बाबुराम भट्टराईले गरे गोरखाबाट चुनाव नलड्ने घोषणा

<p>काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । सोमबार मध्यान्ह पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले सामाजिक सञ्जालमार्फ आसन्न निर्वाचनमा गोरखा– २ बाट उम्मेदवार नबन्ने घोषणा गरेका हुन् । उनले सामाजिक सञ्जालमार्फत् यस्ताे भनेका छन् : प्रिय गाेरखा, २०६४,२०७० र २०७४ को संविधानसभा [&hellip;]</p>

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । सोमबार मध्यान्ह पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले सामाजिक सञ्जालमार्फ आसन्न निर्वाचनमा गोरखा– २ बाट उम्मेदवार नबन्ने घोषणा गरेका हुन् ।

उनले सामाजिक सञ्जालमार्फत् यस्ताे भनेका छन् :

प्रिय गाेरखा,

२०६४,२०७० र २०७४ को संविधानसभा र प्रतिनिधिसभा निर्वाचनमा अत्यधिक मतले विजयी गराएर तपाईंहरूको सेवा गर्ने अवसर दिनुभएकोमा सम्पूर्ण गोरखाली बुबाआमा,दिदीबहिनी,दाज्यूभाइहरूमा अन्तःहृदयैदेखि आभार ब्यक्त गर्दछु। आगामी २०७९ मंसीर ४ को प्रतिनिधसभा निर्वाचनमा म उम्मेदवार नबन्ने यहॉहरू सबैलाई विनम्र जानकारी गराउन चाहन्छु।

मेरो कार्यकालमा गोरखाको दूरगामी विकास र समृद्धिकालागि आधारभूत भौतिक तथा सामाजिक पूर्वाधारहरू बनेका छन् भने केही शुरूभएका आयोजना पूरा हुन बॉकी छन्। बाँकी रहेका आयोजना पूरा गर्न र ती पूर्वाधारको जगमा अब उत्पादन र रोजगारमुखी योजना र कार्यक्रम ल्याएर ऐतिहासिक गोरखालाई देशकै नमूना विकासको केन्द्र बनाउन म संसदमा नरहे पनि निरन्तर सक्रिय योगदान गरिरहनेछु।

२०६५ देखि अहिलेसम्म प्रत्येक महिना गोरखा आउनेजाने र जनताको घरदैलोमा पुग्ने काम गरिराखें र तपाईंहरूबाट धेरै सिक्ने अवसर पाएँ। आगामी दिनमा पनि म निरन्तर तपाईंहरूकै सेवामा रहिरहनेछु। चुनाव नलड्नु भनेको राजनीति छोड्नु हैन, कतिपय मानिसहरूले जानेर नजानेर त्यस्तो सोच्न र भन्न सक्छन्। सत्तादेखि सत्ता र चुनावदेखि चुनावसम्मको राजनीति गर्नेहरूले त्यसो भन्नु अन्यथा हैन।

तर सही र असल राजनीति भनेको समाजको सर्वतोमुखी अग्रगामी रूपान्तरण र जनतारसमाजको सेवा गर्ने साधन हो।म त्यसमा विश्वास गर्छु र आजीवन त्यही मार्गमा लागिरहनेछु। पार्टीको काम र जनसेवामा म निरन्तर खटिरहनेछु। म सबै गोरखाली दिदीबहिनी दाजुभाइहरूलाई विश्वास दिलाउन चाहन्छु मेरो ठाउॅमा तपाईंहरूले अझै सक्षम र जिम्मेवार व्यक्तिको नेतृत्व पाउनुहुनेछ र गोरखाको विकासको गतिले अझै तीब्रता पाउनेछ। म त्यहॅा साथमा हुनेछु। आसन्न वडादशै,तिहार,नेपाल सम्वत् नयॉ वर्ष लगायतका सबै पर्वहरूमा हार्दिक शुभकामना१

Share News