
एजेन्सी । नियमित रुपमा व्यायाम गर्ने र धेरै समय आराम नगर्दा स्वास्थ्यमा ठूलो फाइदा हुन्छ। बैज्ञानिकहरुको एक अध्ययनले मानिसहरुको व्यायामसँग क्यान्सरको सम्बन्ध पत्ता लगाएको छ । ब्रिटिस जर्नल अफ स्पोर्ट्स मेडिसिनमा प्रकाशित यो अनुसन्धानले शारीरिक क्रियाकलाप नगर्ने मानिसलाई स्तन क्यान्सरको जोखिम अरुको तुलनामा बढी हुने गरेको देखाएको छ । यो स्तन क्यान्सर रोगको सबै चरणमा लागु हुने अनुसन्धानले दाबी गरेको छ ।
यस अनुसन्धानमा १,३०,९५७ महिलालाई समावेश गरिएको थियो । जसमध्ये ६९ हजार ३८३ महिलामा ट्युमर फैलिएको थियो भने ६ हजार ६६७ महिलामा ट्युमर थिएन । अनुसन्धानमा सहभागी गराइएका ५४,४५२ महिलाहरूमा स्तन क्यान्सर थिएन। बैज्ञानिकहरुले सहभागिहरुको बारेमा थप जानकारीको लागि युके बायो बैंकसँग सहकार्य गरेका थिए । अनुसन्धानमा महिलाहरुको उनीहरुको शारीरिक गतिविधि र बस्ने अवधिको तथ्यांक संकलन गरिएको थियो ।
अनुसन्धानकर्ताहरूले त्यसपछि महिनावारी बन्द भएको अवस्था, महिलाको उमेर, स्तन क्यान्सरको प्रकार, क्यान्सरको चरण र क्यान्सरको ग्रेड जाँच गर्ने काम गरे ।
अध्ययनले अनुसार धेरै शारीरिक गतिविधि गर्ने आनुवंशिक प्रवृति भएका मानिसहरूमा स्तन क्यान्सरको जोखिम ४१ प्रतिशत कम देखायो । यसमा उनीहरूको महिनावारीको बन्द, क्यान्सरको अवस्था र चरणसँग कुनै सरोकार देखिएको थिएन । साथै, हप्ताको ३÷४ दिन कडा व्यायाम गर्ने महलिाहरुमा क्यान्सरको जोखिम ३८.५ प्रतिशत जोखिम कम हुने अध्ययनले देखाएको थियो ।
धेरै समय बस्ने प्रवृति भएका महिलाहरुमा ट्रिपल नेगेटिभ स्तन क्यान्सरको जोखिम १०४ प्रतिशतले बढी हुने गरेको अनुसन्धानले देखाएको छ । यो स्तन क्यान्सरको सबैभन्दा खतरनाक र दुर्लभ प्रकार हो, जुन शरीरमा छिटो फैलिन्छ। धेरैजसो अवस्थामा, ट्युमर पत्ता लाग्नु अघि नै फैलिएको हुन्छ, यसको उपचार निकै कठिन रहेको बताइन्छ ।
सन् २०१९ मा गरेको मेटा एनलाइसिसमा स्तन क्यान्सरका बिमारीहरुले यदि नियमित रुपमा व्यायाम गर्छन भने उनीहरुलाई अन्यको तुलनामा ४० प्रतिशत जोखिम कम रहेको देखिएको थियो । प्रोस्टेट क्यान्सर र कोलोरेक्टल क्यान्सरको जोखिमको व्यायामसँग सम्बन्ध सोही प्रकारले हुने सो अध्ययनमा देखिएको थियो ।