काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरिञ्जीवि नेपालले आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनका समयमा तरलताको समस्या झन् बढ्ने बताएका छ्न । उनले संस्था, व्यक्तिहरुले दलगत उम्मेदवारहरुलाई चन्दा दिनको लागि बैंकहरुबाट निक्षेप निकाल्ने हुनाले निर्वाचनको समयमा राष्ट्र बैंकलाई तरलतालाई स्थिर राख्न समस्या हुने बताए ।
‘बैंकहरुमा संकलन भएको निक्षेप निर्वाचनको समयमा निकाल्ने गर्छन्, संस्था,व्यक्तिहरुले दलगत उम्मेदवारहरुलाई चन्दा दिनको लागि बैंकहरुमा भएको पैसा बजारमा जान्छ, त्यसले गर्दा राष्ट्र बैंकलाई तरलता स्थिरता राख्नको लागि हम्मेहम्मे पर्छ, पाँच वर्षअघि त्यस्तो भएको थिएन तर अहिले समस्यापर्ने स्थिति छ,’ उनले भने ।
उनले बजारमा अत्याधिक तरलताको अभाव, विकास निर्माणको काम तथा नीतिगत निर्णयहरु रोकिने, पूरा हुने आयोजनाहरु पूरा नहुने र चुनावले अर्थतन्त्रलाई प्रेसर दिने भएकाले अर्थतन्त्रमा सुधार ल्याउने अवस्था नभएको बताए ।
उनले राष्ट्र बैंकले बजारमा तरलता व्यवस्थापन गर्नका लागि बैंकहरुको सिडी रेसियोमा केही लचकता अपनाउन सुझाव दिए । ‘राष्ट्र बैंक निर्वाचन केन्द्रित गरेर बजारमा जाने पैसालाई हेरेर बैंकहरुको सिडी रेसियोलाई लचकता अपनाउनु आवश्यक छ, राष्ट्र बैंकले सिडी रेसियोमा लचकता अपनाउँदा उत्पादन मुलुक क्षेत्रमा लगानी लागोस् र बजारमा तरलता अभाव नदेखियोस्, बजारमा तरलता अभाव देखिने बितिकै अनौपचारिक क्षेत्रमा खर्च बढ्छ,’ उनले भने ।
यस्तै, पूर्वगभर्नर नेपालले अनौपचारिक क्षेत्र फस्टाउँदा देशको अर्थतन्त्र कता जान्छ भन्ने थाहा पाउन गाह्रो हुने बताए । उद्योग व्यवसाय पनि चलायमान र आर्थिक गतिविधि पनि बन्द नहुने गरी उत्पादनमुलक क्षेत्रमा आवश्यक पर्ने ऋण लगानी गर्ने वातावरण राष्ट्र बैंकले मिलाउनुपर्ने उनी बताउँछन् ।