
एजेन्सी । यदि तपाई चिया वा कफी पिउन मन पराउनुहुन्छ भने तपाईको लागि यो निकै खुसीको विषय हो । वास्तवमा, दिनमा चार कपभन्दा बढी चिया पिउनाले टाइप२ मधुमेहको जोखिम कम हुन्छ। लगातार १० वर्षसम्म यसो गर्दा मधुमेहको जोखिम १७ प्रतिशतले कम हुन्छ । जसमा कालो, हरियो र अन्य प्रकारका चिया पर्दछन् । चिनी बिनाको चिया पिउनाले स्वास्थ्यलाई झनै फाइदा पुर्याउँछ ।
कालो चिया जस्तै दुधको चिया पनि फाइदाजनक
हालै चीनको वुहान युनिभर्सिटीमा गरिएको एक अनुसन्धानमा यो खुलासा भएको हो । यसअघिका अन्य १९ अनुसन्धानलाई उद्धृत गर्दै वुहान युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीका शियिङ लीले चियामा दूध मिसाउँदा स्वास्थ्यलाई बेफाइदा हुने अनुमान पुरानो भएको भन्दै सो अनुसन्धानले दूधसँगको चिया पनि कालो चिया जत्तिकै फाइदाजनक रहेको बताएका छन् ।
अर्को, मेटा एनालाइसिसले पनि अमेरिका, एसिया र युरोपका आठ देशका करिब ११ लाख वयस्कहरूलाई समावेश गरेर अनुसन्धान गर्दा दिनमा एक, दुई वा तीन कप चिया पिउने मानिसहरूलाई चिया नपिउनेहरूको तुलनामा टाइप २ मधुमेहको जोखिम ४ प्रतिशत कम हुने कुरा पत्ता लगाएको छ ।
एकै दिनमा चार वा बढी कप पिउने व्यक्तिहरूमा मधुमेहको जोखिम १७ प्रतिशतले कमी देखिएको थियो । दक्षीण एसियाकै ठूलो मुलुक भारतमा हरेक ११ जना मध्ये एक जना मधुमेहबाट पीडित छन् । यीमध्ये ९० देखी ९५ प्रतिशतलाई टाइप–२ मधुमेह रोग लागेको छ । त्यस्तै बेलायतका ४० लाख मधुमेह रोगीमध्ये ९० प्रतिशतलाई टाइप २ मधुमेह रोग लागेको छ ।
कफी पिउनाले मृत्युको जोखिम १६ देखि २१ प्रतिशतले कमी हुने
कफी पिउनाले मृत्युको जोखिम कम हुने अनुसन्धानले देखाएको छ। बेलायतका १.७ लाखभन्दा बढी मानिसमा गरिएको अनुसन्धानले यस्तो नतिजा देखाएको हो । ७ वर्षसम्म हरेक दिन १.५ देखि ३.५ कप चिनी नभएको कफी पिउनाले मृत्युको जोखिम १६ देखि २१ प्रतिशतले कम हुने अनुसन्धानले देखाएको छ ।