ग्लोबलको ‘कम्प्रमाइज नेचर’ : १६ वर्षमै ठूलो बैंक, मर्जरपश्चात् प्रतिस्पर्धी परिवर्तन

<p>काठमाडौं । ‘मर्जर किङ’ भन्ने वित्तीकै सबैको दिमागमा एउटा नाम आउँछ ‘ग्लोबल आइएमई बैंक’ । ग्लोबल आइएमई बैंक बैंकिङ्ग क्षेत्रमा एउटा लिडिङ ब्राण्ड नै बनिसकेको छ । बैंकिङ क्षेत्रलाई बुझ्ने र चासो राख्ने जोसुकैले पनि ग्लोबल आइएमई बैंकलाई ‘मर्जर किङ’ कै रुपमा चिन्छन् । सबैभन्दा बढी बैंक तथा वित्तीय क्षेत्रलाई मर्जर तथा प्राप्ति गरेको यस [&hellip;]</p>

काठमाडौं । ‘मर्जर किङ’ भन्ने वित्तीकै सबैको दिमागमा एउटा नाम आउँछ ‘ग्लोबल आइएमई बैंक’ । ग्लोबल आइएमई बैंक बैंकिङ्ग क्षेत्रमा एउटा लिडिङ ब्राण्ड नै बनिसकेको छ । बैंकिङ क्षेत्रलाई बुझ्ने र चासो राख्ने जोसुकैले पनि ग्लोबल आइएमई बैंकलाई ‘मर्जर किङ’ कै रुपमा चिन्छन् । सबैभन्दा बढी बैंक तथा वित्तीय क्षेत्रलाई मर्जर तथा प्राप्ति गरेको यस बैंकले जति बैंक तथा वित्तीय संस्थालाई गाभेको छ अन्य बैंकहरुले त्यति धेरै गाभेका छैनन् ।

ग्लोबल आइएमई बैंकले हालसम्म १८ वटा बैंक तथा वित्तीय संस्थालाई मर्जर तथा प्राप्ति गरेको छ । बैंकले हालसम्म ३ वटा वाािण्ज्य बैंक, १० वटा विकास बैंक र ५ वटा फाइनान्स कम्पनी गरी कूल १८ वटा वित्तीय संस्थासँग मर्जर गरिसकेको छ ।

सबैभन्दा पहिला ग्लाेवल बैंक लिमिटेड र आइएमई फाइनान्सियल इन्स्टिच्यूशन मर्ज भएर ग्लोबल आईएमई बैंक बनेको थियो । त्यसपछि ग्लोबल बैंक र कमर्स एण्ड ट्रष्ट बैंकबीच मर्ज भएका थिए ।

मर्जकाे बेगमा गुल्मी विकास बैंक, सोसल डेभलपमेन्ट बैंक, रिलायवल डेभलपमेन्ट बैंक, प्यासिफिक डेभलपमेन्ट बैंक, कन्जुमर डेभलपमेन्ट बैंक, त्रिवेणी विकास बैंकसँग मर्जर गरिसकेको छ । यस्तै, बैंकले ड्राइ डेभलपमेन्ट, ब्राइट डेभलपमेन्ट, पब्लिक डेभलपमेन्ट र सिद्धार्थ डेभलपमेन्ट ग्लोबल आइएमई बैंकमा समाहित हुन पुगे ।

यस्तै, आइएमई फाइनान्स, लर्ड बुद्ध फाइनान्स, हाथ वे फाइनान्स, शुभलक्ष्मी फाइनान्स र नेपाल आवास फाइनान्ससँग पनि मर्जर तथा एक्विीजिशन क्रममा ग्लोबल आइएमई बैंक समाहित भए । बैंकले २०६९ असार २५ गते लर्ड बुद्ध फाइनान्स र आइएमई फाइनान्सियल संस्थासँग मर्जर गरी एकीकृत कारोबार गरेको थियो । यस्तै, कमर्स एण्ड ट्रष्ट बैंकसँग २०७० चैत २६ गते, सोसियल डेभलपमेन्ट बैंक र गुल्मी विकास बैंकसँग २०७० असार ३० गते मर्जर गरेको थियो ।

यस्तै, २०७३ फागुन १ गते प्यासिफिक डेभलपमेन्ट बैंक, २०७४ असार २५ गते रिलायबल डेभलपमेन्ट बैंक र २०७६ भदौ १८ गते हाथवे फाइनान्सलाई प्राप्ति गरी एकीकृत कारोबार गरेको थियो । पछिल्लो पटक भने बैंकले जनता बैंकसँग २०७६ पौष ४ गते एकीकृत कारोबार गरेको थियो । जुन वाणिज्य बैंकहरुमा बिग मर्जरको संज्ञा दिइएको थियो ।

बजार हिस्सा बढ्दै

अन्य बैंक तथा वित्तीय संस्थाहरुले मर्जर गरेर टक्कर दिन थालेपछि ग्लोबल आइएमई बैंकले गत असार २ गते बैंक अफ काठमाण्डूसँग मर्जर सम्झौता गरेको छ । बिओकेले लुम्बिनी बैंकसँग मर्जर गरी २०७३ असार ३० गते एकीकृत कारोबार गरेको थियो ।

मर्जर पश्चात् २१ वटा संस्था मिलेर एउटा संस्था बन्ने बैंकका सिनियर डेपुटी सीईओ महेश शर्मा ढकालले बताए । बिओकेसँग सफलतापूर्वक मर्जर सम्पन्न भएपश्चात् २१ वटा संस्था मिलेर एउटा संस्था बन्ने उनको भनाइ छ ।

हाल वाणिज्य बैंकहरुको चुक्ता पूँजी साढे ३ खर्ब रुपैयाँ छ । ग्लोबल आइएमई बैंकको बजार पूँजी हिस्सा साढे ६ प्रतिशत रहेको छ । गत असार मसान्तसम्ममा बैंकको चुक्ता पूँजी २३ अर्ब ७९ करोड ५७ लाख रुपैयाँ छ । जुन ६.६८ प्रतिशत बजार हिस्सा हो ।

बैंक अफ काठमाण्डूसँग मर्जर प्रक्रियामा रहेकाले बैंकको बजार हिस्सा अझै बढ्ने देखिन्छ । बैंक अफ काठमाण्डूको चुक्ता पूँजी १० अर्ब ६२ करोड ४० लाख रुपैयाँ रहेको छ । ग्लोबल आइएमईसँग मर्जरपश्चात् बैंकको पूँजी ३४ अर्ब ४१ करोड रुपैयाँ पुग्नेछ । जुन बजार हिस्सा ९.६६ प्रतिशत पुग्नेछ । जुन बैंकिङ्ग क्षेत्रमा सबैभन्दा धेरै हो ।

बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ५ अर्ब २० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकको निक्षेप संकलन २ खर्ब ७७ अर्ब रुपैयाँ रहेको छ भने कर्जा लगानी २ खर्ब ५८ अर्ब रुपैयाँ पुगेको छ । बैंकको जगेडा कोषमा मात्रै १३ अर्ब ३५ करोड रुपैयाँ छ । बैंकको खुद ब्याज आम्दानी १० अर्ब ७४ करोड रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा १.२२ प्रतिशत रहेको छ ।

बैंकको १६ वर्ष इतिहास

डेढ दशक लामो इतिहास बोकेको ग्लोबल आइएमई बैंक वि.स. २०६३ सालमा स्थापना हो । बैंकले वि.स.२०६३ पौष १६ गते नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्ने इजाजत प्राप्त गरेको थियो भने पौष १८ गते देखि ‘क’ वर्गको वाणिज्य बैंकको इजाजतपत्र प्राप्त संस्थाको रुपमा वित्तीय कारोबार सञ्चालन गरेको थियो ।

‘२०६३ सालमा दर्ता हुँदा क्षेत्रीय स्तरको बैंकको रुपमा स्थापना भएको हो । तर, संचालनमा आउँदा केन्द्रिय स्तरको बैंक भइसकेको थियो । राष्ट्र बैंकको प्रक्रिया पुर्याउँदासम्म वाणिज्य बैंकका रुपमा काठमाडौंबाट संचालनमा आएको हो, दर्ता गर्ने प्रक्रिया हुँदा हुँदै पूँजी बढ्यो, दर्ता क्षेत्रीय स्तरमा भयो संचालन केन्द्रिय स्तरमा भयो,’डीसीईओ ढकालले भने ।

बैंकको सञ्जाल

मुलुकका ७७ जिल्लाका ग्राहकलाई सेवा प्रदान गरिरहेको यस बैंकले विदेशमा पनि सेवा दिइरहेको छ । देशभरि २९० शाखा, २७३ एटीएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर र ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८९० भन्दा बढि सेवा केन्द्रबाट ३० लाख भन्दा बढि ग्राहकहरू लाई सेवा प्रदान गरिरहेको छ ।

बैंकका अध्यक्ष ढकाल र सीईओ बज्राचार्य ।

बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

बैंकमा संस्थापक सेयरधनीको ५७.७६ प्रतिशत सेयर स्वामित्व छ भने बाँकी ४२.२४ प्रतिशत सेयर स्वामित्व सर्वसाधारण सेयरधनीहरुको रहेको छ । बैंकलाई अध्यक्ष चन्द्र ढकाल र प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले नेतृत्व गरिरहेका छन् ।

बैंकको लाभांश इतिहास

गत वर्षको नाफाबाट बैंकले सेयरधनीहरलाई झण्डै साढे १३ प्रतिशतसम्म लाभांश वितरण गर्ने क्षमता राखेको छ । बैंकको वितरणयोग्य नाफा ३ अर्ब १९ करोड रुपैयाँ रहेको छ । चुक्ता पूँजी र वितरणयोग्य नाफाका आधारमा बैंकले गत आर्थिक वर्ष २०७८/०७९ मा १३.४५ प्रतिशतसम्म लाभांश वितरण गर्ने क्षमता राखेको हो ।

बैंकले आर्थिक वर्ष २०६९/२०७० मा १५ प्रतिशत, आर्थिक वर्ष २०७१/०७२ मा २३ प्रतिशत, आर्थिक वर्ष २०७४/०७५ मा १६ प्रतिशत र आर्थिक वर्ष २०७२/२०७३ मा १६ प्रतिशत बोनस वितरण गरेको थियो । यी वर्ष बैंकले नगद लाभांश वितरण गरेको थिएन ।

बैंकलेआर्थिक वर्ष २०६८/२०६९ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ३ प्रतिशत बोनस र १० प्रतिशत नगद गरी कूल १३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तै, आर्थिक वर्ष २०७०/२०७१ मा बैंकले सेयरधनीहरूलाई २१ प्रतिशत बोनस र ४ प्रतिशत नगद गरी कूल २५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तै, आर्थिक वर्ष २०७३/०७४ मा बैंकले सेयरधनीहरूलाई १० प्रतिशत बोनस र १० प्रतिशत नगद गरी कूल २० प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तै, आर्थिक वर्ष २०७५/०७६ मा बैंकले सेयरधनीहरूलाई १२.७५ प्रतिशत बोनस सेयर र १२.७५ प्रतिशत नगद गरी कूल २५.५ प्रतिशत लाभांश वितरण गरेको थियो । जुन बैंकको लाभांश इतिहासमा सबैभन्दा धेरै लाभांश हो ।

यस्तै, आर्थिक वर्ष २०७६/०७७ मा बैंकले सेयरधनीहरूलाई १४ प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद गरी कूल १६ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तै, आर्थिक वर्ष २०७७/०७८ मा बैंकले सेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद गरी कूल १३.५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

एक नम्बर बैंक

डेपुटी सीईओ ढकाल बैंकिङ्ग क्षेत्रमा मर्जर इतिहासमा एक नम्बरमा ग्लोबल आइएमई बैंक रहेको बताउँछन् । ग्लोबलले सरकारले लिएको मर्जर नितीलाई सहज रुपमा कार्यान्वयन गर्ने गरेको उनको भनाइ छ । बिओकेसँग मर्जर भइसकेपछि २१ वटा संस्था मिलेर एउटा संस्था बन्ने उनले बताए ।

‘बैंक अहिले पनि मर्जर प्रक्रियामा छ, नेपालको बैंकिङ्ग इतिहासमा मर्जरमा एक नम्बरमा ग्लोबल आइएमई बैंक छ, नेपाल राष्ट्र बैंक र नेपाल सरकारले ल्याएको नितीलाई बैंकले आत्मसाथ गर्दै आएको छ, पछिल्लो समय बैंक अफ काठमाण्डूसँग पनि मर्जर सम्झौता भएको छ, बिओकेसँग मर्जर भइसकेपछि २१ वटा संस्था मिलेर एउटा ठूलो संस्था बन्नेछ, अध्यक्ष चन्द्र ढकालको भिजन, दूर दृष्टि, सपनाले मर्जरलाई सार्थकता दिएको छ, यसमा सबै कर्मचारीले पनि सहयोग गर्नु भएको छ,’ उनले भने ।

गत असारमा ‘युरोमनी अवार्ड फर एक्सलेन्स– बेस्ट बैंक नेपाल २०२२’ सम्मानित हुँदै ग्लोबल आइएमई बैंक ।

बैंकिङ्ग क्षेत्रमा ग्लोबल आइएमई बैंक जसरी पनि एक नम्बरको बैंक हो । आफूलाई एक नम्बर कायम गर्न अन्य बैंकहरु मर्जरमा गएर ग्लोबललाई टक्कर दिन चाहन्छन् । तर, ग्लोबललाई भने पछि पार्न सकिरहेका छैनन । ग्लोबल बैंक आज पनि एक नम्बर र भोलिका दिनमा पनि एक नम्बर नै रहने बैंकको दावी छ । अंकका हिसावले कहिले काँही एक नम्बर हुन नसकेनपनि चिन्ताको विषय रुपमा बैंकले नलिने सोचमा छ ।

‘ग्लोबल आइएमई बैंक एक नम्बरको बैंक हो, अरु बैंक वित्तीय संस्थाहरु पनि मर्जरमा गइरहेका छन्, अरुलाई पनि एक नम्बर भए हुन्थ्यो भन्ने चाहना हुन सक्छ तर ग्लोबल एक नम्बरमा रहिरहन्छ, भोलिका दिनमा पनि हुन्छ, हामी जसरी पनि एक नम्बरहुनै पर्छ भन्ने छैन, अरु बैंकलाई एक नम्बरहुनै पर्छ भन्ने चाहन्छन्, त्यसको लागि लड्छन् वा प्रयास गर्छन भने ठिकै छ,’ उनले भने, ‘हाम्रो सोच भनेको संस्था ठूलो भएपछि राम्रो पनि हुनु पर्छ भन्ने हो, विश्वासिलो, उपयुक्त हिसावले जोखिम व्यवस्थापन गर्ने, सुशानमा चलेको संस्था, लाखौं ग्राहकलाई सेवा दिन सक्ने क्षमता भएको, हजारौंलाई रोजगारी दिने, गुणस्तरियतामा जोड दिने हो ।’

बैंकले विदेशमा ३ वटा प्रतिनिधि कार्यालय संचालन गरिरहेको छ । अब दक्षिण कोरियामा पनि शाखा खोल्ने योजना बैंकले बनाएको छ । हाल प्रक्रियामा रहेकाले केही समयपछि दक्षिण कोरियामा शाखा संचालनमा आउनेछ । त्यसपछि मात्रै अन्य देशमा शाखा विस्तार गर्ने योजना बनाउने बैंकले बताएको छ ।

बैंकका चुनौतीहरु

हालसम्म बैंकले ठूलो चुनौती खेप्नु नपरेको भएपनि २१ वटा संस्थालाई मिलाएर एउटा बनाउन भने चुनौतिका रुपमा लिएको डेपुटी सीईओ ढकालले बताए । तर, बैंकले मर्जरबाट ठूलो अनुभव लिएको उनको भनाइ छ । बैंकले लचकता अपनाएका कारण नै सफल भएको उनले बताए ।

‘अहिलेसम्म बैंकलाई ठूलो चुनौती आइपरेको छैन, सानातिना चुनौती हरेक पटक आइरहन्छन् तर मर्जरलाई सपलतापूर्वक सम्पन्न गर्नु नै सबैभन्दा ठूलो चुनौती हो, २१ वटा संस्था एउटै संस्थामा मिलाउनु पर्ने चुनौतीलाई सहजै पार गरेका छौं, मर्जरबाट अनुभव पनि लियौं,’ उनले भने, ‘कम्परमाइज प्रवृत्तिका कारण सहज भयो, हाम्रो ठूलो संस्था हो भन्ने भावना र सोच कहिल्यै पनि राखेनौं, हामीले ठूलो संस्था भएर पनि ठूलो भाग हुनुपर्छ भनेर अन्य संस्थालाई अपमान गरेका छैनौं, अरु मर्ज भएर आएका संस्थालाई पनि लचकता अपनाएका छौं, स्वाप रेसियो, कर्मचारी मिलान लगायतका कुराहरुमा लचकता अपनाउने सिद्धान्त लिएका छौं ।’

अन्य संस्थाहरुले भने मर्जर गराउँदा ठूलो चुनौती खेप्नु परिरहेको छ । मर्जर गराउन धेरै कठिन भएर नैसमयमा मर्जर नभएको, मर्जर भइसकेपछि पनि कर्मचारी मिलान नभएको, मर्जर भाँडिएका उदाहरण धेरै छन् । ‘ग्लोबललाई त्यो चुनौती कहिल्यैपनि भएन, किनभने हाम्रो कम्परमाइज नेचर छ, पर्याे भने आफू नै लचक भएर पछाडि हटेर मिलाएर लिने प्रवृत्ति छ,’ डेपुटी सीईओ ढकालले भने ।

बैंकले आगामी चुनौतीका रुपमा भने वर्तमान तरलताको असहज अवस्थालाई लिएको छ । बैंकले आफ्नो व्यवसायमा अझै आक्रामक हुन खोजिरहेको छ । तर, समग्र इण्डस्ट्रिमा देखिएको चुनौतीले बैंकको योजना अनुरुप ब्यापार व्यवसाय विस्तारमा बाधा पुर्याउने होकी भन्ने चिन्ता गरेको छ । संस्था ठूलो भएपछि पनि समग्र व्यवस्थापन, संचालन जोखिम, राम्रो व्यवस्थापन गर्नुपर्ने चुनौती बैंकलाई आउने डीसीईओ ढकालले बताए ।

‘वर्तमान तरलता अभावका कारण योजना अनुरुप ब्यापार नहुने चुनौती छ, यो समस्या समग्र इण्डस्ट्रिमा देखिएको चुनौती हो, बैंक ठूलो भएपछि संचालन गर्न चुनौती बढ्दै जान्छ, बैंकका छरिएर रहेका शाखाहरुको अनुगमन गर्नै कठिन हुन्छ, कर्मचारी संख्या धेरै र्भपछि व्यवस्थापन गर्न गाह्रो हुन्छ, प्रविधि लगायत अन्यमा लगानी हुन्छ,’उनले भने ।

कुनै समय कर्जाको माग नै नभएको अवस्था थियो । जसले गर्दा बैंकहरुलाई आफ्नो व्यवसाय गर्न समस्या पर्याे । यस्तै अवस्था आयो भने बैंकले तय गरेका आगामी योजनाहरुमा बाधा पुग्ने स्थिती पनि आउन सक्छ । मर्जर भएपछि कर्मचारी बढ्ने, धेरै शाखासञ्जाल हुने, एप्लिकेशनहरु प्रयोग गर्नुपर्ने हुन्छ ।

‘बैंकको एउटा योजना हुन्छ राम्रोसँग ब्यापार गर्ने, बैंकको योजना अनुसार पुरा नहुने अवस्था आउन सक्छ, कुनै बेला हामीले कर्जाको माग नआउने समस्या भोगेका थियौं, यस्तै परिस्थतीले बैंक धेरै अगाडि बढ्न नसकेको हुन्छ,’ डीसीईओ ढकालले भने ।

मर्जर पश्चात् योजना

मर्जर पश्चात् केही समय व्यवस्थापन गर्न समय लाग्छ । दोहोरिएका शाखालाई व्यवस्थापन गर्नुपर्ने, कर्मचारीलाई व्यवस्थापन गर्नुपर्ने लगायतका काम गर्नेछ । शाखाहरुमा पनि कर्मचारीलाई मिलाउनु पर्ने हुन्छ । मर्जरपश्चात् सबै व्यवस्थापन भएपछि मात्रै बैंकको आगाी योजना बनाइने उनले बताए ।

मर्जरपश्चात् बैंकले व्यवसाय विस्तार गर्ने, विदेशमा शाखा खोल्ने, ग्राहकलाई बढी सुविधा दिने, बैंकलाई डिजिटल बनाउने, प्रविधिमा आधारित जति पनि सेवा सुविधा छन् त्यसलाई व्यवस्थि गर्दै लैजाने योजना बनयाउने छ ।

बैंकले अब धेरै शाखा विस्तार नगर्ने योजनामा छ । बैंकको उपस्थिती७७ जिल्लामा छ । मर्जर भएपछि पनि शाखा संख्या बढ्ने भएकाले धेरै शाखा विस्तार गर्ने योजना बनाएको छैन । एक दुइ ठाउँमा शाखा विस्तार गरेपनि धेरै ठाउँमा शाखा विस्तार नगर्ने ढकाल बताउँछन् ।

समग्रमा आफ्नो वर्गका सबै बैंकलाई नै प्रतिस्पर्धी मानेपनि बैंकले मुख्य २ वटा बैंकलाई प्रतिस्पर्धी बैंकका रुपममा लिएको छ । बैंकले हाल एनआईसी एशिया बैंक र नबिल बैंकलाई मुख्य प्रतिस्पर्धीका रुपमा हेरेको छ । तर, बिओकेसँग मर्जर पश्चात् भने ग्लोबलसँग प्रतिस्पर्धा गर्ने बैंक परिवर्तन हुने भएको छ । त्यसपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंक बैंकको पहिलो प्रतिस्पर्धी का रुपमा देखिने छ ।

Share News