काठमाडौं । आरविवि मर्चेन्ट बैंंकिङ्गको प्रस्तावित ७.५ प्रतिशत नगद लाभांश पारित भएको छ । असोज ३१ गते सम्पन्न मर्चेन्टको सातौं वार्षिक साधारण सभाले उक्त प्रस्तावलाई पारित गरेको हो ।
यससँगै उक्त क्यापिटलका लगानीकर्ताले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट सो मात्राको नगद लाभांश पाउने छन् ।
राष्ट्रिय वाणिज्य बैंकको पूर्ण स्वामित्वमा संचालित सहायक कम्पनी आरविवि मर्चेन्ट बैंंकिङ्गले ग्रामिण क्षेत्रमा समेत सेवा विस्तार गर्ने योजना बनाएको छ ।
सभामा प्रमुख अतिथि एवं बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले हाल शहरी क्षेत्रमा मात्र सिमित रहेको मर्चेन्ट बैकिङ्ग सेवालाई ग्रामिण क्षेत्रमा समेत विस्तार गर्ने दीर्घकालिन सोच अनुरुप रणनीति तयार गरी आफ्नो कार्यक्षेत्र विस्तार गर्दै लैजाने र दूरदराजमा रहेका जनताहरुले पनि मर्चेन्ट बैकिङ्ग सेवा लिन सकिने वातावरण बनाउनु पर्ने बताए ।
मर्चेन्ट बैंकिङ्गका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले हाल २० करोड रुपैयाँ बराबरको चुक्ता पुँजी रहेको मर्चेन्ट बैंकिङ्गले इस्यु मेनेजमेन्ट, आरटिएस, पोर्टफोलियो मेनेजमेन्ट, अन्डरराइटिङ्ग, डिपोजेटरी पार्टिसिपेन्ट लगायतको सेवा दिईरहेको बताए ।