सिन्धुली । सिन्धुलीको सदरमुकाम सिन्धुलमाढीको बसपार्क अगाडि मधुटार जाने बाटो छ । बाटो छेउमा लामै लाइन देखिन्छ, जुत्ता–चप्पल बनाउनेहरूको । लाइनभित्रै भेटिन्छन्, महोत्तरीको गौशाला नगरपालिका–११ कालिपुलका नथुनी राम ४३ वर्ष ।
जुत्ता–चप्पलको तलुवा फेर्नु, फाटेको टल्काउनु, च्यातिएको सिउनु र चुडिएको जोड्नु उनको पेसा हो । यो पेसाले उनलाई दाम दिएको छ । दामले जसोतसो जीविका चल्दैछ । दैनिक जीविका चलाउन रहर जलाउनुको विकल्प छैन । यसरी जुत्ता सिएरै दुई दशक बितिसकेको उनी बताउँछन् ।
हजुरबाले गर्दै आएको कामलाई बुवाले निरन्तरता दिए । रोगले थलिएर उमेरमै बुवाको मृत्यु भएपछि जेठो सन्तानका रुपमा जन्मेका नथुनीलाई नौ जनाको परिवार पाल्ने जिम्मेवारी थपियो । आर्थिक अभावका कारण पढ्लेख गर्न नपाएका उनी सानै उमेरमा बुवाले गर्दै आएको पेसा अँगाल्न बाध्य भए ।
यो पेसा सुरु गर्दा उनी १६ वर्षे ठिटो थिए । हप्ताको एकपटक सरकारी कर्मचारीले लगाउने छालाका जुत्ता टल्काउन सिन्धुलीमाढी आए । महोत्तरीबाट २० रुपैयाँ गाडी भाडा तिरेर माढीबजार आएको उनलाई हिजोजस्तो लाग्छ । त्यो बेलाको सिन्धुली सम्झिँदा अहिले सपनाजस्तो लाग्ने उनले बताए ।
उनका अनुसार पछिल्लो समय जिल्लामा आमूल परिवर्तन आएको छ । त्यतिबेला यहाँ काठका घर पातला थिए । अहिलेको फोस्रेटार, धुराबजार, मधुटार, गैरीबजार, ढुङ्ग्रेबासमा घना जङ्गल थियो । बसपार्कमा एउटा मात्र काउन्टर थियो । दैनिक दुई–चारवटा मात्र बस चल्थे ।
समय सधैँ कहाँ एकैनास हुने रहेछ र ? आफ्नो केश फुल्न थाले । माढीबजारको रङ बदलियोे । काठका घर विस्थापित भए । सिमेन्टका ठूला–ठूला घरहरु बन्दै गए । जङ्गल गाउँ हुँदै सहरमा परिर्वतन भयो । सवारीसाधनको चाप बढ्यो । काउन्टर थपिँदै गए । पार्कले थेग्नै छोडिसक्यो । चहलपहल बढ्दै गयो । गाँस, बास, कपासलगायतका उपभोग्य सामग्रीको मूल्य आकाशियो । समय पूरै परिर्वतन भयो । उनी भन्छन्, ‘तर हाम्रा दुःख ज्यूँका त्यूँ छन् । मेहेनत र सङघर्षले विश्राम लिएको छैन । थकानले विश्राम पाउँदैन ।’
आधुनिक प्रविधिको जमानामा पनि उनको काम गर्ने शैली पुरानै छ । जीवन भोगाइमा पृथकता आउन सकेको छैन । उनले आफ्नो जीवनशैली परिर्वतन गर्न नचाहेको पनि होइन । आर्थिक अवस्था कमजोर भएपछि रहर एकातिर आफ्नो बाध्यता अर्कोतर्फ हुने बताए । ‘मेरो छोरो र भाइहरु सबैले यस्तै काम गर्छन्, जागिर गर्न पढेका छैनन्, बुवाआमाले मलाई पढाउन सक्नुभएन, मैले छोराछोरीलाई पढाउन सकिनँ’, उनले भने ।
जुत्ता, चप्पल सिलाएर कमाएको पैसाले अत्यावश्यक गाँस, बास र कपास पु¥याउनै धौधौ हुने उनको भनाइ छ । ‘कोठाभाडा, बिजुली बत्ती र पानीको लागि महिनैपिच्छे पाँच हजार छुट्याउनु पर्छ । पाँच जनाको परिवारलाई चामल, तरकारी, नुनतेल, लुगाफाटो, चाडबाडमा पाहुनाको सत्कारमा खर्च ठूलो छ । कमाई महिनामा १०–१५ हजार पनि हुँदैन’, उनले सुनाए ।
नथुनीको भाइ राजकुमार राम वर्ष ३९ को कथा दाइको भन्दा कम छैन । सानो उमेरमा आर्थिक अभावका कारण ठूलो दबाबमा परे । दाइको कमाइले बिरामी आमाको उपचार गर्न खर्च पुगेन । मजदुरी गर्न भारत गए । लेखपढ नभएको उनलाई चाहेको जस्तो काम मिलेन । बल्लतल्ल मिलेको काम पढलेख नभएकै कारण गर्न सकेनन् । भारतमा टिक्न गाह्रो भयो । जुत्ता, चप्पल बनाउन, सिलाउन, तलुवा लगाउनलगायतको जो अहिले गरिरहेको सीप सिकेर गर्ने निर्णयमा पुगे । सीप सिक्ने तालिम लिन पैसा थिएन । अरुले काम गरिरहेको ठाउँमा गएर हेरेकै भरमा सबै सीप जानेको उनले बताए ।
राजकुमारसँग नयाँ जुत्ता, चप्पल बनाउने कला पनि छ । मागअनुसार जस्तो भन्यो त्यस्तै बनाइदिन सक्ने सीप आफूसँग भएको उनले सुनाए । यसका लागि स्रोत र साधन जुटाउन नसकेको उनको भनाइ छ । ‘कोठा लिएर पसल खोल्नसमेत नसकेर धुँलोधुवा, उखरमाउलो गर्मी, झरी, हावाहुरी सबै सहेर दैनिकी सडकमै बताउनुपरेको छ’, उनले भने, ‘पसल खोल्न पैसा छैन । बिनाधितो बैंकले ऋण दिँदैन । धितो राख्न जमिन छैन, सीप भएर के गर्नु ‘ उनले दुःखेसो पोखे ।
जुत्ता चप्पल सिलाउँदा–सिलाउँदै रोगले थला परेका बुवाको उपचार गर्दा ऋण लाग्यो, बाँच्नु भएन । आमाको पनि दुःखद् निधन भयो । एक जना दाइले जुत्ता सिलाएको कमाइले पेटभरि खानै पुग्थेन । पढ्न जान कपी नै हुँदैन थियो उनले विगतलाई सम्झिँदै भने, ‘नपढेता पनि सीप सिकेको छु । यही सीपले चार जनाको परिवार पालेको छु । कहिलेकाहीँ कमाइ नै हुँदैन । व्यवहार टार्न मुस्किल पर्छ । बाँकी दिनमा एक सयदेखि एक हजारसम्म कमाइ हुन्छ ।’
यही पैसाले छोराछोरीलाई सरकारी स्कुलमा पढाएको समेत उनले सुनाए । विदेशमा मजदुरी गर्नुभन्दा यसैमा खुसी मिलेको उनले बताए । जुत्ता, चप्पलको उद्योग चलाउन स्थानीय सरकारको ढोका पटकपटक ढकढकाउँदा समेत केही सयोग लिन नसकेको उनको गुनासो छ । मेसिनलगायतका आवश्यक सामान किन्न तीन लाख रुपैयाँ मात्र ऋण पाएको भए यसैबाट कमाइ हुन्थ्यो र तिर्थे भन्ने उनलाई लागेको छ ।
नथुनी र राजकुमारको जस्तै महोत्तरीको औरही नगरपालिका–६ बैरियाका विन्देश्वर राम ४२ वर्ष को तीन पुस्ताको जिउने आधार यही पेसा भएको छ । वैदेशिक रोजगारीका क्रममा कतार र मलेसिया पाँच वर्ष विताएर आफ्नो देश फर्किएका उनले बुवाले गर्दै आएका पेसालाई निरन्तरता दिएका हुन् ।
छोरा सञ्जय राम १७ वर्ष र भतिजा विजय राम २८ वर्ष पनि यतै जुत्ता सिलाउने काम गर्दछन् । बुवा दुखा राम ७० वर्ष अझैसम्म यही काम गरिरहेकाे उनले बताए । ‘आफू त नपढेर दुख पाए, छोराले पढेर जागिर गरोस् भनेर पढाउने धेरै कोशिस गरें, पढेन । यो पेसामा पहिलोको जसरी कमाइ हुन छोड्यो, अब नागरिकता बनाएर विदेश पठाईदिन्छु,’ उनले भने ।
चार छोरी र दुई छोराका बाबु बताउने विन्देश्वर दुई छोरीको बिहे गरिदिएको र बाँकी रहेका छोराछोरी, घर परिवारको खर्च बाबुछोराको कमाइले धानेको बताउँछन् । सम्पत्तिको नाममा बुवाको नाममा दुई कठ्ठा जमिन छ । उनको दुई दाजुभाइले बुवाको त्यही जमिनमा छुट्टाछुट्टै घर बनाएर यही पेसा गरेर परिवार पालेका छन् ।
सिन्धुलीमाढीमा महोत्तरीका मात्रै १५ जनाभन्दा बढी छन् । उनीहरु सबैको आर्थिक अवस्था नाजुक छ । जुत्ता, चप्पल सिलाउनका लागि चाहिने सामान्य सामान पनि सिन्धुलीमा पाइँदैन । जनकपुर, काठमाडौँ या त भारतका बजारमा लिन जानु पर्छ । स्थानीय सरकारर्ले बस्ने ठाउँको उचित व्यवस्थापन गर्नेतर्फ चासो राखेको छैन । कर भने हरेक हप्ताकाे शनिबार ५० रुपैंयाका दरले लिने गरेको महोत्तरीको औरही नगरपालिका–६ बैरियाका नागेन्द्र रामले ३७ वर्ष बताए ।
यसैगरी, सार्वजनिक शौचालय प्रयोग गरेवापत प्रत्येक दिन प्रतिव्यक्ति बीस रुपैयाँ तिर्नु पर्ने उनले जानकारी दिए । सरकारले जीविका धान्नको लागि सडकमा बसेर जुत्ता, चप्पल सिलाउने व्यवसायीहरुको सीपलाई सम्मान नगरेको उनको भनाइ छ । यो र यस्तै सीपलाई व्यवस्थापन, संरक्षण, प्रवद्र्धन गर्न सके स्थानीय स्तरका धेरै युवाहरुले रोजगारी पाउने उनको धारणा छ । यसतर्फ कसैको ध्यान जान नसकेको उनले बताए ।
नागेन्द्रले सिन्धुलीमा यसरी जुत्ता सिलाउँदै आएको २६ वर्ष वित्यो । परिवारको दैनिक खर्च टार्नका लागि जुत्ता, चप्पल मर्मत गर्न थालेको बताउँदै उनले भने, ‘खेतवारी छैन, पेट पाल्नका लागि जसरी भएपनि कमाउनै पर्याे ।’
उनी जुत्ता मर्मत गरेर दैनिक चार सयदेखि एक हजार रुपैंयासम्म कमाउँछन् । त्यही कमाइले कोठाभाडा तिर्न, खानेकुरा जुटान, लुगा लगाउन, छोराछोरी पढाउन, बिरामी हुँदा औषधि, उपचार गर्नलगायतको लागि खर्च पु¥याउनु पर्ने उनले बताए । जुत्ता, चप्पल सिलाउने सियोदेखि आवश्यक कच्चा पदार्थसम्म बाहिरबाट महँगो मूल्य तिरेर ल्याउनुपर्ने र सेवाग्राहीले यसको मर्म नबुझिदिने उनकाे गुनासो छ ।
यो रामहरुको पुर्ख्याैली पेसा नै हो । आर्थिक र व्यावसायिक तालिमको अभावमा उनीहरुको पेसाले सम्मान पाउन सकेको छैन । उनीहरुको सीपलाई संरक्षण तथा प्रद्रवधन गरी व्यावसायिक रुपमा अगाडि बढाउन सके थप रोजगारीको सिर्जना हुने थियो । साथै, आम्दानी बढ्ने हुँदा उनीहरुको दैनिक जीविकामा सहयोग पुग्ने व्यवसायीहरु बताउँछन् । रासस