काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यवाहक गभर्नर डा. निलम ढुङगाना तिमिल्सनाले अर्थतन्त्रमा ठूलो दबाब रहेको बताएकी छन् । शुक्रबार एसोशिएसन अफ चार्टर्ड एकाउण्टेन्टस (एक्यान)ले गरेको दीगो आर्थिक विकास विषयक कार्यक्रममा उनले विश्वको अर्थतन्त्रमा नै ठूलो दबाब परेको बताएकी हुन् ।
नेपाल रास्ट्र बैंककी डेपुटी गभर्नर समेत रहेकी उनले अब दीगो विकासका बहस आवश्यक रहेको बताइन् । उनले वर्तमान पुस्तालाई असर नगरी भविष्यको पुस्तालाई सहयोग पुग्ने गरी काम गर्नु दीगो विकास भएको बताउँदै अर्थतन्त्रलाई पनि सोही ढंगलाई सञ्चालन गर्नु पर्ने अवस्था आएको धारणा राखिन् ।
उनले नेपाल लगायत केही देशहरू अहिले असहज परिस्थितिमा चलिरहेको बताउँदै कोरोना महामारी र रुस–यूक्रेन युद्धका कारण अर्थतन्त्रमा ठूलो प्रभाव पारेको बताइन् ।
‘नेपालको अर्थतन्त्रमा मुद्रा स्थिति को दबाब छ, डलरको मूल्य बढेको कारण रेमिटान्स बढेको छ, बैंक तथा बित्तीय संस्थाले तरलताको समस्या खेप्नुपरेको छ, तरलता सहज कायम गर्न उत्पादन मूलक क्षेत्रमा लगानी बढाउनु पर्ने छ, अर्थतन्त्रमा दबाब रहेकै कारण नियामकले पनि कडाइ गरेर अगाडि बढ्नु पर्ने अवस्था छ, अझै यसलाई थप सशक्त बनाउँदै लैजानु पर्ने बाध्यता हामीलाई पनि छ,’ उनले भनिन् ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको सुपरिवेक्षण निरन्तर रुपमा गरिरहेको बताउँदै उनले दीगो बिकासका लागि राष्ट्र बैकले आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गरिरहेको बताइन् ।
यस्तै, उनले राष्ट्र बैंकले जलविद्युत, कृषि लगायतका कर्जामा सहुलियत दिएको बताउँदै राष्ट्र बैंक अर्थतन्त्रको दीगो विकासका लागि नियम सङ्गत काम गराउन दत्तचित्त भएर लागेको बताइन् ।