बैंकहरुको फोकस नगद लाभांशमा, सेयरधनीले चाडपर्वमा पैसा नपाउने

<p>काठमाडौं । बैंकहरुले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव सुरु गरेका छन् । गत वर्षको भन्दा केही समय ढिलो भएपनि बैंकहरुले लाभांश प्रस्ताव थालेका हुन् । बैंकहरुले अघिल्ला वर्षहरुको तुलनामा गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई बोनस सेयरभन्दा पनि नगद लाभांशमा जोड दिने देखिएको छ । हालसम्म २ वटा बैंकले लाभांश वितरणका लागि [&hellip;]</p>

काठमाडौं । बैंकहरुले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव सुरु गरेका छन् । गत वर्षको भन्दा केही समय ढिलो भएपनि बैंकहरुले लाभांश प्रस्ताव थालेका हुन् ।

बैंकहरुले अघिल्ला वर्षहरुको तुलनामा गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई बोनस सेयरभन्दा पनि नगद लाभांशमा जोड दिने देखिएको छ । हालसम्म २ वटा बैंकले लाभांश वितरणका लागि प्रस्ताव गरेका छन् । लाभांश प्रस्ताव गरेका दुवै बैंकले बोनस सेयरभन्दा पनि नगद लाभांशलाई बढी जोड दिएका हुन् ।

सिटिजन्स बैंकले गत आर्थिक वर्ष २०७८÷०७९ को नाफाबाट सेयरधनीहरुलाई ९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । बैंकले यसअघि २ आर्थिक वर्षपछि नगद बढाएका हुन् । यसअघिका वर्षहरुमा बोनस सेयरलाई जोड दिएको बैंकले यसपटक भने नगद लाभांशलाई मात्रै जोड दिएका छन् ।

चालु आर्थिक वर्षको ३ महिनापछि मात्रै बैंकहरुले लाभांश वितरण गर्ने प्रस्ताव सुरु गरेका हुन् । यसपटक राष्ट्र बैंकले नगद लाभांश वितरण गर्न खुकुलो नीति बनाएसँगै बोनस सेयरभन्दा पनि नगद लाभांशमा केन्द्रित भएको बैंकरहरु बताउँछन् ।

यसअघि नेपाल राष्ट्र बैंकले बैंकहरुलाई नगद लाभांशभन्दा पनि बोनस सेयर वितरण गर्न जोड दिएको थियो । तर, बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरेको एकीकृत निर्देशनमा नगद वा बोनस सेयर लाभांश वितरण गर्न स्वतन्त्र छोडेपछि नगद लाभांशमा केन्द्रित हुन थालेका हुन् ।

यसअघि राष्ट्र बैंकले इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरुले आर्थिक वर्ष २०७७÷०७८ को खुद वितरणयोग्य नाफाको ३० प्रतिशतसम्म मात्र नगद लाभांस घोषणा तथा वितरण गर्न पाउने व्यवस्था गरेको थियो । यस्तै, खुद वितरणयोग्य नाफा तथा कुल चुक्ता पुँजीको ५ प्रतिशतभन्दा कम भएका इजाजतपत्र प्राप्त संस्थाले कर प्रयोजनका लागि बाहेक नगद लाभांस वितरण गर्न नपाउने व्यवस्था गरेको थियो ।

नगद लाभांमा लगाइएको सीमा हटाएपछि बैंक संचालक समितिले अब लाभांश वितरण गर्दा लाभांशको मादपण्ड पुरा गरी बोनस सेयर र नगद लाभांशमध्ये कुन लाभांश कति दिने भनेर स्वतन्त्र रुपमा निर्णय लिन सक्नेछन् । सोही कारण यसपटक लामो सयमदेखि नगद लाभांश नपाएका सेयरधनीलाई बैंकहरुले नगद लाभांश वितरण गर्ने भएका हुन् ।

राष्ट्र बैंकले नगद लाभांमा कडाइ गर्दा धेरै नगद बाँड्न नपाएका बैंकले अब भने बोनस भन्दा पनि नगदमा जोड दिने बैंकर्सहरु बताउँछन् । अघिल्लो वर्षको तुलनामा नगद लाभांश वृद्धि गर्ने भएका हुन् भने बोनस सेयर घटाउने भएका हुन् ।

नेपाल इन्फ्रास्ट्रक्चर (निफ्रा) बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामकृष्ण खतिवडा बैंकहरुले यसअघि बोनस सेयर वितरणमा जोड दिएको हुँदा नगद लाभांश वितरण गर्न नपाएको बताउँछन् । उनले राष्ट्र बैंकले नगद लाभांश वितरणमा लगाएको सीमा हटाएको हुँदा नगदमा जोड दिएको बताए । बैंकको नीति अनुसार बोनस सेयर र नगद लाभांश वितरण गर्ने निर्णय गर्ने उनको भनाइ छ ।

‘बैंकहरुले गत वर्षसम्म बोनस सेयरलाई नै जोड दिएका थिए, राष्ट्र बैंकले २ वर्षसम्म बोनस सेयरलाई नै जोड दियो, यस वर्ष मात्रै नगद लाभांश वितरण गर्न खुला गरेको हो,’ उनले भने, ‘बोनस सेयर वितरण गर्ने की नगद लाभांश वितरण गर्ने भनेर बैंकको आफ्नै रणनीति हुन्छ, २ वर्षदेखि नगद लाभांश वितरण गर्न रोक लगाएको हुँदा सेयरधनीहरुको अपेक्षा पुरा गर्न नगदमा जोड दिएका हुन सक्छन् ।’

बैंकहरुले सेयरधनीहरुलाई कहिले बोनस र कहिले नगद लाभांश वितरण गर्ने उनको भनाइ छ । बैंकहरुले गत वर्षसम्म नगद लाभांश भन्दा बोनस सेयरलाई प्रोत्साहन गरेको थियो । तर, राष्ट्र बैंकले यस वर्षदेखि लाभांश वितरण गर्न स्वतन्त्र छोडेको उनको भनाइ छ ।

हाल बैंकहरुको पूँजी बढाउन आवश्यक नदेखेर नै नगद लाभांशमा जोड दिएको हुन सक्ने उले बताए ।

सानिमा बैंकका सीईओ निश्चलराज पाण्डे बैंकको आ–आफ्नो रणनीति अनुसार लाभांश वितरण गर्न सक्ने बताउँछन् । बोनस सेयर वितरण गर्ने वा नगद लाभांश वितरण गर्ने भनेर बैंकको क्षमतामा निर्भर पर्ने उनको धारणा छ ।

‘सबै बैंकको आ–आफ्नो रणनीति हुन्छ, बैंकको क्यापिटल विजनेशस कारात्मक छ भने नगद लाभांश वितरण गर्छन्, यदि बैंकको क्यापिटल टाइट र बैंकलाई ब्यापार गर्न गाह्रो छ भने बोनस सेयर वितरण गर्न सक्छन्,’ उनले भने, ‘कुनै बैंकको क्यापिटल एडुकेसीका कारण नगदमा जोड दिएका हुन्छन्, अन्य विजनेशको लागि क्यापिटल छ भने आफ्नो आन्तरिकबाट भएपनि नगद लाभांश वितरण गर्छन्, यदि क्यापिटल कम र बैंकको ब्यापार गर्न पूँजी पुग्दैन भने बोनस सेयर वितरण गर्ने हो ।’

बैंकको आफ्नो छुट्टै व्यवस्थापन टिम हुने भएकाले नगद वितरण गर्ने की बोनस दिने भनेर आआफ्नो रणनीति हुने उनको भनाइ छ । बैंकको पूँजी बढी भयो भने सेयरधनीहरुलाई नै वितरण गर्नुपर्ने उनको भनाइ छ । यदि सेयरधनीलाई नगद लाभांश वितरण नगरेमा बैंकको ब्यापारमा लगाउनु पर्ने उनले बताए ।

‘पूँजी बढी भएपनि कम भएपनि सेयर होल्डरहरुको सम्पत्ति हो, बैंकलाई पूँजी नपुग्ने भएपछि नगद लाभांश वितरण गर्दैनन्,बैंकहरुलाई पूँजी बढाउन आवश्यक नभएपछि मात्रै नगद लाभांश वितरण गर्ने हो,’ उनले भने । तर, बैंकका सेयरधनीले दशैं तिहारमा भने लाभांश नपाउने देखिएको छ ।

सम्बन्धित सामग्री : दशैंमा बैंकका सेयरधनीले लाभांश नपाउने, पैसाको अभाव हुने देखिएपछि लगानीकर्ता निराश

Share News