स्वास्थ्य, सरसफाईलगायतका कार्यक्रम अघि बढाउन दिइएको निवेदन भने स्विकृत गर्दै अघि बढाउन अनुमति दिइएको बताए ।
निर्वाचन आयोगले निर्वाचन आचारसंहितामा असर पर्ने कुनै पनि कामलाई अघि बढाउन अनुमति दिन नसकिनेतर्फ सरकारलाई सचेत गराउँदै आएको छ ।